Friday, August 17, 2012

‘हाम्रो आन्दोलनको मिति बाबुरामले तोक्ने हैन’

नारायणगढ । काँग्रेस–एमालेलगायतका विपक्षी दलहरुले गर्ने भनेको आन्दोलनको मिति बाबुराम भट्टराईले तोक्न नसक्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले बताउनुभएको छ । शुक्रबार नारायणगढमा नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले समय अनुकूलता हेरेर आन्दोलन गरिनेसमेत बताउनुभयो । ‘कुन मितिमा आन्दोलन गर्दा हामीलाई ठीक लाग्छ त्यही मितिमा आन्दोलन गरिन्छ’, उहाँले भन्नुभयो, ‘हामीले सरकारले भनेको समयमा आन्दोलन गर्ने होइन ।’ बाबुराम भट्टराईलाई सरकारमा बसिरहने नैतिकता नै नभएको उहाँको भनाइ थियो । ‘वर्तमान सरकारसँग सरकार चलाउने हैसियत नै छैन’, नेता महतले भन्नुभयो, ‘प्रधानमन्त्री हुन संसदको सदस्य हुनुपर्दछ, संसद नै नभएको अवस्थामा उनी काम चलाउन भइसके ।’
राजनीतिक निकासका लागि राष्ट्रिपतिले कदम चाल्नुपर्ने समेत उहाँले बताउनुभयो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका महतले राज्यको कार्यकारिणी अधिकार संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिमा रहेको बताउनुभयो ।
‘राष्ट्रपति सँग कार्यकारिणी अधिकार छ उहाँले नै सबै दललाई सहमतिय सरकारको नेतृत्व दिन आग्रह गर्नु पर्छ’, उहाँले भन्नुभयो, राष्ट्रपति यो पहिले नै यो पहल थाल्नुपथ्र्याे ।’ यसो भन्दै गर्दा राष्ट्रपतिले अधिनायकवाद लाद्नुपर्छ भन्ने पक्षमा काँग्रेस नरहेको डा. महतको भनाइ थियो ।
माओवादीले देशमा अधिनायकवाद लाद्न चाहेको उहाँले आरोप लगाउनुभयो । ‘जेठ १४ गते राति जुन संविधानसभालाई भङ्ग गरे, त्यो उनीहरुको अधिनायकवाद लाद्ने कदम थियो’, महतले भन्नुभयो, काँग्रेस–एमालेले विरोध  गरेपछि अहिले उनीहरु बिचल्लीमा परेका छन् ।’ त्यसैको परिणमस्वरुप संविधनसभा पुनस्र्थापनाका कुरा आएको उहाँको भनाइ थियो ।
प्रचण्डले सहमतिको बाधक सुशील कोइराला भन्ने अभिव्यक्ति दिएको भोलिपल्ट महतले सहमतिमा लेनदेन हुने भन्दै प्रचण्डले भनेको मान्नु सहमति नभएको बताउनुभयो । राष्ट्रलाई घात गरेर काँग्रेसले कसैसँग पनि सहमति नगर्ने उहाँको भनाइ थियो ।
एक अर्काे प्रसंगमा काँग्रेस संघीयताविरोधी नभएको उहाँले स्पष्टोक्ति दिनुभयो । ‘हामी कसरी संघीयताविरोधी भयाँै, हाम्रै पालामा देश संघीयतामा गएको हो, हाम्रै पालामा देश गणतन्त्रमा गएको हो’, काँग्रेस नेता महतले भन्नुभयो ।
माओवादीले एकल जातीय पहिचानको कुरा लिएर संघीयतालाई असफल पार्न खोजेको आरोप उहाँले लगाउनुभयो । ‘एकल जातीय पहिचानका आधारमा संघीयता सफल हुन सक्दैन र यसलाई राज्यले पनि थेग्न सक्दैन’, उहाँले भन्नुभयो, ‘माओवादीले एकल जातीय पहिचान भनेर संघीयतासँगै गणतन्त्रलाई समेत धरापमा पार्न खोजेको छ ।’
माओवादीका अभिव्यक्तिहरु स्थिर नभएको समेत उहाँको आरोप थियो । ‘प्रचण्ड र बाबुराम दर्शक हेरेर बोल्नुहुन्छ, उहाँहरुको बोलीमा कुनै निश्चितता छैन ।’ माओवादीले अन्य पार्टीलाई फुटाउने खेल खेल्ने गरेको समेत उहाँले आरोप लगाउनुभयो । ‘जब प्रधानमन्त्री गिरिजा हुनुहुन्थ्यो, तब उनीहरु उहाँलाई हिटलर भन्थे र देउवालाई काखी च्याप्थे, अनी देउवा प्रधानमन्त्री भएपछि कोइरालालाई प्रयोग गर्न चाहे’, महतले भन्नुभयो, ‘गिरिजा बाबुकै बुइँ चढेर उनीहरु बैतर्नी तरेका हुन् ।’
अहिले काँग्रेसमा देखिएको समस्या भने आन्तरिक भएको उहाँले बताउनुभयो । उनीहरुले हामीलाई फुटाउन त चाहेका छन् तरपनि अहिलेको समस्या भनेको हाम्रो आन्तरिक समस्या हो, यो केही दिनभित्रमा नै समाधान हुन्छ ।’, उहाँले भन्नुभयो । काँग्रेसका नेतालाई मात्र मुद्दा हालेर अख्तियारले पूर्वाग्रही देखाएको उहाँको आरोप थियो ।
‘अन्य पार्टीका नेताहरु पनि सरकारमा गएका थिए, उनीहरुको पनि सम्पत्ति छानविन हुनुपथ्र्याे किन गरेन ?’, उहाँको प्रश्न थियो । काँग्रेसले अदालतको निर्णयको पूवाग्रही नभनेको भन्दै आफू अन्यायमा परेको भन्दै पुनरावलोकनमा जान पाउने कानुनी बाटो रोज्न खोजेको उहाँको भनाइ थियो ।
सर्वाेच्चको पूरा बेञ्चसमक्ष मुद्दाको फैसलालाई पेश गर्नेसमेत उहाँले बताउनुभयो । सर्वाेच्चले पुनः त्यही निर्णय गरे त्यसलाई काँग्रेसले सम्मान गर्ने उहाँको भनाइ थियो । त्यो निर्णयलाई उहाँ (खुमबहादुर खड्का)ले पनि स्वीकार्ने महतले बताउनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी