Monday, August 6, 2012

चोरीका घटनामा बालकहरुको संलग्नता बढ्दो


भरतपुर । चितवन जिल्लामा हुने चोरीका घटनामा परिवारबाट टाढा रहेका बालबालिकाको संलग्नता बढ्दै गएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको चोरीका घटनाका छ आरोपीमध्ये तीन जना बालक रहेका छन् । उनीहरुलाई प्रहरीले जिल्लाको खैरहनीबाट चोरीका सामानसहित पक्राउ गरेको थियो ।
यसरी पक्राउ पर्नेहरुमा खैरहनीका १४ वर्षीय राजन बाँनिया, १५ वर्षीय कृष्ण चौधरी र दीपेन्द्र अधिकारी रहेका छन् । बाँनिया र चौधरीबाट प्रहरीले होमटिभी रिसिभर एकथान, स्याटेलाइट रिसिभर एकथान, साउण्ड सिस्टम तीनथान र डीभीडी प्लेयर दुईथान बरामद गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । 
त्यस्तै प्रहरीले उनीहरुबाट पित्तलको फूलदानीसमेत बरामद गरेको उहाँले बताउनुभयो । यसैगरी अधिकारीबाट प्रहरीले मेमोरीकार्ड एडप्टर बरामद गरेको छ ।
त्यस्तै प्रहरीले खैरहनीबाट तीन जना बालकसँगै खैरहनीकै १८ वर्षीय सागर भुजेल, २४ वर्षीय प्रकाश विक, २३ वर्षीय दीपेन्द्र उपे्रती, ४० वर्षीय आइतमान तामाङ र ४९ वर्षीय छन्नु चौधरीलाई पनि चोेरीको सामानसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरु सबैलाई म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवि पौडेलले जानकारी दिनुभयो । 
‘पक्राउ परेका सबैलाई म्याद थप गरी कारबाहीअगाडि बढाएका छौं’, उहाँले भन्नुभयो, ‘बालकहरुको हकमा म्याद थप भएपनि बाहिरै राखेर कारबाही पक्रियाअगाडि बढाइने छ ।’ 
नेपालको कानुनमा आपराधिक गतिविधिमा संलग्न बालबालिकालाई बालअपराधको रुपमा लिएर कारबाही गर्ने प्रावधान रहेको छ । उनीहरुलाई पहिलोपटक माफी दिएर सुध्रने मौका दिएपनि उनीहरु पटकपटक यस्ता घटनामा संलग्न रहेको प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक खरेलले बताउनुभयो । उनीहरुलाई कारबाहीको दायरामा ल्याइने उहाँले जानकारी दिनुभयो । 
यसरी बालकहरु परिवारको मायाबाट वञ्चित हुँदा गलत बाटोमा लाग्ने गरेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । कतिपय बालकहरु गलत काम गर्नकै लागि घरबाट भाग्ने गरेको उहाँको भनाइ छ । विभिन्न आरोपमा प्रहरीले पक्राउ गरेका बालबालिकाहरुलाई जिल्लाका विभिन्न सुधारगृहमा पठाइने उहाँले बताउनुभयो । ‘उनीहरुमा परिवर्तन आओस् भनेर सुधारगृहमा पठाउने गरेका छौं’, उहाँले भन्नुभयो । 
प्रहरीले यो समूहबाट तीनथान ल्याप्टप, ह्याण्डी क्यामेरा, एलसीडी टिभी ग्यास सिलिण्डर चारथान, साइकल चारथान र रेडिमेड कपडाहरु बरामद गरेको छ । उनीहरुबाट मात्र तीन लाख ४० हजार ७०० रुपैयाँ बराबरको चोरीको सामग्री बरामद गरेको सो कार्यालयले जनाएको छ ।
यसरी बालकहरु नै आपराधिक गतिविधिमा संलग्न हुँदै जाने हो भने देशको भविष्य कतातर्फ जाला सोचनीय विषय हो । बालअधिकार र उनीहरुको पक्षमा काम गर्ने भन्दै खुलेका संघसंस्थाहरु उद्देश्य प्राप्तीमा समेत यो घटनाले प्रश्न खडा गरेको छ ।
यसबीच प्रहरीले सोमबारै जिल्लाका विभिन्न स्थानमा सुनका गहना चोरी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । यसरी सार्वजनिक भएकाहरुमा नवलपरासी जिल्ला गैँडाकोट वडा नं. ५ बस्ने ३७ वर्षीय गोविन्द केसी र भरतपुर गौरीगञ्ज बस्ने २४ वर्षीय प्रकाश विक रहेका छन् । 
उनीहरुबाट प्रहरीले दुईथान सुनको सिक्रीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । त्यस्तै उनीहरुले चोरीमा प्रयोग गरेको लु १२ प ११९७ नम्बरको निलो पल्सर मोटरसाइकल, खुुकुरी एकथान, मोबाइल तीनथान, मुखमा लगाउने मास्क दुईथान पनि प्रहरीले बरामद गरेको जनाएको छ । 
उनीहरुको साउन २० गते पिप्लेमा एक महिलाको सिक्री लुटेको तथा भण्डारा गाविस पम्फाखोलामा अर्की एक महिलाको सिक्री लुटेको प्रहरीको भनाइ छ । ‘उनीहरुले लुट्नेक्रममा मोटरसाइकलमा फरकफरक नम्बरको नक्कली स्टिकर प्रयोग गर्ने गरेका थिए’, प्रहरी नायव उपरीक्षक पौडेलले भन्नुभयो, ‘अहिलेसम्म आएका उजुरीका आधारमा सम्पूर्ण गहना चोरीका घटनामा उनीहरुको संलग्नता रहेको छ ।’
अभियुक्तहरुलाई सशस्त्र प्रहरी गढीमाई गणबाट खटिएको प्रहरी टोलीले मनहरी–१ कत्लेखोलाबाट शनिबार पक्राउ गरेको थियो । उनीहरुलाई जबरजस्ती चोरीको आरोपमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको पौडेलले जानकारी दिनुभएको छ । 


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी