Saturday, August 25, 2012

तीजमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दो

एकातिर सांस्कृतिक रुपान्तरणका कुरा अर्कातिर डिस्कोमा तीज 

विधुर ढकाल
भरतपुर । नेपाली महिलाहरुले मनाउने तीज पर्व आउन तीन हप्ता बाँकी छँदा चितवनमा तीजको रौनक छाएको छ । तीजमा पछिल्ला वर्षमा गीत र संस्कृतिका नाममा गलत संस्कृतिको विकास भइरहेको चर्चा चलिरहेका बेला  भरतपुरमा शनिबार यस्तै दृश्य देखियो ।
भरतपुरमा रहेको एक कटेजको हलमा महिलाहरु दर खाँदै ‘आऊ नाँचौ डिस्कोमा तीज’ भन्दै नाचिरहेका थिए भने अर्कातिर मौलिक संस्कृतिमाथि पश्चिमा संस्कृतिले प्रभाव परेको भन्दै सांस्कृतिक रुपान्तरणको आवश्यकता पनि आंैल्याइएको थियो ।
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवनले शारदा घरदैलो प्रतिभा प्रवाहको १०५ आँै श्रृङ्खलाको अवसरमा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा साँस्कृतिक रुपान्तरणको प्रश्न’ विषयक अन्तत्र्रिmयामा बोल्दै वरिष्ठ समालोचक निनु चापागार्इंले नेपालजस्ता विकाशील देशहरुमा उत्तराधुनिकवाद र औपनिवेशिकवादले संस्कृतिवादको विकास भएको बताउनुभयो ।
‘यसले सबै संस्कृतिलाई सही मान्दै आएको छ’, उहाँले भन्नुभयो, ‘जुन हामीले चाहेको संस्कृति सर्वहारा वर्गको संस्कृति होइन ।’ नेपाली मौलिक संस्कृतिमा विदेशी प्रभाव बढ्दै गएको उहाँको भनाइ थियो ।
नेपालीका हरेक चाड र पर्वहरुमा यस्तै विकृतिहरु भित्रिएको उहाँको भनाइ थियो । राज्य रहुन्जेल सांस्कृतिक स्वतन्त्रता सम्भव नभएको उहाँले बताउनुभयो । ‘राज्य हुँदासम्म शासकको अधीनमा संस्कृति निर्धारण हुन्छ’, ‘राज्यहीन संस्कृतिमा मात्र साँस्कृतिक स्वतन्त्रता सम्भव छ ।
कार्यक्रममा बोल्दै समालोचक डीआर पोख्रेलले आफ्नो संस्कृतिअनुसार मानिसहरुले समाजका वास्तविक नायक मान्ने गरेको बताउनुभयो । ‘हिन्दू संस्कृतिमा विष्णु, कृष्ण, शिवलाई नायकको रुपमा मान्छन्, त्यस्तै अन्य धर्ममा पनि उनीहरुका आफ्नै नायकहरु छन्’, उहाँले भन्नुभयो, ‘तर सर्वहारावर्गका नायक भनेका माक्र्स, लेनिन, माओ, चे आदि हुन् ।’
नेपाली मौलिक संस्कृतिमा विदेशी आयातित संस्कृतिले प्रभाव जमाउँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘हाम्रा चेलीहरु अहिले दरखाने भन्दै आउनुभएको छ’, सोही स्थानमा भएको अर्काे कार्यक्रममा सहभागी हुन आएका महिलालाई लक्षित गर्दै पोख्रेलले भन्नुभयो, ‘नेपाली वास्तविक पहिचानहरु गुम्दै गएका छन् ।’
सबैभन्दा बढी लोकप्रिय आयातित संस्कृति भएको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो । कार्यक्रममा एनेकपा माओवदीका महाधिवेशन आयोजक समितिका सदस्य घनश्याम दाहाल, चितवन साहित्य संगमका अध्यक्ष मोदनाथ मरहठ्ठा, अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य इन्द्र रेग्मी, सहआयोजक धनञ्जय शर्मा ढकाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रम महासंघका चितवन अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा भएको थियो ।
अर्कातिर, तीजको दर खाने कार्यक्रममा सहभागी महिलाहरु भने समयअनुसारका गीत आवश्यक भएको बताए । आजभोलिका गीतमा केही छाडा प्रवृत्ति भित्रिएको भएपनि यसलाई समयानुसार परिवर्तन गर्नुपर्ने उनीहरुको भनाइ थियो ।
सामाजिक सेवा सामुदायीक केन्द्र भरतपुरले आयोजना गरेको कार्यक्रममा सहभागी महिलाहरु पुराना लोक तीजी भाकाहरुमा नभई अहिले चलेका तीजका गीतहरुमा नाचेका थिए ।
‘खै पुराना तीजका गीतहरु हामीले सुन्न नै छाड्यौ, जस्ता गीत आउँछन् त्यस्तैमा नाच्ने न हो’, सहभागी एक महिलाले नाम नबताउने सर्तमा भनिन् । तीजको अघिल्लो दिन राति दरखाने चलन रही आएपनि आजभोलि महिनैभरि दरखाने कार्यक्रम आयोजना गरिन थालेको छ ।
यसरी लोक संस्कृतिमाथि गलत प्रवृत्तिहरु हावी हुँदै जाने हो भने हाम्रा मौलिक संस्कृतिहरु हाम्रा सन्ततीहरुले कथाका रुपमा किताबमा पढ्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी