Friday, August 24, 2012

हस्तान्तरण प्रक्रियाको लागि पत्राचार

खानेपानी विवाद   

 भरतपुर । नेपाल खानेपानी संस्थान भरतपुर शाखामा तालाबन्दी भइरहेका बेला संस्थानले हस्तान्तरण प्रक्रिया अगाडि बढाउन सहरी विकास मन्त्रालयलाई पत्र लेखेको छ । संस्थानका निमित्त महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले मन्त्रालयलाई पत्र लेखी प्रक्रिया मिलाएर हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।
संस्थानले महसुल संकलन गर्न नपाउने तथा नयाँ धारा जडान गर्न नपाउने निर्णय भएपनि अटेर गरेको भन्दै भरतपुर खानेपानी बोर्डले बुधबार संस्थानको महसुल काउन्टर, लेखा शाखा र कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
संस्थानले लेखेको पत्रमा केन्द्रीय कार्यालयले पटकपटक मन्त्रालयलाई प्रक्रिया मिलाउन आग्रह गर्दासमेत चासो नदेखाएका कारण समस्या उत्पन्न भएको जनाइएको छ ।
नेपाल सरकारको सचिवस्तरीय बैठकले गरेको निर्णयअनुसार संस्थानको केन्द्रीय कार्यालयले मन्त्रालयलाई पठाएको पत्रको कुनै निर्देशन नआएको तथा भरतपुर शाखाबाट हस्तान्तरण प्रक्रिया अगाडि बढिरहेको पत्रमा उल्लेख छ । यसैबीच संस्थानमा गरिएको तालाबन्दीप्रति विरोध जनाइएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन इकाइ समिति, नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति, खानेपानी संस्थान कर्मचारी संगठन इकाइ समिति र नेपाल खानेपानी संस्थान कर्मचारी परिषद् इकाइ समितिले संयुक्त विज्ञप्ति जारी गरी तालबन्दीको विरोध गरेका हुन् ।
संस्थानलाई खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गराउन तथाकथित दबाबमूलक कार्यक्रमको बाहनामा दादागिरीशैलीमा संस्थाको सम्पत्तिमाथि कब्जा जमाउने नियतले संस्थानको कार्यालय प्रमुख, लेखा प्रमुख कक्ष र महसुल शाखामा ताला लगाइएको भन्दै विरोध जनाइएको हो ।
ती कर्मचारी संगठनहरुले संस्थानको कार्यालयमा गरिएको तालाबन्दी खोली अनधिकृत रुपले टाँस गरिएको खानेपानी व्यवस्थापनको बोर्ड हटाउन संस्थानका सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, राजनैतिक दल र नागरिक समाजसमक्ष माग गरेका छन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी