कपिलवस्तु । नेपालमा रहेका तीनवटा अशोक
स्तम्भमध्ये एक अशोक स्तम्भ पुरै पानीमा डुबेको छ । कपिलवस्तुको गोटिहवा
गाविसमा रहेको अशोक स्तम्भ डुबेको हो । भारतीय सम्राट अशोकले क्रकुच्छन्द
बुद्धको जन्मस्थल भन्दै स्थापना गरेको उक्त शीलास्तम्भको पुरै भाग डुबेको छ
। ऐतिहासिक महत्व बोकेको महत्वपूर्ण पुरातात्विक स्थल गोटिहवाको अशोक
स्तम्भ महिना दिनदेखि पानीमा डुबेको हो । जमिनबाट ११ फिट लामो रहेको
स्तम्भको एक फुट मात्र पानी बाहिर देखिएको छ ।
यसरी लगातार पानीमा डुब्दा स्तम्भको
अस्तित्व खतरामा पर्दै गएको छ । वर्षाका बेला अधिकांश समय स्तम्भ पानीमा
डुब्ने गरेको छ । यस वर्ष पनि चार पटक गरी ५/७ सातासम्म लगातार स्तम्भ
पानीमा डुबेको गाउँलेले जानकारी दिए ।धेरै समय पानीमा डुब्दा सिपेज भई
साल्ट एक्सन हुँदा स्तम्भ निक्कै कमजोर हुने लुम्बिनी विकास कोषका पुरातत्व
अधिकृत कृष्णबहादुर केसीले जानकारी दिनुभयो । उहाँले नुनिलो पानीले गर्दा
पत्थरको स्तम्भलाई नोक्सानी पुर्याई छिट्टै टुटफुट हुने बताउनुभयो ।
स्तम्भको संरक्षणको जिम्मा पाएको लुम्बिनी विकास कोषको बेवास्ताको कारण
स्तम्भमा लेखिएका प्राचीन एवम् महत्वपूर्ण अक्षर मेटिदै गएका छन् ।
पुरातत्वविद् केसीले भन्नुभयो, “सम्राट अशोकले स्तम्भमा लेखाएका अधिकांश
अक्षर मेटिन गएको छ ।” स्तम्भको ४०० मिटर परिधिमा तारबार गरे पनि संरक्षण
भने गरिएको छैन ।
स्तम्भ उत्खनन भएको २०/२५ वर्ष अघिदेखि
डुब्दै आएको स्थानीयबासी बताउँछन् । जमिनसँगै बरोबर भएकाले स्तम्भ डुब्ने
गरेको छ । करिब ११ फिट लामो स्तम्भको माथिको एक फिट भाग मात्र बाहिर
देखिएको छ । त्यस्तै डेढ बाई डेढ मिटरको वर्गाकार भागको बीचमा स्तम्भ छ ।
अहिले सबै भाग पानीले डुबेको छ ।नेपालले सन् २०१२ ला लुम्बिनी भ्रमण वर्ष
भन्दै अन्र्तराष्ट्रिय क्षेत्रमा लाखौ खर्च गरी प्रचारप्रसार गरेपनि
पर्यटकले भ्रमण गर्ने स्थान भने जीर्ण छन् ।रासस
No comments:
Post a Comment
Thanx for your comment