काठमाडौं, जेठ १४ प्रधानमन्त्री डाक्टर बाबुराम भटटराईले अन्तिम विकल्पका रुपमा संविधान सभाको नयाँ चुनावको घोषणा गरेको बताउनुभएको छ । राजनीतिक सहमति नहुँदा संविधान सभा भंग भएपछि पत्रकार सम्मेलन गरी प्रधानमन्त्री भट्टराईले सहमतिको प्रयास असफल भएपछि चुनाव घोषणा गरेको बताउनुभयो । संविधान सभा भंग भएसँगै राष्ट्रपति र प्रधानमन्त्रीबीच शक्ति संघर्ष चर्किने प्रतिक्रिया आईरहेका बेला प्रधानमन्त्री भट्टराईले संविधानमा कार्यकारी अधिकारी मन्त्रिपरिषदमा रहने भएकोले कार्यकारी अधिकार आफैले प्रयोग गर्ने बताउनुभयो ।
राष्ट्रपतिले कार्यकारी भूमिका नखेल्ने पनि उहाँले अपेक्षा गर्नुभयो । प्रधानमन्त्री भट्टराईले असफलताबाट पाठ सिकेर हरेश नखाई सहमतिका साथ हातेमालो गरेर अघि बढ्न राजनीतिक दल र आम नागरिकलाई अपील गर्नुभयो । काँग्रेस र एमालेले चुनाव प्रति असहमति जनाएपनि सहमतिमै चुनावको घोषणा गरेको प्रधानमन्त्रीले दावी गर्नुभयो । सबै दललाई आ–आप्ना एजेण्डा लिएर चुनावमा जान अपील गर्दै प्रधानमन्त्री भट्टराईले अबको चुनावमा संघीयता र परिवर्तन पक्षधर र विरोधी स्पष्ट हुने बताउनुभयो ।
उहाँले यथास्थितिवादी शक्तिले जितेमा फेरि पनि संविधान बन्न नसक्ने भन्दै अबको चुनावमा परिवर्तनकारी शक्तिलाई जिताउनुपर्नेमा जोड दिनुभयो । संविधान सभा बचाउनका लागि सरकारले विधेयक दर्ता गरेपनि एमाले–काँग्रेसले सहयोग नगरेको आरोप लगाउनुभयो । उनीहरुले भित्र सहमति गरेर बाहिर विरोध गरी संविधान सभा भंग गराएको प्रधानमन्त्रीको भनाई छ । चुनावबारे निर्वाचन आयोगसित छलफल गरेकोले मंसिर ७ मा चुनाव संभव भएको प्रधानमन्त्रीले दावी गर्नुभयो ।
No comments:
Post a Comment
Thanx for your comment