Friday, June 8, 2012

सरकारलाई दबाब कि कार्यकर्तालाई सकस ?

झण्डामा कांग्रेस पहिलो, एमालेको चाहिं चुनावी प्रचार जस्तो

काठमाडौं । जेठको उखरमाउलो गर्मी, घाम नलागेको बिहान र बेलुकाको समयमा त बाहिर हिंडडूल गर्न सकिँदैन । घाम चर्केपछिको त कुरै छोडौं । गर्मी र औडाहाको यस्तो बेला कांग्रेस-एमाले लगायतका विपक्षी दलहरुले राजधानीमा शक्ति प्रदर्शन भन्दै नेता कार्यकर्तालाई सडकमा उतारेका छन् । नेताहरुले भनेपछि मान्नै पर्यो । चर्को घाम र उखरमाउलो गर्मी भएपनि कार्यकर्ता झण्डा बोकेर सडकमा ओर्लेका छन् । खुलामञ्च र आसपासको ठाउँ विपक्षी दलका नेताहरुको कार्यकर्ताले खचाखच भरिएको छ ।
विपक्षी दलहरुले यस शक्ति प्रदर्शन मार्फत प्रधानमन्त्रीलाई राजीनामा गर्न दबाब दिने बताएका छन् । एकतर्फी रुपमा संविधानसभाको चुनाव घोषणा गरेर माओवादीले सर्वसत्ताबाद लाद्न खोजेको उनीहरुको आरोप छ । सडकमा जनताको शक्ति देखाएर सरकार माओवादीलाई झुकाउने दलहरुको दाऊ हो ।
यो उखरमाउलो गर्मीमा यसैपनि सडक तातेकै छ । तातो सडकमा उप|mेर आन्दोलन तताउने नेताहरु बताउँछन् । आफ्नै कार्यकर्तालाई उखरमाउलो गर्मीमा सकस दिएर उनीहरुले सडकलाई थप तताए पनि । नेता, कार्यकर्ताको यो सकसले सरकारलाई गलाउने हो कि उनीहरु आफैंलाई यो चाहिं केही दिनपछि मात्रै थाहा हुनेछ ।
चारतारे झण्डा धेरै
दोस्रो जनआन्दोलन र त्यसभन्दा अघिको संयुक्त आन्दोलनमा पनि कांग्रेसले झण्डामा सबैलाई जित्ने गथ्र्यो । यसपटक पनि कांग्रेसले यसै गरेको छ । ठूला साना झण्डै २२ दल सहभागी प्रदर्शनमा कांग्रेसका चारतारे झण्डा बढी फरफराएका छन् । अरु पार्टीका फरकफरक झण्डाले खुलामञ्च रंगिचँगी भएको छ । यसअघि कहिल्यै नदेखिएका झण्डा पनि कार्यक्रममा फरफराइरहेका छन् ।
एमालेको चाहिं सूर्य
सरकारले एकतर्फी रुपमा चुनाव घोषणा गरेको बिरोधमा यो प्रदर्शन भएको छ । एक हिसाबले यसलाई चुनावबिरोधी कार्यक्रम भन्दा पनि हुन्छ । तर एमालेले चाहिं चुनावी सभामा चाहिं सूर्य अंकित झण्डा पनि प्रदर्शन गरेको छ । हँसिया हथौडा मात्र ल्याउँदा अरु कम्युनिष्ट र एमाले कसको हो भनेर छुट्याउन गाह्रो हुन्छ भनेर हो कि त, एमालेले यसो गरेको ?
कुर्सीको हानथाप
प्रधानमन्त्रीलाई कुर्सीबाट ओराल्नको लागि दबाब दिन विपक्षीहरुले प्रदर्शन गरेका हुन् । तर सभामा उपस्थित नेताहरुलाई नै बस्ने कुर्सीको प्रबन्ध गर्न आयोजकहरुलाई हम्मेहम्मे भयो । कांग्रेस-एमाले जस्ता ठूला पार्टीका प्रायः सबै शीर्ष नेताहरु कार्यक्रममा उपस्थित छन् । उनीहरुलाई पछाडि उभ्याउने कुरा पनि भएन । कार्यक्रमका उद्घोषक एमालेका कृष्णगोपाल श्रेष्ठले कांग्रेस र एमालेको ६/७ जनको दरले नेतालाई अगाडि बस्न भने । उनले भन्नुभन्दा पहिल्यै बसिरहेका नेताहरुले हात हल्लाए । उनीहरुको हारमा राष्ट्रिय जनशक्ति पार्टीका सूर्यबहादुर थापा, राप्रपाका लोकेन्द्रबहादुर चन्द र पशुपति शम्शेर राणा, मालेका सीपी मैनाली सहित केही चिरपरिचित अनुहार बाहेक अरुलाई राख्ने ठाउँ भएन । त्यहाँ उपस्थित अरु पार्टीका कार्यकर्ताले यसको तुरुन्तै बिरोध गरे । सबैको नाम बोलाएर अगाडि राख्न माग गरे । तर सर्वदलीय कार्यक्रममा यस्तै भद्रगोल हुन्छ भनेर उद्घोषक श्रेष्ठले थामथुम पार्ने प्रयास गरे ।
बैद्य पक्षलाई सहानुभूति
सरकार बिरुद्ध मोर्चाबन्दी गरेका कांग्रेस-एमाले लगायतका विपक्षी दलहरुको गठबन्धनले गरेको बिरोध प्रदर्शनलाई माओवादीको मोहन वैद्य पक्षधरले पनि समर्थन जनाईसकेको छ । आफूहरुलाई समर्थन गर्ने वैद्य पक्षको मन दुखाउन पनि भएन । त्यसैले टुंडिखेलको सभामा माओवादी पार्टीलाई सिंगो बिरोध गरिएको छैन । उद्घोषक र अरु वक्ताहरुले माओवादीको ‘प्रचण्ड र बाबुराम गुट’ भनेर सम्बोधन गरेका छन् ।
vie: onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी