Monday, September 17, 2012

तीज मनाउन पाँच दिन विद्यालय बन्द

भरतपुर । पछिल्लो समय बढेको तीज पर्वको तड्कभडकलाई पछ्याउँदै भरतपुरका निजी विद्यालयले तीज मनाउन भन्दै पाँच दिन लामो छुट्टी गरेका छन् । तेस्रो त्रैमासिक परीक्षा सुरू हुन दुई हप्ता बाँकी रहँदा एकहप्ता लामो बिदा गरिएपछि अभिभावक रुष्ट बनेका छन् भने विद्यार्थी पूर्णरूपमा प्रभावित बनेका छन् ।
भरतपुरको निजी विद्यालयको साझा संस्था बेसले सोमबारदेखि आउँदो शुक्रबारसम्म बिदा आह्वान गरेको हो । आइतबारदेखि नियमित पठनपाठन हुने बताइएको छ ।
लामो छुट्टी दिनु न्यायोचित नभएको संस्थागत विद्यालय अभिभावक सङ्घ चितवनका अध्यक्ष राजेन्द्र न्यौपानेले बताउनुभयो । यसरी बिदा दिँदा विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्ने उहाँले बताउनुभयो । बेसअन्तर्गतका ४१ विद्यालयमा १२ हजार विद्यार्थी छन् ।
बेसका अध्यक्ष मोहन लामाले तीजको समयमा विद्यार्थी नआउने र महिला शिक्षक धेरै भएकाले सट्टा बिदामा मिलान हुने गरी बिदा दिइएको बताउनुभयो । त्यस्तै प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले सट्टा बिदाबाट मिलान गरी बिदा गरेको होला भन्दै अनभिज्ञता प्रकट गर्नुभयो ।
यता जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भने यसरी लामो बिदा दिनु गलत प्रक्रिया भएको बताउनुभयो । शिक्षा अधिकारी शर्माले हिउँद र वर्षे गरी अधिकतम ४५ दिन बिदा गर्न पाइने तथा विद्यालय व्यवस्थापन समितिको निर्णयले अधिकतम् पाँच दिनसम्म स्थानीय बिदा पाइने भन्दै अधिकार नपाएका संस्था वा व्यक्तिले विद्यालय बन्द गरेको सूचना प्राप्त भएकोले कार्यालयको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
पछिल्लो समय एकातर्फ निजी विद्यालयले मनोमानी ढङ्गले शुल्क बढाएको भन्दै आरोप खेपिरहेका छन् भने आफूखुसी तवरले गरिने यस्ता बन्दले विद्यार्थीको पठनपाठन नराम्रोसँग प्रभावित भएको छ ।
गतहप्ता मात्रै शिक्षकको अधिवेशनको उद्घाटन गर्न एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल चितवन आउँदा यहाँका सबै विद्यालय बन्द गरिएका थिए भने त्यसैहप्ता नेकपा–माओवादीको नेपाल बन्दका कारण अर्कोदिन पनि विद्यालय बन्द भएका थिए ।


www.echitwanpost.net

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी