भरतपुर । थारु संघर्ष समितिको बन्दका कारण अन्यौलता कायमै रहेको बेला अन्ततः बुधबार १९औं मदन–आश्रित श्रद्धाञ्जलि कार्यक्रम दुर्घटनास्थल दासढुङ्गामा नै सम्पन्न भएको छ ।
हरेक वर्ष जेठ ३ गते नेताद्वयको दुर्घटनास्थल दासढुङ्गामा नै पुगेर श्रद्धाञ्जली कार्यक्रम गरिने भएपनि यसवर्ष भने तराई बन्दका कारण दुर्घटनास्थलमा जानेनजाने भन्नेमा जिल्ला नेतृत्व अन्यौलमा थियो । तर कार्यकर्ताको जोडपछि दुर्घटनास्थलमा नै श्रद्धाञ्जलि कार्यक्रम भएको हो ।
बुधबार बिहान जिल्ला पार्टी कार्यालयमा भेलाभएका पार्टी नेता तथा कार्यकर्ताको मोटरसाइकल ¥याली कविलास गाविसमा पर्ने दासढुङ्गा पुगेको थियो ।
विसं २०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको पोखराबाट चितवन आउने क्रममा दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो । सो दुर्घटनालाई नेकपा एमालेले रहस्यमय भन्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी पोलिटव्युरो सदस्य काशीनाथ अधिकारीले तीन पटकसम्म एमाले सरकारमा रहँदासमेत हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् हो भन्दै हत्यारा पत्ता लगाएरै छाडिने बताउनुभयो ।
जिल्ला अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अनुशासन विभागका सचिव हरि सापकोटा, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य विजय सुवेदी, अञ्चल सदस्य गोमा तिमिल्सिना, जिल्ला उपाध्यक्ष कृष्णभक्त पोखरेल, सचिव अरुण पीडित भण्डारीलगायतले मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई आत्मसात गरी लागू गर्नसकेमा नेताप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए ।
No comments:
Post a Comment
Thanx for your comment