Monday, August 20, 2012

चेपाङ विद्यार्थीलाई छात्रवृत्ति

हेटौँडा । मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने निम्न माध्यमिक, माध्यमिक एवम् उच्च मावि नियमित अध्ययन गर्ने पिछडिएका चेपाङ समुदायका ४०० जनालाई वार्षिक छात्रवृत्तिबापत रु तीन लाख ४९ हजार ८०० वितरण गरिएको मकवानपुर जिविसले जनाएको छ ।
प्रजा विकास कार्यक्रमअन्तर्गत आव २०६८÷०६९ मा कक्षा ८ तर्फ जनही रु ७५०, कक्षा ९ तर्फ रु ८००, कक्षा १० तर्फ रु १००० चेपाङ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । यसैगरी उच्च माविको कक्षा ११ तर्फ जनही रु तीन हजार २०० र कक्षा १२ तर्फ रु तीन हजार ८०० रकम चेपाङ छात्रछात्रालाई उपलब्ध गराइएको थियो ।
जिल्लाको निम्न माध्यमिक, माध्यमिक तहमा ३५० जना एवम् उच्च माविमा ५० जना चेपाङ छात्रछात्रा अध्ययनरत रहेको प्रजा विकास कार्यक्रम मकवानपुरले जनाएको छ ।
यसैगरी जिल्लाका पश्चिम भेगका प्राथमिक विद्यालयको कक्षा १ देखि कक्षा ५ का गरी ५०० चेपाङ विद्यार्थीलाई विद्यालय पोशाक ५०० जोर एवम् शैक्षिक सामग्री ५०० सेट जिविस मकवानपुरका तर्फबाट निःशुल्क वितरण गरिएको प्रजा विकास कार्यक्रम मकवानपुरका प्रमुख राजाराम थापाले बताउनुभयो ।
स्थानीय मनहरि गाविस–३ ज्यामिरेमा जिविस मकवानपुरको अनुदान रु दुई लाख ३० हजारको लागतमा चेपाङ सङ्घको भवन निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी