मन्त्री बोगटी |
भरतपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले देवघाट क्षेत्रको विकासका लागि सरकारको सहयोग जारी रहने बताउनुभएको छ । देवघाट क्षेत्र विकास समितिको नवनिर्मित व्यावसायिक भवनको सोमबार बिहान उद्घाटन गर्दै मन्त्री बोगटीले धार्मिक क्षेत्रको विकासका लागि राजनीति भन्दामाथि उठेर काम गर्नु जरुरी रहेको बताउनुभयो ।
‘धार्मिक क्षेत्रहरु पुरातात्विक हिसाबले पनि मह¤वपूर्ण हुन्’, उहाँले भन्नुभयो, ‘धार्मिक क्षेत्र देशको धरोहर हो । यसको संरक्षणमा सबैको ध्यान पुग्न जरुरी छ ।’ देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तयारी भइरहेको पनि उहाँले जनाउनुभयो ।
‘देवघाट धार्मिकसँगै पर्यटकीय दृष्टिले पनि मह¤वपूर्ण छ । यसको संरक्षणमा लाग्न जरुरी छ’, उहाँले थप्नुभयो, ‘देवघाटजस्ता धार्मिक पर्यटकीय क्षेत्रहरुको संरक्षणका लागि सरकारले एकीकृत संरक्षण योजना ल्याउने तयारी गरिरहेको छ ।’
कार्यक्रममा राजनैतिक प्रसङ्ग जोड्दै उहाँले सहमति र सहकार्यविना राजनीतिक समस्या समाधान हुन नसक्ने दावी पनि गर्नुभयो । सहमतिका लागि सरकार गम्भीर भएर लागेको बताउँदै मन्त्री बोगटीले प्रतिपक्षीहरुलाई पनि गम्भीर हुन आग्रह गर्नुभयो ।
‘सबैलाई थाहा छ, सरकार वार्ता र सहमतिबाट समस्याको समाधान खोज्न चाहन्छ’, उहाँको भनाइ छ, ‘राष्ट्रिय सहमतिको सरकार बनाएर नयाँ निर्वाचनमा जान यो सरकार बाधक बन्दैन बरु सहयोग नै गर्छ ।’
प्रधानमन्त्रीले देशको चाबी अन्तै रहेको भनी दिनुभएको अभिव्यक्तिको पनि उहाँले बचावट गर्नुभयो । देवघाटमै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले देशमा वैदेशिक हस्तक्षेप बढेको दावी गर्नुभयो । ‘तपाईंहरु सबैलाई थाहै भएको कुरा हो कसकसले यहाँ के गरेका छन् । देशको चाबी कहाँ छ भन्नेमा’ संक्षिप्त कुराकानीका क्रममा उहाँले भन्नुभयो ।
देवघाट क्षेत्र विकास समितिको १६ कोठाको नवनिर्मित भवन २८ लाख रुपैयाँको लागतमा उपभोक्ता समितिबाट निर्माण गरिएको हो । भवन उद्घाटन कार्यक्रममा देवघाटस्थित वृद्धाश्रमलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।
सरकारले आर्थिक सहयोग कटौती गर्दै गएपछि क्षेत्र विकास समितिले वृद्धाश्रम सञ्चालनका लागि एक रुपैयाँदेखि एक करोड रकम सहयोग अभियान सञ्चालन गरेको थियो । सोही अभियानमा पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म सहयोग गर्ने ३५ जनालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमध्येमा समाजसेवी मैयादेवी श्रेष्ठ पनि पर्नुभएको छ । उहाँले वृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको थियो ।
समितिका अध्यक्ष खेम भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वअध्यक्ष डा. गुरूप्रसाद सुवेदी, भरतपुर नगरपालिका कार्यालयका अधिकृत टीकाराम कँडेल, निमित्त प्रजिअ रामराज सुवेदीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
No comments:
Post a Comment
Thanx for your comment