Monday, May 7, 2012

गैँडाकोटलाई लागूऔषधमुक्त अभियान सुरू

गैँडाकोट । नवलपरासीको गैँडाकोटलाई लागूऔषधमुक्त बनाउने अभियान थालिएको छ ।
स्थानीय सामुदायिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय र विभिन्न महिला समूहहरुको सक्रियतामा गैँडाकोटलाई लागूऔषधमुक्त क्षेत्र बनाउन लागिएको हो । सो अभियानअन्र्तगत सोमबार गँैडाकोट–२ स्थित पुलचोक छेउछाउमा करिब ५ कठ्ठा जग्गामा रहेको गाँजालाई नष्ट गरिएको छ ।
लामो समयदेखि गैँडाकोटमा विकृति विसंगति अन्त्यका लागि काम गरिरहेको सामुदायिक सेवा केन्द्रले इलाका प्रहरी कार्यालय र स्थानीय महिला समूहको सहयोगमा गैँडाकोटलाई नमुना बनाउने अभियान सुरू गरेको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटले पनि लागूऔषधमुक्त अभियान सफल पार्नका लागि निरन्तर काम गरिरहने बताएको छ । गैँडाकोटका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले जनताहरुले आफूहरुलाई सूचना दिए काम गर्न अझै सजिलो हुने बताउनुभयो ।
स्थानीय बिहानी महिला समुह र प्रतिभा महिला समूहले पनि समाजमा विकृति विसंगति जस्ता क्रियाकलापलाई ठाउँ नदिन जनचेतना अभिवृद्धिका लागि काम गर्ने बताएका छन् ।
गैँडाकोटबाटै लागूऔषध ओसारपसार भइरहेको जनगुनासो बढेका बेला थालिएको लागूऔषधमुक्त अभियान राम्रो रहेको भन्दै स्थानीयले यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । उनीहरुले स्थानीय प्रहरी प्रशासन सक्रिय भएर नलागेसम्म कुनै परिवर्तन नआउने बताएका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी