Monday, August 27, 2012

शब्दमा रमाउँदै सिक्छन् बालबालिका

कावासोती । कक्षा कोठाको टेबुलमा किताब छ, कोठामा हरियो कार्पेटमाथि बिछ्याइएको कुसन, अनि त्यसमा बसेका छन् विद्यार्थीहरु । कक्षा कोठाको अगाडि रहेको पाटी (सिलोट) र शैक्षिक सामग्रीसहित समूहमा हौसिँदै शब्दपत्तिमा लेखिएको शब्द र चित्रसँग रमाउँछन् उनीहरु ।
नेपाली शब्द होस् वा अङ्ग्रेजी शब्द दुबै सिकाइको माध्यम बनेको छ शब्दपत्ति । शब्दपत्तिमा शब्द मिलाउने बित्तिक्कै खुसी हुन्छन् विद्यार्थीहरु । शब्द मिल्ने बित्तिकै आफू पहिलो भएको जनाउका लागि चिच्याउँछन् विद्यार्थी, अनि शिक्षिकाले राम्रो भनेपछि नयाँ काममा तम्सिन्छन् उनीहरु ।
बालकेन्द्रित शिक्षणविधि अवलम्बन गरेको नवदुर्गा निम्न माध्यमिक विद्यालय, शिवमन्दिरका बालबालिका विद्यालय जान जति हतार गर्छन् घर जान भने त्यत्ति हतार गर्दैनन् कारण हो उनीहरुका लागि रमाउने थलो विद्यालय बन्नु ।
‘पुरानो शैलीमा विद्यार्थीलाई थर्काएर पढाउनु हँुदैन भन्ने लागेर हामीले बालकेन्द्रित शिक्षणविधि अपनाएका हौं’, सो विद्यालयका प्रधानाध्यापक कृष्ण सिग्देलले भन्नुभयो । विद्यालयले विसं २०६४ देखि अङ्ग्रेजी माध्यममा पढाइ थालेको र त्यसले अभिभावकको मन जितेको छ भने विद्यालयको बालमैत्री वातावरणले विद्यार्थी उत्साहित भएको उहाँ बताउनुहुन्छ ।
गाउँपिच्छे सामुदायिक विद्यालय र निजी विद्यालय भएको सो स्थानमा कतिपय विद्यालयमा प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थी नभएको अवस्थामा सो विद्यालयमा भने प्रत्येक कक्षामा ४० जनाको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । विद्यालयले आफ्नो भौतिक अवस्था सुधारका लागि चार कठ्ठा जग्गामा बेसारखेती गरेको छ भने घाँस बिक्रीबाट समेत आम्दानी गर्ने गरेको छ ।
विद्यालयमा शिक्षकले लट्ठी लिएर पढाउने चलन हराइसकेको छ । शिक्षकले चकको सट्टा मार्कर प्रयोग गर्छन् । धेरैजसो शिक्षक तालिमप्राप्त भएकाले पनि बालकेन्द्रित शिक्षणविधि प्रयोग गर्न सकिएको सो विद्यालयका शिक्षक टीकाराम डुम्रेले बताउनुभयो ।
‘विद्यार्थीलाई घोकाएर सिकाउँदा, भन्दा र समूहमा सिकाउँदा फरक पाएका छौं, बालबालिकालाई सबभन्दा ठूलो कुरा शैक्षिक वातावरण नै चाहिने रहेछ भन्ने पाठ सिकेका छौं’, उहाँले भन्नुभयो ।
विजय विकास स्रोत केन्द्र (भीडीआरसी) गैँडाकोट र रुम टु रिडले सो विद्यालयका लागि शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै शिक्षक शिक्षिकालाई पनि सोहीअनुसारको ज्ञान दिने गरेका छन् । जिल्ला शिक्षा कार्यालय, नवलपरासीले उपलब्ध गराउने मसलन्दले मात्र विद्यालय सञ्चालन सम्भव नहुने प्रधानाध्यापक सिग्देलले बताउनुभयो ।
साथै प्रत्येक महिना विद्यालयमा अभिभावक र शिक्षकहरुबीच बैठक गरी विद्यार्थीका कमीकमजोरीबारे सम्बन्धित अभिभावकलाई जानकारी गराउने र अभिभावकले पनि आफ्ना छोराछोरीले घरमा गर्ने क्रियाकलापबारे जानकारी गराइ छलफल गर्ने गरिएको अभिभावक सोमनाथ न्यौपानेले बताउनुभयो ।
‘सरहरुले विद्यार्थीलाई नबुझेको कुरा दोहो¥याएर सोधीसोधी सिकाउनुहुन्छ’, कक्षा–६ की सीता न्यौपानेले भनिन् । आठ कक्षासम्म पढाइ हुने सो विद्यालयमा प्राथमिक तहको चार शिक्षकको दरबन्दी छ । सरकारीस्तरबाट निम्न माविमा दुई राहत र प्राविमा एक राहत शिक्षक छन् भने अन्य शिक्षक निजी स्रोतबाट राखिएका छन् ।
‘विद्यालयमा हामी आउन थालेपछि आफ्ना छोराछोरीको व्यवहार नै फेरिएको पाएँ, अर्का अभिभावक माया भट्टराईले भनिन्, ‘घरमा झगडा गर्ने बानी कम भएको छ, सकेको काम आफैँ गर्छन् र केही कुरामा हामीलाई नै सम्झाउँछन्, बोर्डिङ पढाउन सकिएन भन्ने थियो, अहिले त खुसी छु ।’


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी