Monday, August 13, 2012

गुटबन्दी गर्नेलाई कारबाही गर्छु ः शुशील

गैँडाकोट । माओवादी अध्यक्ष प्रचण्डलाई सरकार बनाउने ठेकेदार हो ? भनी अघिल्लो दिनमात्रै नारायणगढमा प्रश्न गर्दै चर्काे आलोचना गरेका नेपाली काँग्रेसका सभापति शुशील कोइरालाले दोस्रो दिन गैँडाकोटमा आफ्नै पार्टीभित्र बढ्दै गएको गुटबन्दीमा नलाग्न चेतावनी दिनुभएको छ । 
नेपाली काँग्रेस गाउँ समिति गैँडाकोटमा सोमबार भवन शिलान्यास कार्यक्रममा बोल्दै सभापति कोइरालाले पार्टीभित्र हुर्कदै गएको गुट उपगुटले पार्टी कमजोर बनाएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले त्यसको अन्त्य गराउन कार्यकर्ताहरुलाई आग्रहसमेत गर्नुभयो ।
‘अहिले सबैले पार्टी मिल्नु पर्छ, पार्टी मिल्नु पर्छमात्रै भन्छन् तर अहिले कसले नमिल्ने कुरा गरेको छ र, त्यो सबैले बुझ्नु पर्छ’, कार्यक्रममा निकै आक्रामक भएका कोइरालाले चेतावनी दिँदै भन्नुभयो, ‘पार्टीभित्र गुट उपगुट बढ्दै गएको छ । अब त्यो गुट उपगुटको अन्त्य नगर्नेलाई कारबाही गर्नुपर्ने आवश्यकता पनि हुन सक्छ ।’
‘पार्टीभित्र कसले पार्टी विधानविपरीत काम गरेको छ, को ठीक र को बेठीक भन्ने बारेमा पनि तपाईंहरुले भन्नुपर्छ’, कार्यकर्ताहरुसँग आग्रह गर्दै कोइरालाले भन्नुभयो, ‘पार्टी हितविपरीत गुट उपगुट बनाउनेलाई कार्यकर्ताले ठीक पार्नुपर्छ ।’
काँग्रेसका विभागका प्रमुखहरु नियुक्तिका विषयमा काँग्रेसभित्र किचलो भइरहेको र वरिष्ठ नेता शेरबहादुर देउवानिकट मानिएका पदाधिकारीहरुले असहयोग गरेपछि कोइरालाको यस्तो अभिव्यक्ति बाहिर आएको हो । उहाँले पार्टी विधान र हितविपरीत काम गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिनुभयो ।
‘विधानविपरीत काम गर्नेलाई कारबाही नगरी धेरै पर्खियो, उहाँको चेतावनी थियो, ‘अहिले अन्य दलसँग सहमतिका कुरा गर्नेबेला आफूभित्रै विवाद रहनु राम्रो हैन, पार्टी विधानअनुसार सबै चल्नुपर्छ ।’
आइतबारमात्रै नेपाल प्रेस युनियन चितवनको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डको चर्को आलोचना गरेका कोइरालाले यो कार्यक्रममा माओवादीलाई  आफ्नो धरातल नर्बिसन चेतावनी दिन पनि पछि पर्नु भएन । माओवादीले आफ्नो धरातल बिर्सिए आफैँ पतन हुने उहाँको दावी छ ।
‘कांग्रेसलाई कसैले परास्त सक्दैन । नत हिजो राणाहरुले परास्त गरे, न पञ्चहरुले नै, ज्ञानेन्द्रका पालामा पनि काँग्रेस झुकेन, लोकतन्त्रका रक्षाका लागि कहिलै पनि झुक्नेबाला छैन । लोकतन्त्रविरुद्ध उत्रनेहरु आफैँ परास्त हुनेछन् ।’
यसअघि कोइरालाले नेपाली काँग्रेस गाउँ समिति गैँडाकोटको पार्टी कार्यालय भवनको एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो ।
झन्डै एक करोड ३१ लाख रुपैयाँ लागत लाग्ने बताइएको सो भवन नौ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । काँग्रेसको पार्टी कार्यालय भवनहरुमध्ये देशकै नमुना भवन बनाउने काँग्रेस गैँडाकोट गाउँ कमिटीले जनाएको छ । भवन चार तलाको हुनेछ ।
काँग्रेसका गाउँ सभापति तारापति खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तरुण दलका अध्यक्ष उदयशम्सेर राणाले सरकारविरुद्ध लाग्न तरुण दलका कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
काँग्रेस नेता डा. शशांक कोइरालासहित झण्डै एक दर्जन नेताहरु सहभागी रहे पनि कार्यक्रममा कोही पनि बोल्नुभएन । सोही अवसरमा ठूलो संख्यामा अन्य राजनैतिक दलका कार्यकर्ताहरुलाई काँग्रेसमा प्रवेश गराइएको थियो ।
गैँडाकोट गाउँ समितिका सचिव दताराम घिमिरेका अनुसार कार्यक्रममा एक हजार ६०० जना अन्य पार्टीका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा पार्टी कार्यालय भवन निर्माणका लागि सहयोग गर्ने चन्दा दाताहरुलाई पनि सम्मान गरिएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी