Sunday, July 15, 2012

भरतपुर अस्पतालका डा. न्यौपानेमाथि आक्रमण

 आकस्मिकबाहेक सबै सेवा बन्द 

 भरतपुर । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. महेन्द्रराज न्यौपानेमाथि भएको आक्रमणको विरोधमा आइतबार दिनभर चितवनका अस्पतालहरु आकस्मिक सेवाबाहेक सबै सेवा बन्द रहे ।
आइतबार बिहान दुई बजे अस्पतालमा उपचारका क्रममा रहेका मकवानपुर मनहरी–३ का रामचन्द्र सामरीको मृत्यु भएको विषयलाई लिएर उनका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. न्यौपानेलाई कुटपिट गरेका थिए । कुटपिटबाट न्यौपानेको देब्रे आँखा मुनि गहिरो चोट लागेको र तीन वटा टाँका लगाइएको अस्पतालका आईसीयू विभागका प्रमुख डा. विजय पौडेलले जानकारी दिनुभयो ।
काठमाडौंको वीर अस्पताल र टेकुको क्षयरोग अस्पतालमा उपचार हुन नसकी पुनः भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएका सामरीको शनिबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । सामरीको मृत्यु भएपछि आक्रोशित बनेका उनका भतिज कृष्णहरि सामरीले डा.माथि हातपात गरेका थिए । अस्पतालले अक्सिजनको मात्रा घटाएका कारणले बिरामीको मृत्यु भएको भन्दै आक्रमण गरेका थिए । कृष्णहरिलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनलाई अक्सिजनको कमी नभएको विभागका प्रमुख डा. पौडेल बताउनुभयो । ‘छ घण्टामा पाँचवटा अक्सिजनका सिलिण्डर सकिएका छन्, बिरामीको मृत्यु हाम्रो कारणले नभएर बिरामीका आफन्तका कारणले भएको हो’ उहाँले भन्नुभयो ।
बिरामीको मृत्यु अक्सिजनको मात्रा बढी र कार्वनडाइअक्साइडको कमी (हाइप्रोक्सी ड्राई) का कारण भएको डा. पौडेलको भनाइ थियो । बिरामीका आफन्तहरुले आफँै अक्सिजनको मात्रा बढाउने गरेको र सेवामा खटिएका नर्सलाई मात्रा बढाउन दबाब दिने गरेको उहाँको भनाइ छ ।
‘बिरामीकोे मृत्यु भइसकेपछि यहाँ रहेका आफन्तहरु समझदारीमा आइसक्नुभएको थियो तर बाहिरबाट आएर उहाँलाई आक्रमण गरियो’ डा. पौडेलले भन्नुभयो, ‘मनहरीबाट २०÷२२ जनाको हुल आएर उहाँमाथि आक्रमण भएको हो प्रहरी सहायक निरीक्षक भानु चौधरी र म नभएको भए सर (डा. न्यौपाने) को ज्यान जान पनि सक्थ्यो ।’
यसरी दिनरात बिरामीको सेवामा खटिने चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै उहाँले चिकित्सकहरुको मनोबल गिरेको बताउनुभयो । पटकपटक चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पताल तोडफोडका घटनाले मनोबल गिरेको सम्बन्धित व्यक्तिहरुको भनाइ छ ।
यसरी पटकपटक चिकित्सकमाथि हुने गरेको आक्रमणको विरोधमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंगठनले आइतबारदेखि अनिश्चितकालका लागि आकस्मिकबाहेक अन्य सेवा बन्द गराएका छन् । अस्पतालमा सेवा बन्द हुँदा बिरामीहरुले सास्ती भोग्न बाध्य भएका थिए ।
यसैबीच चिकित्सकमाथिको आक्रमण र अस्पताल तोडफोडको विषयलाई लिएर आइतबार भरतपुर अस्पतालमा बसेको पेशागत संगठन (पापड) सम्बद्ध विभिन्न संघ संगठनहरुको बैठकले दोषीलाई कारबाहीको माग गरेको छ । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका केन्द्रीय कार्यकारी सदस्य डा. मनोहर प्रधानले ४८ घण्टा भित्र दोषीलाई कारबाही नभए देशभर स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिनुभएको छ । चितवनबाट सुरु भएको आन्दोलनले माग पूरा नभए देशै भरका अस्पतालहरुका सेवा ठप्प पार्ने उहाँको भनाइ थियो ।
‘कि त हामीलाई सुरक्षा दिनुप¥यो, होइनभने सरकारले हामीलाई भन्नुप¥यो, हामीले सुरक्षा दिन सकेनौँ । हामी पनि हातमा दही जमाएर बसेका छैनाँै’ डा. प्रधानले भन्नुभयो । त्यस्तै नेपाल चिकित्सक संघका पूर्व महासचिव डा. अञ्जिनीकुमार झाले वर्षौदेखि चिकित्सकहरुलाई आक्रमण गर्ने परिपाटी बस्दै आएको बताउँदै त्यसका विरुद्ध आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । २०६६ सालमा स्वास्थ्यकर्मी तथा अस्पताल सुरक्षासम्बन्धि ऐन बनेको भएपनि कार्यान्वयन नभएको उहाँको भनाइ थियो ।
‘सरकार ऐन कार्यान्वयनमा गम्भीर छैन्, सरकारका सचिव र मन्त्रीहरुलाई ऐन बने नबनेको थाहा नै छैन्’, डा. झाले भन्नुभयो । इच्छा शक्ति भए सरकारले ऐन कार्यान्वयन गराउन सक्ने उहाँको भनाइ थियो । ऐनमा ५० शैयाभन्दा माथिका अस्पताललाई चौबीसै घण्टा ९ देखि ११ वा आवश्यकता अनुसार सुरक्षाकर्मी प्रदान गर्ने व्यवस्था गरेको जानकारी डा. झाले दिनुभयो ।
कार्यक्रममा चिकित्सकहरुको मागप्रति सकरात्मक रहेको भन्दै प्रमुख जिल्ला अधिकारीले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिरामीको मृत्यु भएको विषयलाई लिएर अस्पतालमा आक्रमण गर्ने र क्षतिपूर्ति माग गर्ने गलत परिपाटी बस्दै गएको उहाँले बताउनुभयो । सत्यतथ्य छानविनको लागि  चिकित्सकहरुको समिति गठन गरेर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । ऐनमा भएका व्यवस्थालाई स्थानीय स्तरबाट पूरा हुन सक्ने व्यवस्था पूरा गर्ने र सरकारले सम्बोधन गर्नुपर्ने मागलाई केन्द्रसम्म पु¥याउने उहाँले बताउनुभयो ।
कार्यक्रममा पापडका संयोजक गोविन्द सिग्देलले चिकित्सकहरुमो आन्दोलन प्रति ऐक्यबद्धता जनाउनुभयो । कार्यक्रममा नर्सिङ संघ चितवनका उषा थापा, नीजि अस्पताल समन्वय समितिका पुष्पराज शर्माले पटकपटक हुने आक्रमणले काममा फर्कन सक्ने वातावरण नभएको भन्दै आन्दोलनलाई निरञ्तरता दिनुपर्ने बताउनुभएको थियो । यसअगाडि भरपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर अस्पतालका नर्स अनिता भुषाल र डा. ललित विकमाथि आक्रमण भएको थियो । त्यस्तै शनिबारमात्र आशा अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर तोडफोड भएको थियो । यी घटना सेलाउन नपाउँदै भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. न्यौपानेमाथि आक्रमण भएको थियो ।
यता स्वास्थ्य क्षेत्रमाथि पटकपटक भइरहेको आक्रमणको नेपाल चिकित्सक संघ चितवन शाखाले विरोध जनाएको छ । संघका अध्यक्ष डा. भोलाप्रसाद न्यौपाने तथा सचिव डा. कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा आक्रमणकारीलाई कारबाहीको माग गरिएको छ । साथै उहाँहरुले स्वास्थ्यकर्मी सुरक्षा ऐन अक्षरस कार्यान्वयनको माग पनि गर्नुभएको छ ।
घटना बारेमा पत्रकार तथा अन्य पेशाकर्मीहरुलाई जानकारी गराँउदै आइसियू प्रमुख डा. विजय पौडेल र पीडित डा. न्यौपाने चश्मा नलगाई बसिरहेका ।

चिकित्सक हातपातको विरोध 

 नारायणगढ । नेपाल अर्बुद रोग निवारण संस्थाले हालै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४ वर्षीया वर्षा चन्दको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि गरेको हातपातको विरोध गरेको छ । क्यान्सरजस्तो संवेदनशील क्षेत्रको उपचारमा सम्लग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति अशोभनीय व्यवहार गर्दा पनि सुरक्षा निकाय मूकदर्शक भएर बस्ने गरेकाले स्वास्थ्यकर्मी बारम्बार यस्ता घटनाबाट पीडित भइरहेका छन् भन्दै संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर)ले यस किसिमका घटना हुन नदिन राज्यलाई स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन अपिल गरेको छ । रासस

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी