Tuesday, August 7, 2012

अदुवाको मूल्यमा गिरावट ः किसान चिन्तित

भरतपुर । नवलपरासी जिल्लामा व्यावसायिक रुपमा अदुवाखेती गर्ने किसानहरु यस वर्ष अदुवाको मूल्यमा गिरावट आएपछि चिन्तित भएका छन् । गत वर्ष अदुवा प्रतिधार्र्नी एक सय र सुठो पाँच सय रुपैयाँमा बिक्री भएकोमा यस वर्ष प्रतिधार्नी ३० र सुठो १५० मूल्य कायम भएपछि अदुवा कृषकहरु ठूलो मर्कामा परेका हुन् ।
जिल्लाका पहाडी १७ वटा गाउँ विकास समितिका किसानहरुले उत्पादन गरेको अदुवाको मूल्यमा आएको ठूलो गिरावटका कारण धेरै कृषक यो खेतीबाट पलायन हुने अवस्था आएको डाँडाझेरीका कृषक रेखबहादुर पुलामी मगरले बताए ।
व्यावसायिक अदुवाखेती गर्दै आएका डाँडाझेरी, बुलिङटार, नरम, रतनपुर, अर्खाला, भारतीपुर, रकुवा, मिथकरम, देउराली, धौबादी, हुप्सेकोट, मैनाघाट, जौबारीका किसानहरुले अदुवाको मूल्यमा आएको कमीका कारण घरमै अदुवा र सुठो कुहिने अवास्थामा पुगेको कृषक प्रेमसिंह लुगेलीमगरले जानकारी दिए ।
गत वर्षहरुको तुलनामा यसवर्ष अदुवा र सुठोको मूल्यमा आएको गिरावटले यस वर्ष नवलपरासीमा मात्र अदुवाबाट १५ करोड बढी घाटा हुने जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जनाएको छ । नवलपरासीको वार्षिक ३० करोडसम्मको अदुवा र अदुवाको सुठोबाहिर निकासी हुने गर्दछ ।
पहाडी गाउँ विकास समितिमा उत्पादन भएको अदुवा व्यापारीहरुले खरिद गरी भारत लैजाने गर्दछन् । नगदेबालीको रुपमा रहेको अदुवाखेती गर्ने नवलपरासीमा तीन हजार किसानहरु रहेको कृषि विकास कार्यालय नवलपरासीले जनाएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी