Saturday, June 2, 2012

आफू नपढेर श्रीमतीलाई पढाउदैछन् झलक

- राजकुमार शाही
कति वर्षको हुनुभयो?
- ३५ वर्ष
के गर्दै हुनुहुन्छ?
- श्रीमती स्कुल जान्छिन, म छोरीसँग घरमै बस्छु ।'
आफू नपढेर किन श्रीमतीलाई पढाउनुभयो त?
-'मैले त पढ्न पाईन-पाईन, तर श्रीमतीलाई पनि नपढाएर म हाम्रो घर अँध्यारो बनाउन चाहन्न ।'
यति ठूलो मनका साथ जाजरकोट खलंगा ३ मूलपानीका ३५ वषिर्य झलक शाहीले आफू नपढेर भएपनि श्रीमतीलाई ढुक्कसँग पढाईराखेका छन् । विवाहपश्चात श्रीमतीलाई घरधन्दामा सीमित गराउने पृतिसत्तामक सोचलाई चिर्दै झलकले २१ वषिर्या श्रीमती अञ्जनालाई जिल्लाको खलंगा ९ मा रहेको शिव व्यवसायिक माविमा कृषि प्राविधिक पढाईराखेका छन् । सामान्य कृषक परिवारका झलकले आफू गरिबीकै कारण पढ्न नसकेको दुखेसो पोखे । जसोतसो बाआमाले विद्यालय भर्ना गरेपनि साथीभाईको लहैलहैमा लागेर पढ्न छोडेको उनले बताए ।
सामान्य रुपमा साक्षर मात्र भएका शाहीले आफू नपढेकै कारण विभिन्न अवसरबाट वञ्चित भएको र आफ्नो भविष्य नै अध्यारो बनेकाले श्रीमतीलाई पढाएको उल्लेख गरे । 'एउटा आमा शिक्षित भईन भने सिंगो घर नै शिक्षित हुन्छ' २ वषिर्या छोरीलाई काखमा राख्दै उनले भने, 'यो छोरी र हाम्रो भविष्यको लागि पनि अञ्जनाले पढ्नु आवश्यक ठानेर एक छाक भोकै रहेर भएपनि पढाईराखेको छु ।' समाजका कतिपय व्यक्तिले आफूलाई जोईटिङग्रे भन्ने गरेको सम्झदै उनले भने, 'आफ्नो परिवारको भविष्य बन्ने कुरामा कसैले जोईटिङग्रे भन्छ भने भन्दै गरोस् ।' श्रीमती विद्यालय गएका बेला २ वषिर्या छोरीसँगै कोठामा बसेर खाना पकाउनु, भाडा माझ्नु तथा घरको सरसफाई गर्नु शाहीको दैनिकी बन्ने गरेको छ ।
उनीहरु अहिले खलंगाको ९ मै कोठा भाडामा लिएर बसिरहेका छन् । घरबाट विद्यालय जान १- डेढ घण्टामात्र लाग्ने भएपनि घरबाटै विद्यालय जाने-आउने गर्दा पढाई बिग्रिने डरले उनले नै कोठा लिएर बस्ने सोच बनाएका हुन । 'कोठा लिएर बसौ भन्दा घरबाट नै गईहाल्छु भनिन्', श्रीमतीको भनाईलाई उदृत गर्दै उनले भने, 'तर मैले कर गरेपछि नाई भन्न सकिनन् ।' जिल्लाकै खलंगा २ मा रहेको त्रिभुवन उच्च माविमा यहि बैशाख १७ गतेबाट शुरु हुने कक्षा १२ को परिक्षामा समेत सामेल हुने श्रीमतीको पढाईबाट झलक सन्तुष्ट छन् । श्रीमतीको ईच्छाअनुसार जति सक्यो उती पढाउने सोच गेरेका उनले भने, 'उनको ईच्छा अनुसार जति सक्यो उति पढाउँछु, ।
यति कुरा गदैगर्दा श्रीमती विद्यालयबाट फर्किईन र छोरी श्रीमतीलाई सुम्पिदै उनी बिहान खाना पाएका जुठा भाँडा माझ्न निस्किए । श्रीमती अञ्जनाले भनिन्,'धेरै सहयोग गर्नुहुन्छ, मलाई खाली पढ् मात्र भन्नुहुन्छ, यस्तो श्रीमान पाउँला भनेर सोचेकै थिइन ।' पढाई लेखाई राम्रो नभएको व्यक्तिसँग विवाह गर्दा कसरी जीवन बिताउने होला भन्ने चिन्तामा परेकी अञ्जनाले थपिन्, 'म त साह्रै भाग्यमानि रहेछु, उहाँसँग घरबार नभएको भए सात जुनि ब्रत गरेरपनि यस्तो श्रीमान पाउँदैन्थे होला ।'
शाही जोडिको बिहे भएको अहिले ३ वर्ष मात्र भयो । गाउँमा रहेका पढेलेखेका यूवाहरुले समेत श्रीमतीलाई नपढाएको अवस्थामा शाहीले श्रीमतीलाई पढाएर उदाहरणिय काम गरेको स्थानीय सुनिता विश्वकर्माले बताईन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी