Friday, May 4, 2012

चेपाङ विद्यार्थीहरुलाई निःशुल्क शिक्षा

सिद्धि । चितवनको विकट पहाडी क्षेत्र सिद्धि गाविसका २० जना चेपाङ विद्यार्थीहरुलाई गामबेसीको खबर पत्रिकाले आवासीय व्यवस्थासहित निःशुल्क अध्ययन गराउने भएको छ ।
पूर्वी चितवनको पिठुवा–८ मा रहेको विन्ध्येश्वरी निमाविमा ती विद्यार्थीहरुलाई राख्ने र पढाउने व्यवस्था मिलाइएको छ । सो विद्यार्थीहरुको सम्पूर्ण खर्च गामबेसीको खबर पत्रिकामार्फत उपलब्ध गराइने पत्रिकका सम्पादक केपी किरण शर्माले बताउनुभयो ।
‘विन्ध्यश्वरी गामबेसीको चेपाङघर’ नाम दिइएको सो शैक्षिक अभियानको शुक्रबार एक कार्यक्रमका बीच चेपाङ विद्यार्थीहरुलाई सोही विद्यालयमा भर्ना गरिएको छ ।
प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष शिशिर सिंखडा प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामा, इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूह सिद्धिका अध्यक्ष सुरज चेपाङ, गामबेसी खबर पत्रिकाका सम्पादक केपी किरण शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चेपाङ विद्यार्थीहरुलाई अबिरको टीका लगाई भर्ना एवम् स्वागत गरिएको थियो । कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ती विद्यार्थीहरुले शुक्रबारदेखि नै सो विद्यालयमा आवासीय रुपमा अध्ययन सुरू गरेका छन् ।
विगत लामो समयदेखि विभिन्न चेपाङ बस्तीका ३० जना चेपाङ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको गामबेसीको खबर पत्रिकाले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीमा चेपाङ संग्राहालय निर्माण गर्न लागेको छ भने गत फाल्गुनमा चितवनको पहाडी गाविसका सबै चेपाङहरुलाई करिब ५० हजार थान कपडा निःशुल्क वितरण गरेको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी