Wednesday, August 1, 2012

चितवनमा छ प्रतिशत विद्युत् चुहावट नियन्त्रण


भरतपुर । नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण अभियानलाई तीव्र बनाएपछि छ प्रतिशतभन्दा बढि चुहावट नियन्त्रण भएको छ । गत वर्षको असारमा ३२ प्रतिशतभन्दा बढी चुहावट रहेको केन्द्रमा गएको असार मसान्तसम्म आउँदा चुहावट घटेर २५.७२ प्रतिशतमा झरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा केन्द्रले गत कात्तिक २२ गतेदेखि चुहावट नियन्त्रण अभियान थालेको थियो । ठाउँअनुसार छिटोमा बिहान २ बजेदेखि सुरू गरिएको अभियानमा केन्द्रका उच्च अधिकारीसमेत सहभागी रहने हुँदा प्राधिकरणकै स्थानीय कर्मचारीको मिलेमतोमा मिटर नराखी विद्युत् चोरी गर्नेहरुलाईसमेत पक्राउ गरी कारबाही गरिएको छ ।
अभियानअन्तर्गत हालसम्म नौ सय जनाभन्दा बढीलाई पक्राउ गरी  कारबाही गरिएको केन्द्रका इन्जिनियर अवदेशकुमार गुप्ताले बताउनुभयो ।
जसमध्ये एक सय जना मिटरबाट चोरी गर्ने र अन्य हुकिङ गरी चोरी गर्ने रहेका छन् । उनीहरुमध्ये ३२ जनाको चोरीको लाइनबाट सञ्चालन गर्दै गरेका मोटरलगायतका सामग्रीसमेत बरामद गरिएको इन्जिनियर गुप्ताले बताउनुभयो । अभियान तीव्र बनाएपछि चुहावट घट्नुको साथै राजस्वसमेत बढेको छ । अभियानको क्रममा रु ६२ लाख ७० हजार ४७३ राजस्व सङ्कलन भएको केन्द्रले जनाएको छ ।
अघिल्ला वर्षहरूमा चुहावट नियन्त्रण गर्न जाने केन्द्रका कर्मचारीलाई स्थानीय बासिन्दाले लखेट्ने, दुव्र्यवहार गर्ने, गाडी फोर्नेसम्मका काम गर्ने गरेकोमा प्रहरीको साथ लिन थालेपछि सहज भएको कर्मचारीहरुको भनाइ छ । स्थानीयवासीको समेत सहयोग मिलेका कारण अभियान सफल भएको केन्द्रका प्रमुख उमेशकुमार झाले बताउनुभयो ।
यसैबीच अभियानअन्तर्गत बुधबार बिहान पश्चिम चितवनको गुञ्जनगर र दिव्यनगरमा छड्के चेकजाँच गरी ३४ जनालाई नियन्त्रणमा लिइएको केन्द्रका प्रवक्ता सुरेश पण्डितले बताउनुभयो ।


विद्युत् चोरी गर्ने ३४ पक्राउ     

भरतपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले चोरीको विद्युत् प्रयोग गर्ने ३४ जनालाई पक्राउ गरेको छ ।
पश्चिम चितवनको गुञ्जनगर बाट २० र दिव्यनगरबाट १४ जनालाई पक्राउ गरिएको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो । आज बिहान साढे ३ बजेदेखि नै अनुगमनमा निस्किएको प्राधिकरणको टोलीले एकथान पानी तान्ने मोटर र एकथान पंखा पनि बरामद गरेको छ ।
प्राधिकरणले विद्युत चुहावट नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको छ । अनुगमनका कारण चितवनमा विद्युत् चुहावटमा कमी आएको प्राधिकरणले जनाएको छ । अनुगमन टोलीमा जनपथ प्रहरी नौ, सशस्त्र प्रहरी २० र कर्मचारी २२ जना सहभागी थिए । यस्तै प्राधिकरणले समयमा नै विद्युत् महसुल नबुझाएका नारायणगढका १५ जना ग्राहकको लाइनसमेत काटेको छ ।
उता, लमजुङ सदरमुकाम बेसीसहरमा रहेको नेपाली सेनाको पशुपतिप्रसाद गणले विद्युत् चोरी गरेको खुलासा भएको छ । लमजुङ विद्युत् उपभोक्ता समितिका कर्मचारीले पशुपति गणले हुकिङ गरेर विद्युत् चोरी गरेको फेला पारेका हुन् । सेनाले हुकिङ गरेर विद्युत् चोरी गर्नुको साथै १५ एम्पिएरको एमसीबी राख्नु
पर्नेमा ६३ एम्पिएरको एमसीबी राखेर विद्युत चोरी गरेको लमजुङ विद्युत् उपभोक्ता संस्थाले आरोप लगाएको छ ।
पशुपतिप्रसाद गणले हुकिङ गर्नुको साथै एम्पिएर बढाएर लाइन चोरी गरेपछि लमजुङ विद्युत् उपभोक्ता संस्थाले विद्युत् लाइनसमेत काटिदिएको छ । चोरी गरेको बिगो बराबरको रकम सेनाले भुक्तानी गरेपछिमात्र लाइन जोडिने बताइएको छ । 
सरकारी निकायले विद्युत् चोरी गरेर लाइन काट्नु परेको लमजुङमा यो पहिलो घटना हो । विद्युत् चोरी गरेर लाइन काटिएको बारेमा नेपाली सेनाको पशुपतिप्रसाद गणका गणपति माधव थापा भने पटकपटक टेलिफोन गर्दा पनि सम्पर्कमा आउन चाहनु भएन ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी