Tuesday, May 15, 2012

तराई बन्दको दोस्रो दिन जनजीवन कष्टकर

मोटरसाइकल र सवारीसाधनमाथि आक्रोश  
नारायणगढ । संयुक्त थारु संघर्ष समितिले गरेको तराई बन्दको दोस्रो दिन मंगलबार पनि चितवनको जनजीवन पूर्ण रुपमा प्रभावित भयो ।
अघिल्लो दिनहरु जस्तै यातायातका साधनहरु चल्न सकेनन् भने उद्योग, व्यवसाय, कलकारखानासमेत सञ्चालनमा नआउँदा बजार सुनसानजस्तै देखिन्थ्यो । बन्दकर्ताहरु बन्द सफल पार्न ठाउँ ठाउँमा परिचालित भएका थिए ।
यसैबीच मोटरसाइलमा आएका बन्दकर्ताहरुले भरतपुरको मातपोतचोकमा पाँच÷सातवटा मोटरसाइकल तोडफोड गरेका छन् । उनीहरुले नयाँनयाँ मोटरसाइकल छानीछानी तोडफोड गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
बन्दकर्ताहरुले भरतपुरको मिलनचोकमा ना ८ प ३२३९ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । त्यस्तै पूर्वी चितवनको बैरहनीचोकमा ना२प ७२९४ नम्बरको टिपर पनि तोडफोड भएको छ ।
नारायणगढ, भरतपुर, आँपटारी, रत्ननगर, सौराहा, पर्सालगायत पश्चिम चितवनका स्थानमा बन्दकर्ताहरुले बन्द गराउँदै हिँडेका थिए । बन्दका क्रममा पहाडी जिल्लाबाट चितवन प्रवेश गर्ने यातायातका साधनहरु भरतपुरको आँपटारीअगाडिको जङ्गलमा लामबद्ध थिए ।
काठमाडांै, पोखरा, बाग्लुङ्लगायतका स्थानबाट आएका सवारीसाधनहरु आँपटारीअगाडिबाट फर्किएका थिए । पहाडी जिल्लाबाट चितवन भई अन्य जिल्ला हिँडेका यात्रुहरु दिनभर जङ्गलमा अलपत्र परेका थिए ।
सवारी नचलेपछि चालक तथा सहयोगीहरु रूखको शीतलमा तास खेलिरहेका थिए । बन्दले यात्रुहरु आँपटारीमा जम्मा भएका कारण नारायणगढका फुटपाथ व्यवसायीहरु आँपटारीमा जम्मा भएका छन् । अलपत्र यात्रु उनीहरुका मुख्य ग्राहक बन्ने गरेका छन् ।

नवलपरासीमा गाडी तोडफोड

यसैबीच पूर्वपश्चिम महेन्द्रराजमार्ग बुटवल–नारायणगढ खण्डअन्तर्गत नवलपरासीको बासामा बन्दकर्ताले एक एम्बुलेन्ससहित १३ वटा गाडी तोडफोड गरेर क्षति पु¥याएका छन् ।
थरुहट संयुक्त संघर्ष समितिका आन्दोलनकारीले सोमबार बेलुकाबाट मंगलबार बिहान ६ बजेसम्मका लागि भन्दै नवलपरासीको पूर्वमा यातायात खोलिदिएपछि पश्चिमतर्फ गएका ती गाडीलाई बन्दकर्ताहरुले बासा भन्ने स्थानमा मंगलबार बिहान तोडफोड गरेर क्षति पु¥याएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार गाडीमा एक्कासि ढुङ्गामुढा गर्दा एक ट्रक चालक घाइते भएका छन् । आन्दोलनकारीले देवदह मेडिकल कलेज रुपन्देहीको लु १ च ३००६ नम्बरको एउटा एम्बुलेन्स, एउटा जिप, दुईवटा बस र अरु सबै ट्रक फोडेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । आन्दोलनकारीको आक्रमणमा अधिकांश सवारीको सिसा फुटेको भएपनि यात्रु र अन्य चालक भने सकुशल रहेका छन् ।
स्वायत्त थरुहट प्रदेशको माग गर्दै थारु संयुक्त संघर्ष समितिले बन्दको आव्हान गरेको हो । जसलाई विभिन्न जनजाति संघसंगठनले साथ दिएका छन् । बन्दका कारण जिल्लाभरका राजमार्गमा यातायात चलेको छैन भने कलकारखाना, शैक्षिक संस्था र मुख्य बजार बन्द रहेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी