Friday, May 25, 2012

सुरुङमा नेपाली सीप

हङकङ, जेठ १३ -नामचुङ क्षेत्रमा जमिनबाट ३५ मिटर तल सुरुङ निर्माण टोलीको नेतृत्व गरिरहेका इन्जिनियर विजय गुरुङ काठमाडौं मेट्रो रेल र हेटौंडा-काठमाडौं सुरुङ मार्ग बन्ने खबरले निकै खुसी छन्। निर्माण क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्ड बनाएको फ्रेन्च कम्पनी ड्रागेजमा डेपुटी कन्स्ट्रक्सन म्यानेजर भएर हङकङमा आर्जेको दुर्लभ सीप आफ्नै देशमा लगानी गर्न पाइने विश्वास उनमा छ। 





'आफ्नै देशका लागि केही गर्नुपर्छ भन्ने भावना छ,' सुरुङभित्रै आधुनिक टनेल बोरिङ मेसिनको पाइलट कक्षमा कास्की धम्पुसका ४३ वर्षीय विजयले भने, 'विदेशमा जत्तिकै सुविधा दिनुपर्छ भन्ने छैन, जिम्मेवारी पाए हङकङमा सिकेको सीप आफ्नै देश निर्माणमा लगाउँछु।'
हङकङ-ग्वान्झाओ एक्सप्रेस रेलमार्गको यो सुरुङ खण्डले 'एक राष्ट्र दुई प्रणाली' अन्तर्गत रहेको विशेष प्रशासनिक क्षेत्र हङकङलाई द्रुत गतिमा मुख्य भूमि चीनसँग जोड्दैछ। हङकङमा निर्माण कार्यका लागि कहलिएको ड्रागेजले यो रेलमार्गको हङकङ खण्डको २६ किलोमिटरमध्ये नामचुङ क्षेत्रमा ८.९ किलोमिटर सुरुङ खन्ने योजना हात पारेको थियो। यसमा सामान्य कामदेखि उच्च जिम्मेवारीसमेत नेपालीले सम्हालेका छन्।
डेपुटी कन्स्ट्रक्सन म्यानेजर तथा टनेल बोरिङ मेसिन (टिबिएम) पाइलट गुरुङ 'सिफ्ट बोस' भएर निर्माण कार्यको नेतृत्व गरिरहेका छन् भने टिबिएम पाइलटका रूपमा खटिएका छन्, वरिष्ठ टिबिएम इन्जिनियरद्वय झमबहादुर गुरुङ र नरबहादुर थकाली। सुरुङ निर्माणमा 'सिफ्ट बोस' को महŒवपूर्ण जिम्मेवारी पाउने विजय पहिलो नेपाली हुन्।
इलेक्ट्रिकल इन्जिनियर वीरेन्द्र राई, मेकानिकल सुपरभाइजर इन्द्रबहादुर लिम्बु, कमल थापा, देव राई, प्रेमबहादुर सिंहलगायत दर्जनौं दक्ष जनशक्तिसहित सयभन्दा बढी नेपाली दिनरात सुरुङमा काम गरिरहेका छन्।
धेरैलाई आश्चर्य लाग्ने पक्ष, हङकङमा सबभन्दा कठिन मानिने र नेपालीबाहेक अरू समुदायका कामदार हम्मेसी नपस्ने सुरुङभित्रका काममा नेपाली महिलासमेत संलग्न छन्।

नेपाली हिरो
अहिलेसम्म सुरुङ खन्ने तीनवटा तरिका प्रचलनमा छन्- ड्रिल एन्ड ब्लास्ट, कट एन्ड कभर र टिबिएम प्रयोग। खासगरी भूमिगत मेट्रो रेलका लागि सहरी क्षेत्रमा सुरुङ खन्न सुरक्षा हिसाबले अहिले विश्वभर टिबिएम नै प्रयोग गरिन्छ। दिल्ली मेट्रो रेलको सुरुङ खन्न यही मेसिन प्रयोग गरिएको थियो। हङकङसहित मुख्यभूमि चीन, सिंगापुर, बेलायत, अस्ट्रेलिया, ब्राजिललगायत थुप्रै देशमा अहिलेसम्मकै उन्नत टिबिएम प्रयोग गरी भूमिगत रेलमार्ग बनाइँदैछ।
सुरुङ खन्ने काम नौलो होइन, तर टिबिएमले खन्नु नौलै हो। जर्मनीमा निर्माण गरिएको यो अत्याधुनिक मेसिन आफैंमा एउटा रेलजस्तो छ, जुन जमिन काट्दै सुरुङ बनाउँदै रेल हिँडेको शैलीमा अगाडि बढ्छ।
'यहाँ हामीले चलाइरहेको टिबिएम १ सय १४ मिटर लामो छ, तर सानो र छोटो मेसिन पनि उत्पादन भइसकेको छ,' पाइलट झमबहादुरले सुनाए, 'टिबिएम निकै महँगो भए पनि बस्ती भएका सहरी क्षेत्रमा सुरुङ खन्न सुरक्षित मानिएकाले यसको माग बढिरहेको छ।'
सुरुङ खन्ने काम आफैंमा कठिन हो, त्यसमाथि टिबिएम चलाउन विशेष दक्ष पाइलट चाहिन्छ। दक्ष टिबिएम पाइलटको संख्या न्यून भएकाले विश्वभर यसको उच्च माग छ। दिल्ली मेट्रोको सुरुङ निर्माणमा संलग्न एक टिबिएम पाइलट आफूसँगै काम गरिरहेको विजयको भनाइ छ। दिल्लीमा काम गरेका टिबिएम पाइलटहरू विश्वभर हिरो भएका छन्।
नेपाली टिबिएम पाइलट अहिलेसम्म छजना मात्रै छन्। तीमध्ये विजय गुरुङ, झमबहादुर गुरुङ, नरबहादर थकाली, युद्ध मल्ल, अशोक केसी हङकङमै व्यस्त छन् भने वेद थापा अस्ट्रेलियामा काम गरिरहेका छन्। सुरुङमा काम गर्दै मेसिन चलाउन सिकेका उनीहरूले पछि इजिप्टको कायरोबाट टिबिएम पाइलटको विशेष तालिम लिएका हुन्। करिब ४ लाख मासिक तलब बु‰ने नेपाली पाइलटहरूकै हातमा छन्, हङकङमा सञ्चालनमा रहेका पाँचमध्ये तीन टिबिएम।
दस वर्ष एक्यापमा काम गरेका सिभिल इन्जिनियर विजय १२ वर्षअघि हङकङ आएका थिए। सुरुदेखि नै ड्रागेजमा काम गरेका उनले २००७ मा हङकङ पोलिटेक्निक युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा पोस्ट ग्रा्यजुएट गरे। 'नेपालको डिग्रीलाई खासै मान्यता नदिने चिनियाँले त्यसपछि बल्ल मान्छे गन्न थाले,' सिफ्ट बोसको महŒवपूर्ण जिम्मेवारी पाउने पहिलो नेपाली भएकोमा गर्व गर्दै विजयले सुनाए, 'डबल डेकर बस दौडने सडक र अग्ला भवनमुनि भएकाले निकै चनाखो हुनुपर्छ, मेसिन दुरुस्त राखेर राम्रो प्रोडक्सन दिन सक्नुपर्छ।'
सुरुङभित्र मात्र होइन, कार्यालयमै बसेर योजना बनाउने महŒवपूर्ण जिम्मेवारीमा समेत दक्ष नेपाली छन् हङकङमा। ड्रागेजकै अर्को परियोजनामा मेथड (विधि निर्माण) को जिम्मेवारीमा वरिष्ठ इन्जिनियर राजेन्द्र गुरुङ संलग्न छन् भने अर्का वरिष्ठ इन्जिनियर बुद्ध श्रेष्ठले क्युए (गुणस्तर नियन्त्रण) को जिम्मेवारी सम्हालिरहेका छन्।
ड्रिल एन्ड ब्लास्ट गरी सुरुङ खन्ने काममा पनि थुप्रै नेपाली संलग्न छन् हङकङमा। तीमध्ये एक हुन् राम गुरुङ, जसलाई यो क्षेत्रमा दक्ष भएकैले तीन वर्षअघि नै अस्ट्रेलियाको जोन हल्यान्ड कम्पनीले हङकङबाट सिड्नी लग्यो। 'मलाई पनि टिबिएम चलाउन अस्ट्रेलिया र ब्राजिल बोलाएका छन्, तर त्यता जाने सोचेको छैन,' वरिष्ठ टिबिएम इन्जिनियर झमबहादुर भन्छन्, 'बरु नेपालमा मेट्रो रेल बन्ने भयो भने आफ्नो खुबी स्वदेशमै देखाउने इच्छा छ, काठमाडौंलाई हङकङका नेपालीको त्यो एउटा कोसेली हुनसक्छ।'
डेन्जर, डिफिकल्ट, डर्टी
हङकङका नेपालीबीच एउटा भनाइ निकै चर्चित छ- सबै मानिस सुरुङमा काम गर्न सक्दैनन् तर सक्नेले अरू जस्तोसुकै काम गर्न सक्छन्। हङकङमा बस्ने करिब ३५ हजार नेपालीमध्ये प्रायः थ्री डी अर्थात् डेन्जर, डिफिकल्ट र डर्टी मानिने निर्माण क्षेत्रमा संलग्न छन्। गगनचुम्बी भवन र समुद्रमाथि पुल निर्माण गर्नमा पनि नेपालीहरू दक्ष ठहरिएका छन्। तर त्योभन्दा बढी जोखिमपूर्ण मानिने सुरुङ खन्ने कामका लागि प्रायः नेपाली नै खोजिन्छ हङकङमा। त्यसैले ड्रागेजमा ९५ प्रतिशत र मिसुमात्सुमा पनि उल्लेख्य मात्रमा नेपाली कामदार छन्।
'इमानदार, मेहनती र लगनशील भएकाले नेपालीलाई विश्वास गर्छन् कम्पनीहरू, विस्तारै सीप सिकेपछि हामी नै निर्विकल्प हुन थाल्छौं,' लेबरका रूपमा सुरुङ प्रवेश गरेर टिबिम पाइलट बन्न सफल झमबहादुरले भने।
जमिनबाट ३५ मिटरमुनि सुरुङमा पुगेपछि त्यहाँको उकुसमुकुस वातावरणमा काम गर्न कति कठिन छ भन्ने अनुभव हुन्छ। सुरुङभित्र टिबिएमको जमिन काट्ने भाग (कटर हेड) फेर्ने सबभन्दा जोखिमपूर्ण काममा नेपाली नै छन्। स्वास्थ्य परीक्षणबाट योग्य व्यक्तिलाई यसमा पठाइन्छ। दुई घन्टा काम गरेपछि भित्र च्याम्बरमा अक्सिजन लिएर आराम गरेपछि मात्र बाहिर निस्कने अनुमति दिइन्छ। सातामा तीन दिन बिदासहित विशेष तलब-भत्ता पाइने भएकाले जोखिमपूर्ण भए पनि नेपालीहरू यसमा आकर्षित छन्। झमबहादुरका अनुसार सुरुङभित्र जमिन र मेसिनबीचको निकै साँघुरो ठाउँमा यस्तो काम गर्न तयार हुनुअघि स्वास्थ्यमा पुग्नसक्ने दीर्घकालीन असरबारे बु‰ने नेपाली कमै छन्।
हङकङमा नेपालीले कमाएको यो त्यस्तो महŒवपूर्ण सीप हो, जसले सधैँ काम उनीहरूलाई पर्खिरहेको हुन्छ। 'सुरुङ निर्माणसम्बन्धी दक्षताले हङकङमा अहिले नेपालीलाई स्वर्णयुग नै आएको छ,' विजय भन्छन्, 'पहिला चेप्लाककमा पनि बत्ती बलेको थियो, निर्माण कार्य धेरै भएकाले अहिले कामले नेपाली खोजिरहेको छ।'
सुरुङ निर्माणसम्बन्धी आधुनिक प्रविधि बुझेका, जुनसुकै वातावरणमा काम गर्न सक्ने, लामो समयदेखि मेसिन चलाएका अनुभवी नेपालीको टिम नै छ हङकङमा। मेट्रो रेल आयोजना प्रमुख भएर काम गर्नेदेखि एकेडेमी स्थापना गरी तालिम दिनसक्ने उच्च सीप भएको जनशक्ति हो यो, जो आफ्नो दक्षता नेपालमा लगानी गर्न तत्पर छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य कृष्ण पाण्डेका अनुसार सुरुङ निर्माणसम्बन्धी हङकङका नेपालीको सीप काठमाडौंमा भूमिगत मेट्रो रेल निर्माणका लागि शतप्रतिशत उपयोगी छ। पाण्डे भन्छन्, 'हङकङमा आधुनिक मेसिन चलाएर सुरुङ खन्ने क्रममा नेपालीले हासिल गरेको उच्च सीप यहीँ हङकङ र विश्वकै लागि निकै उपयोगी साबित भइरहेको छ भने काठमाडौंका लागि त यो ठूलो सम्पत्ति नै हो।'
कायरोको बाटो
हङकङका नेपाली इन्जिनियरहरूका अनुसार बसोबास नभएका ठाउँमा ड्रिल एन्ड ब्लास्ट गरेर सुरुङ खन्न सकिन्छ, तर काठमाडौंमा भूमिगत मेट्रो बनाउने हो भने टिबिएमको विकल्प छैन। हङकङमा भवन र सडकमुनि ३५ मिटर र समुद्रमुनि सय मिटर तलसम्म मेट्रो रेलको सुरुङ खनिएको छ। काठमाडौंमा घरहरूको जग ५-१० मिटर मात्र गहिरो हुने भएकाले ३०-३५ मिटर तल टिबिएम चलाउँदा समस्या नआउने बताउँदै झमबहादुर भन्छन्, 'भासिने खालको माटो छ भने पनि मलेसियामा जस्तो सिमेन्टको प्रयाग गरी जमिन मजबुत बनाएर टिबिएम चलाउन सकिन्छ।'
हङकङमा सुरुङ निर्माणमा ख्याति कमाएर विश्वभर फैलिने क्रममा रहेका नेपाली इन्जिनियरहरू काठमाडौंका लागि कायरोको उदाहरण सान्दर्भिक हुने ठान्छन्। मेट्रो सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिँदा उपभोक्ता महँगोमा पर्ने भएकाले अनुदानमा बनाउनु राम्रो हुने उनीहरूको सुझाव छ। 'काठमाडौंमा प्रस्तावित ६६ किलोमिटर भूमिगत मेट्रोका पाँचवटा लाइन एउटा-एउटा बाँडेर दाता खोज्ने हो भने १०-२० वर्षभित्रै परियोजना सम्पन्न गर्न सकिन्छ,' जापान र फ्रान्सको आर्थिक सहयोगमा कायरोले मेट्रो रेल सञ्चालन गरेको उदाहरण दिने इन्जिनियरहरूको मत छ, 'चीन र भारतसँग राम्रो प्रस्ताव राख्ने हो भने काठमाडौंमा मेट्रो चढ्न धेरै समय पर्खनुपर्दैन।'
तर नेपालको राजनीतिकि अस्थिरताप्रति भने यी इन्जिनियरहरु पनि आजित छन्। 'नेपालमा राजनीतिक हावा कुन दिशाबाट बग्छ भन्ने थाहा नहुँदा राज्य व्यवस्था बनाउनै कठिन देखिएको छ,' इन्जिनियर विजय भन्छन्, 'राजनीति मिल्यो भने सीप हामीसँगै छ, काठमाडौंमा मेट्रो रेल ल्याउन कठिन छैन।'

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी