होमनाथ सापकोटा
कविलास । चितवनको पहाडी गाविस कविलासको डुम्रेबेसी गाउँमा एक हप्ता अघिदेखि छुट्टै रौनक छाएको छ । वर्षांैदेखि मकै र कोदो रोप्ने गरिएको पाखोबारीमा धान रोप्न पाएपछि गाउँमै रौनक छाएको हो ।सिंचाईको चरम अभाव तथा पहाडी क्षेत्र भएकाले धान रोप्न पाउने कल्पना नै नगरेका डुम्रेबेसीवासी अहिले धान रोप्न पाउँदा हर्षितसमेत भएका छन् । चितवनको पहाडी गाविस कविलासको वडा नम्वर–६ स्थित डुम्रेबेसीमा यस पटक सिंचाई सुविधा पुगेपछि घान रोपाइँ भएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट ४५ मिनेटको उकालो हिडाइँपछि पुगिने डुम्रेबेसीमा चार घर चेपाङसहित १४ घरपरिवारको बसोवास रहेको छ । वर्षाैंसम्म पाखोबारीमा उब्जिएको कोदो र मकैले छाक टार्दै आएका स्थानीयवासीहरु गाउँमा सिंचाई सुविधा पुगेपछि पाखोबारीलाई खेत बनाएर घान रोप्न पाएकोमा खुसी भएका हुन् ।
सिंचाई पुगेकाले डुम्रेबेसीवासीहरु आफ्नो पाखोबारी सम्याएर खेत रोप्न व्यस्त भएका छन् । ‘डुम्रेबेसीमा सिंचाई सुविधा नभएकोले मकै र कोदोमात्र उत्पादन हुने हँुदा चार्डपर्व मनाउँदा होस् या घरमा परपाहुना आउँदा चामल बेसाउन बजार जान पथ्र्यो’, खेत रोप्न पाएकोमा खुसी व्यक्त गर्दै स्थानीय किसान पदमबहादुर गुरुङले बताउनुभयो ।
गाउँबाट झण्डै तीन किलोमिटरको दूरीमा रहेको आ“धीखोलाबाट चार इन्चको पाइप प्रयोग गरी रिजर्भ ट्याङ्कीमार्फत स्थानीयवासीको बारीसम्म पु¥याइ सिंचाई गरेर खेत रोपिएको कविलास गाविसका सचिव प्रद्युम्नकुमार खड्काले जानकारी दिनुभयो ।
चेपाङ र त्यस क्षेत्रमा बसोवास गर्नेहरुको जीविकोपार्जनको लागि सहज बनाउन सम्भव नै नभएको ठाउ“मा लगातारको प्रयासपछि पानी पु¥याइएको उहा“ले बताउनुभयो । यसलाई कसरी दीर्घकालीन बनाउन सकिन्छ भन्ने विषयमा पनि जिल्लास्तरमा छलफल भइरहेको गाविस सचिव खडकाको भनाइ छ ।
जिल्ला विकास समितिको १७ लाख रुपैयाँको सहयोगमा सो ठाउँमा पाइपलाइन बिस्तार र रिजर्भर ट्याङ्की निर्माण गरिएको गाविस सचिव खड्काले जानकारी दिनुभयो । सो कार्य गत वर्ष नै सम्पन्न गरिएको भएपनि सो क्षेत्रका वासिन्दाले यस पटकबाट घान रोपेका हुन् ।
गाउँका सबैले धान रोपिसकेपछि तरकारीखेती गर्ने योजनामा रहेको र केही किसानले तरकारीलगायत अन्य नगदेबाली लगाउन सुरू गरिसकेको सचिव खड्काले जानकारी दिनुभयो । रिजर्भ ट्याङ्कीमार्फत सिंचाई गर्ने योजना दीर्घकालीन नहुने भएकाले नहर बनाएर त्यस क्षेत्रमा पानी पु¥याउने व्यवस्था मिलाउन स्थानीयले सरकारी निकायसँग आग्रह गरेका छन् ।
पहाडी क्षेत्रमा चितवनको कुल खेतीयोग्य जमिनको १५ प्रतिशत जग्गामा मात्र रोपाइँ हुने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
No comments:
Post a Comment
Thanx for your comment