Monday, August 13, 2012

मलाई भारतको समर्थन छ ः ओली

भरतपुर । भावि प्रधानमन्त्रीको दावेदार भएको बताउँदै एमालेका प्रभावशाली नेता केपी ओलीले आफूलाई भारतको समर्थन रहेको बताउनुभएको छ । सोमबार भरतपुरमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री बन्न भारतको समर्थन चाहिने भन्दै पत्रकारले सोधेको एक जिज्ञासमा केही समयअगाडि भारत भ्रमणबाट फर्किएका ओलीले भारत आफ्नो विरोधमा नरहेको बताउनुभयो । ‘मैले भारतसँग त्यस्तो कुनै अपेक्षा राखिनँ तरपनि उनीहरु मेरो विपक्षमा भने छैनन्’, उहाँले भन्नुभयो ।
अबको प्रधानमन्त्री तपाईं नै हो ? भन्ने पत्रकारहरुको जिज्ञासामा पछाडिको प्रश्नवाचक चिन्हको कुनै आवश्यकता नरहेको बताउनुभयो । ‘तपाईंले ठ्याक्कै भन्नुभयो, त्यो पछाडिको प्रश्नवाचक चिन्हले केही अर्थ राख्दैन’, ठट्यौली पारामा उहाँले भन्नुभयो, ‘त्यसलाई निकाल्दा हुन्छ ।’
आफू प्रधानमन्त्री भइसकेपछि वर्तमानमा जस्तो राजनीतिक संकट नरहने उहाँले दावी गर्नुभयो । ‘विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारको राम्रो प्रबन्ध मिलाउने छु’, नेता ओलीले भन्नुभयो, ‘अझ भनौँ वर्तमानमा रहेको राजनीतिक संकट मेरो पालामा आउने छैन ।’
एक अर्काे प्रसंगमा वर्तमान सरकारको राजीनामा माग्नु जायज नभएको उहाँको तर्क थियो । ‘वर्तमान सरकार कामचलाउ सरकार हो, यसको राजीनामा माग्नु उचित छैन’, ओलीले भन्नुभयो, ‘राष्ट्रिय सहमतिको सरकार निर्माण गरी यसलाई विस्तापित गर्ने हो ।’
दलहरुबीच राजनीतिक सहमति आवश्यक रहेको भन्दै राजनीतिक सहमतिपछिको सरकारले नै बाबुराम भट्टराई सरकारलाई विस्तापित गर्ने उहाँको भनाइ थियो । माओवादीकै कारणले संविधानसभा विघटन भएकोसमेत उहाँको आरोप थियो ।
‘माओवादीले सत्ता कब्जा गर्ने दाउमा संविधानसभाको विघटन गराएको हो, अहिले पनि सत्ता कब्जा गर्ने सोचका कारण सहमति गर्न चाहेको छैन’, उहाँले भन्नुभयो । सरकारले संविधानसभाको निर्वाचन गराउने भनिरहेका बेला संविधानसभाको काम गर्ने गरी संसदको निर्वाचन गराउनुपर्ने उहाँले बताउनुभयो ।
एमालेका केही नेताहरुले संविधानसभालाई केही समयका लागि भएपनि पुनस्र्थापना गनुपर्ने भनिरहेका बेला त्यसको औचित्य नभएको उहाँको भनाइ थियो । ‘फेरि पहिलेकै असफतालाई दोहो¥याउन हुँदैन, चार÷पाँच वर्षको समयसीमा तोकेर संसदको निर्वाचन गर्नुपर्दछ’, उहाँले भन्नुभयो । त्यस्तो भए संसदले संविधान जारी गर्न नसकेपनि संवैधानिक संकट नहुने उहाँले जिकिर गर्नुभयो ।
यसैबीच नेता ओलीले एमालेको सरकारले मात्र मुलुकमा जारी संकट अन्त्य गर्ने दावी गर्नुभएको छ । काँग्रेसले सरकारको नेतृत्व गर्ने चर्चा चलिरहेका बेला नेकपा एमाले रत्ननगरले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले काँग्रेसले मुलुकको नेतृत्व गर्न नसक्ने बताउनुभयो ।
‘हामीले दिने भनेकै छौं तर काँग्रेसले सक्ने अवस्था छैन’, ओलीले भन्नुभयो । माओवादी असफल र काँग्रेस सिथिल भइसकेको भन्दै ओलीले सरकारको नेतृत्व गर्न सक्ने एकमात्र शक्ति एमाले नै रहेको बताउनुभयो ।
पार्टी कार्यकर्तालाई एकताबद्ध भएर संगठन निर्माणमा लाग्न आग्रह गर्दै नेता ओलीले  आफ्नोमात्र मूल्याङ्कन गर्ने होइन, अरुको पनि मूल्याङ्कन गर्न आग्रह गर्नुभयो ।
यसैबीच नेता ओली नेकपा एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा पार्टी कार्यकर्ता भेटघाटमा सरिक हुनुभएको थियो । सो अवसरमा बोल्दै नेता ओलीले नेकपा एमाओवादीले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै ऊ कहिले पनि सफल नहुने दावी गर्नुभयो ।
इतिहासमा तानाशाहहरु जनआन्दोलनबाट फालिएको भन्दै नेता ओलीले कसैले तानाशाही लाद्न खोजे आन्दोलनबाटै फालिने चेतावनी दिनुभएको थियो ।








No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी