Wednesday, June 13, 2012

एसएलसीको रिजल्ट सार्वजनिक, पोहोरभन्दा निराशाजनक परिणाम


परीक्षा नियन्त्रण कार्यालयले आज यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। यस वर्ष नियमित तर्फ ४७.१६  प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। ग्रेस नम्बर पाँच दिँदा पनि उत्तीर्ण संख्या गत वर्षभन्दा ८.३४ प्रतिशतले कम हो। गत वर्ष ५५.५ प्रतिशत उत्तीर्ण भएका थिए।  त्यसैगरी आंशिकतर्फ यस पटक १३.७०  प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस पटक विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोस्रो श्रेणीमा ९३ हजार ८३० र तेस्रो श्रेणीमा ८ हजार ७९१ जना उत्तीर्ण भएका छन्।  यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए।


परीक्षाको परिणाम एसएलसी स्पेस सिम्बोल नम्बर (उदाहरण SLC 123456B) टाइप गरी ५२२५ मा एसएमएस गरी पाउन सकिन्छ। परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयको http://slcresult.soce.gov.np/ वेबसाइटमा हेर्न सकिनेछ।

राससकाअनुसार, कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी भएको जनाइएको छ। उत्तरपुस्तिकाको कोडिङ सकेर रुजु गर्ने कार्य समेत सकिएको जनाउँदै कार्यालयले आज दिनभरको बाँकी काम सम्पन्न गरी अपराह्नसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको हो।

कार्यालयले आज परीक्षाफल प्रकाशन गर्न अपराह्न बोर्ड बैठक बोलाएको र प्रहरीसँग सुरक्षा समेत माग गरेको बताइएको छ। कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको र यस वर्ष पनि गत वर्षजस्तै छिटो नै अर्थात् उज्यालोमै परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको बताए।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी