Monday, July 16, 2012

अस्पताल घेराउ तथा हातपात गरे जेल र जरिवाना


चिकित्सकद्वारा उपचार सेवा बन्द गरेपछि पीडित बनेका बिरामीका आफन्त उपचारको माग गर्र्दै जिल्ला प्रशासनमा ।

  भरतपुर।स्वास्थ्यकर्मीमाथि आक्रमण र स्वास्थ्य संस्था तोडफोडको घटना रोक्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन कार्यन्वयन भए ठूलो सहयोग पुग्ने चिकित्सकहरुको माग छ । सोही ऐन कार्यान्वयनको माग राखेर आइतबारदेखि चितवनका स्वास्थ्य संस्था बन्द छन् ।
विसं २०६६ साल बैशाखमा जारी भएको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनको दफा ३ मा स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मीमाथि घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्न नपाउने व्यवस्था छ । सो गरे जेल र जरिवाना हुन्छ ।
त्यस्तै स्वास्थ्य संस्थामा तोडफोड र आगजनी गर्न नहुने व्यवस्था पनि ऐनमा छ । सोअनुसार कारबाही हुनुको साटो प्रशासनले दोषी समात्न नै चासो दिँदैन भन्ने चिकित्सककर्मीहरुले गुनासो गर्दै आएका छन् । जसका करण झन्पछि झन् घटनाहरु मौलाउँदै गएका छन् ।
ऐनमा स्वास्थ्यकर्मीलाई  हातपात गरेमा पाँचदेखि २० हजार रुपैयाँ जरिवाना र तोडफोड गरेमा तीन लाख रुपैयाँसम्म जरिवाना, एक महिनादेखि एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ । ऐन जारी भएको तीन वर्ष पुगे पनि कार्यान्वयन भएको छैन ।
त्यस्तै अस्पतालको सुरक्षाका लागि ५० शøयाभन्दामाथिको अस्पतालमा आवश्यकता परेको खण्डमा स्थायी रुपमा नै ११ जनासम्म सुरक्षाकर्मी राख्न पाउने व्यवस्था सो ऐनमा छ । ऐनअनुसार भए स्वास्थ्य निकायमा हुलहुज्जत नहुने र भएमा कारबाही पर्ने अवस्था छ ।
‘हामीले ज्यादै संघर्ष गरेर ऐन ल्याएको हो । यो लागू भएमा समस्याहरु समाधान भएर जान्छन्’, नेपाल चिकित्सक संघका पूर्व केन्द्रीय महासचिव डा.अञ्जनीकुमार झाले भन्नुभयो । तर ऐन कार्यान्वयन गराउने निकायका धेरैलाई यो ऐन छ भन्ने नै हेक्का नभएको तीतो उहाँले पोख्नुभयो ।
चितवनमा दिनहँु स्वास्थ्य निकायमा तनाव र स्वास्थ्यककर्मीमाथि दुव्र्यवहार हुन थालेपछि नेपाल चिकित्सक संघले जिल्लाका सबै अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरेर आन्दोलन गरेको छ । त्यसपछि सरकारले यो कुरा सुनुवाइ गरेको छ ।
गृह मन्त्रालयले चितवन जिल्ला प्रशासन कार्यालयलाई सोमबारमात्रै परिपत्र गरेर स्वास्थ्य निकाय र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐनअनुसार कारवाही गर्न निर्देशन दिएको छ ।
‘अब हामी सोही ऐनअनुसार कारबाही गर्छौं’, चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले भन्नुभयो । आन्दोलनरत चिकित्सकहरु भरतपुर अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा.महेन्द्रराज न्यौपानेमाथि आक्रमण गर्ने थप नसमातिदासम्म अस्पताल नखोल्ने अडानमा छन् ।
‘बिरामीको मृत्युपछि चिकित्सकको लापरवाहीले भएको भन्ने लाग्छ भने पोष्टमार्टम गरौं, रिपोर्टको आधारमा कानुनी कारबाहीअगाडि बढाऊँ भनेर कोही आउँदैन’, नेपाल चिकित्सक संघ चितवनका सचिव डा.कृष्णप्रसाद पौडेलले भन्नुभयो, ‘मान्छे मरेपछि डाक्टर पिट्ने, तोडफोड गर्ने अनि क्षतिपूर्तिमात्रै बुझ्ने परिपाटी विकास भएकाले यहाँ गलत उद्देश्य बोकेका समूह क्रियाशील छन् भन्ने प्रष्ट हुन्छ, त्यस्तो कार्य नियन्त्रण हुन ऐन कार्यान्वयन आवश्यक छ ।’
बिरामीका आफन्त प्रशासनमा
यता अस्पतालमा सेवा बन्द भएपछि बिरामीका आफन्तहरु आन्दोलित हुन थालेका छन् । सोमबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामीहरुले जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएका छन् ।
क्यान्सर अस्पतालमा श्रीमतीलाई उपचारका लागि सुनसरी मानपुरबाट ल्याएका कृष्ण कार्कीले डाक्टरले सेवा बन्द गरेपछि बिरामीलाई सेकाउने (रेडियसन) दिन नपाएको बताउनुभयो । ‘दोषीमाथि कारबाही हुनु पर्दछ त्यसमा हाम्रो पनि सहमति छ तर एउटाको दोषको सजाय निर्दाेष बिरामीलाई त दिनुभएन नि’, उहाँले भन्नुभयो ।
उनीहरुले आफ्ना बिरामीको मृत्यु भए प्रशासनले जिम्मा लिनुपर्ने बताएका छन् । आफन्तहरुले अस्पतालबाट सेवा नपाए बन्दमा उत्रने चेतावनीसमेत दिएका छन् ।

डाक्टरलाई सम्मान 

भरतपुर । जिल्लामा डाक्टर तथा नर्समाथि आक्रमण भइरहेको बेला भरतपुरमा बिरामी तथा बिरामीका आफन्तले उपचारमा संलग्न डाक्टरलाई सम्मान गरेका छन् । नारायणी सामुदायिक अस्पतालका बिरामी ताशी डोल्माको परिवारले उनको उपचारमा संलग्न डा. भक्तमान श्रेष्ठलाई सोमबार सम्मान गरेका हुन् ।
पित्तथैलीमा भएको पत्थरीका कारण मृत्युको मुखमा पुगेकी डोल्मालाई बचाउन सफल भई खतराबाट मुक्त बनाएको भन्दै उनको परिवारले डा. श्रेष्ठसहित उपचारमा संलग्न चिकित्सकहरुको टोलीलाई सम्मान गरेको हो ।
मकवानपुर हेटाँैडाकी ५५ वर्षीया डोल्मालाई असार ७ गते नारायणी सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । डोल्माको आन्द्रा फुलेको र पित्त नलीमा पीप जमेको जटिल अवस्थामा उपचार गरिएको उपचारमा संलग्न डा. श्रेष्ठले बताउनुभयो ।
‘सुरूमा पित्तको शल्यक्रिया गरेपनि जण्डिसका कारण सफल भएन दोस्रो पटकको शल्यक्रियापश्चात् मात्र डोल्माको अवस्थामा सुधार आएको हो’, उहाँले भन्नुभयो । हेटौँडाको उज्वल शिशु निकेतन आवासीय माविकी प्राचार्यसमेत रहेकी ताशी डोल्माको अवस्था अहिले सामान्य बन्दै गएको अस्पतालले जनाएको छ ।
डा. श्रेष्ठलाई सम्मान गर्दै डोल्माका श्रीमान् डा. सम्राट तुम्वाहाम्फेले मृत्युको मुखमा पुगेकी आफ्नी श्रीमतीलाई अहिले सकुशल देख्न पाउँदा मृत्युमाथि विजय प्राप्त भएको अनुभव गरेको बताउनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी