Wednesday, May 16, 2012

रनपालाई आर्थिक हिनामिनाकोे आरोप

नारायणगढ । रत्ननगरका नेपाली काँग्रेसलगायत साना सात राजनीतिक पार्टीहरुले रत्ननगर नगरपालिकाले विकासका योजनाहरुमा व्यापक लापरबाही र आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । काँग्रेससहितको राजनीतिक दलहरुले प्रमुख जिल्ला अधिकारीलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै रत्ननगर नगरपालिकाले गरेको हरेक गतिविधिमा छानविन र प्रत्यक्ष अनुसन्धान गर्न माग गरेका छन् । दलहरुले बुझाएको ज्ञापनपत्रमा नगरपालिका सञ्चालनका नाममा नगर अधिकृतले परम्परागत संकुचितशैली, मनोमानी ढंग र अपारदर्शी कार्य गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस नगर समिति अध्यक्ष रुपनराज घिमिरेले नगर अधिकृतले आर्थिक प्रलोभनमा परी नगरपालिकाले धान्नै नसक्ने गरी कर्मचारीको बढुवा गरेको बताउनुभयो । उहाँले नगरपालिकाको परिषद्बाट भएका कार्यक्रमहरु हालसम्म सार्वजनिक नभएको धारणा व्यक्त गर्नुभयो । नेकपा माले नगर समिति सचिव रामहरि लम्सालले नगरपालिकाले कालोपत्रेको नाममा गुणस्तरहीन कालोपत्रे सडक निर्माण गरी नगरवासीहरुको ‘आँखामा छारो हाल्ने’ काम मात्र भएको बताउनुभयो । उहाँले सडक निर्माणको नाममा योजना विपरीत काम भएको आरोप पनि लगाउनुभयो । राष्ट्रिय जनमोर्चा नेपाल नगर समिति अध्यक्ष इन्द्रप्रसाद पौडेलले नगरपालिकाबाट परिषद्ले निर्णय गरेभन्दा विपरीत बजेट शीर्षक रकमान्तर गरी खर्च गरेको बताउनुभयो । पटकपटक एउटै संस्थालाई कार्यक्रम र आर्थिक सहयोग गरेको पनि उहाँको भनाइ थियो । नेपाली काँग्रेस, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, मधिसे जनअधिकार फोरम लोकतान्त्रिक, राप्रापा, राप्रपा नेपालले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । नगरपालिकाको कार्यशैलीप्रति नगरवासीमा जानकारी दिन प्रमुख जिल्ला अधिकारीलाई दलहरुले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नगरपालिका सञ्चालनमा समन्वयकारी भूमिका खेल्न पनि माग गरिएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी