तराईका विभिन्न जिल्लामा झडप र आगजनी
भरतपुर । लगातार तीन दिनदेखिको बन्दका कारण जनजीवन कष्टकर भइरहेका बेला बुधबार तराईका विभिन्न जिल्लामा झडप र आगजनीका घटना भएका छन् ।
बन्दका क्रममा बुधबार नवलपरासीका केही स्थान तनावग्रस्त बने । लगातारको बन्दका कारण तीन दिनदेखि अलपत्र परेका यात्रुले नवलपरासीको बर्दघाटमा प्रेस, एम्बुलेन्स र शववाहनसमेत रोकिदिएका छन् । यात्रुहरुले एम्बुलेन्स र बिरामी बोकेको बसलाई रोकिदिँदा एक सुत्केरीले बसमै बच्चा जन्माएको र अस्पताल पुग्न नसक्दा नवजात शिशुको मृत्यु भएको छ ।
राजमार्गलाई नियन्त्रणमा लिँदै आन्दोलित बनेका यात्रुले आफूहरु सवार गाडी चल्न नपाए शव र बिरामी बोकेको एम्बुलेन्स र प्रेसका गाडीलाई पनि नछाडिने भन्दै नियन्त्रणमा लिएको प्रहरीचौकी बर्दघाटले जनाएको छ ।
बन्दमा गाडी चलाएको भन्दै आन्दोलनकारीले तिलकपुर गाविसमा दुईवटा गाडी जलाएका छन् ।
तीन दिनदेखि अलपत्र परेका यात्रुहरुले बन्द राजमार्ग खोल्न माग गर्दै बर्दघाटमा प्रर्दशन गरेपछि बन्दकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार, हवाई फायर र लाठ्ठी चार्ज गरेर सवारीलाई स्कर्टिङ गरेपछि आन्दोलनकारीले सवारीसाधनमा आगजनी गरेका हुन् ।
आगलागीबाट बस तथा ट्रक दुवै ध्वस्त भएका छन् । आगजनीपछि प्रहरीले बल प्रयोग गरी स्कर्टिङ गरी सवारी सञ्चालन गरेको थियो । लगातारको बन्दले सडकमा दुई रात रोकिन परेपछि ‘या खान दे, या सुरक्षित जान दे’ भन्दै यात्रुहरुले बर्दघाट बजारमा दिउँसो नारा लगाएका थिए ।
सयौंको संख्यामा रहेका यात्रुहरुले सडकमै नारा लगाएपछि बर्दघाटमा व्यापक प्रहरी परिचालन गरिएको थियो ।
यात्रुको मागलाई सम्बोधन गर्न बन्दकर्ता प्रहरी र यात्रुबीच भएको छलफल नटुङ्गिएपछि प्रहरीले लाठ्ठी चार्ज गरी दुई राउण्ड हवाइ फायर गर्दै सवारीसाधनलाई स्कर्टिङ गरेको हो । त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो ।
यता चितवनमा बुधबार पनि सार्वजनिक यातायातका साधन चलेनन् भने बजार पनि ठप्प भयो । पहिचानसहितको प्रदेश निर्माणको माग गर्दै थारु संयुक्त संघर्ष समिति र आदिवासी जनजाति महासंघलगायतले सोमबारबाट बन्द आह्वान गरेका हुन् ।
बन्दका क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर पूर्वी चितवनको रत्ननगरमा एक महिला घाइते भएकी छन् । रत्ननगरको टाँडीचोकमा सिद्धिविनायक मोबाइल सेन्टरकी संचालक लक्ष्मीकुमारी गुप्ता घाइते भएकी हुन् ।
सडक बाटै हिर्काएको ढुंगा लागेर घरभित्र बसेकी गुप्ताको आँखामा चोट लागेको छ । रत्ननगरमा ना३त ५०१० नम्बरको ट्याक्टरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । आफूहरुको बन्दमा प्रतिकार गर्न खोजेको भन्दै सौराहाचोकमा किल्ला गाडिएका लाठीसहित बसेका युवाहरुले टाँडीचोकमा पुगेपछि केहीबेर त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो । सोही क्रममा प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए ।
लगातारको बन्दले फोहोर उठ्न नसक्दा भरतपुर नगरपालिका क्षेत्रका चोकहरु दुर्गन्धित बनेको छ ।
No comments:
Post a Comment
Thanx for your comment