Monday, September 17, 2012

अविरल वर्षाले जनजीवन प्रभावित


हवाई उडान अवरुद्ध, विभिन्न राजमार्ग अवरुद्ध, गण्डकको ठोकरमा क्षति

भरतपुर । लगातारको वर्षाले देशैभर प्रभावित पारेको छ । आज मंगलबारबाट मौसममा सामान्य सुधार आएपनि पूर्ण रुपमा सुधार आउन भने एक साता लाग्ने बताइएको छ  । मनसुन सकिन केही साता बाँकी रहेकाले पानी पर्नेक्रम अझै बढ्न सक्ने बताइएको छ ।
यसैबीच वर्षासँगैको बाढी र पहिरोले विभिन्न ठाउँमा क्षति पु¥याएको छ । लगातारको वर्षाले हवाई उडानहरु पनि प्रभावित भएका छन् । भरतपुर विमानस्थलका अनुसार सोमबारका लागि तय गरिएका तीनवटा उडान वर्षाका कारण रद्ध गर्नु परेको छ ।
वर्षाका कारण रिउखोलामा बाढी आएपछि भरतपुर–माडीको सम्बन्ध विच्छेद भएको छ । तीजका अवसरमा माइत आएका चेलीहरु पनि बाढीले गर्दा बीचबाटैमा अलपत्र परेका छन् ।
काठमाडौं कुलेखानी हुँदै हेटौंडा जोड्ने सडकमा रातिदेखि नै सवारीसाधन चलेका छैनन् । मकवानपुरको सिस्नेरीनजिकै पहिरो गएका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यस्तै नागढुंगानजिकै झ्याप्लेखोला र गजुरीनजिक गएको पहिरोका कारण यातायात प्रभावित भएको छ । लगातारको वर्षासँगै पृथ्वी राजमार्गअन्तर्गत तनहूँको आँवुखैरेनी–डुम्रे सडकखण्ड अवरुद्ध भएको छ । आँबुखैरेनी गाविसको खहरेखोला बढेर सवारीसाधन ओहोरदोहोर हुन नसकेपछि सोमबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बाढीका कारण गाडीहरु खोला तर्न नसकेपछि दुबैतर्फका सवारीसाधन अलपत्र परेका छन् । त्यसैगरी पहिरोका कारण डुम्रे बेसीसहर सडकखण्डसमेत अवरुद्ध बनेको छ ।
वर्षायाममा हरेक वर्ष खहरेखोलाले दुःख दिने गरेपनि सडक विभागले बेवास्ता गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको स्थानीय बासिन्दाको भनाइ छ ।
यसैबीच अविरल वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढ्दै जाँदा पुनः गण्डक बाँधअन्तर्गतको १२ नं ठोकर भत्किने खतरा देखिएको छ ।
नारायणी नदीमा पानीको सतह करिब तीन लाख क्युसेक नाघेको छ । यसरी नै लगातार रुपमा पानीको बहाव बढ्दै जाने हो भने बाँध फुट्ने खतरा रहेको गण्डक सङ्घर्ष समितिका सहसचिव शैलेन्द्रकुमार गुप्ताले बताउनुभयो ।
एक महिनाअघि वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि १२ नम्बर ठोकरको मुख्य अघिल्लो भाग पूर्ण रुपमा क्षति भएको थियो । भारत सरकारले ठोकरमा सामान्य तारजाली र बोरामा बालुवा राख्ने काममात्र गरेको थियो ।
क्षति भएको ठोकर भारतले प्रभावकारी रूपमा मर्मत नगरेकाले नदीमा  पानीको बहाव बढ्ने हो भने अझै पूर्ण रुपमा क्षति हुने गण्डक सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले बताउनुभयो ।
बाँध भत्किए नेपालका दर्जन गाउँ तथा भारतका सयौँ गाउँ बाढीको चपेटामा पर्ने निश्चित छ ।  यसबारे भारतीय सरकारलाई मर्मत काम अझ प्रभावकारी बनाउन पहल गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रशासकीय अधिकृत प्रदीपज्योति श्रेष्ठले बताउनुभयो ।
www.echitwanpost.net




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी