Saturday, September 15, 2012

प्यारीलाई पत्र

प्रिय सिर्जना,
लामो समयको अन्तरालपछि कोर्दै गरेको प्रेमपत्रमा प्रेममय पुष्पगुच्छाहरु अर्पण गर्दछु, स्वीकार ल...! आरामै हौली, अनि बाबाआमा पनि त आरामै होलान्, होइन ? साथीसँगी सबैलाई सम्झना सुनाइदिनु ल...!
अब त तीजको लहर गाउँभरि छाएको होला । समयले यो तीजमा तिमीसँगसँगै हुन दिएन तर पनि तिम्रो सम्झनामा पुराना दिनहरु कल्पिरहेको छु । सिर्जना, म ती हाम्रा पुराना तीजहरुको कल्पनामा हराइरहेको छु, यो सहरमा बसेर । तीज आयो भन्दै तिम्रो घरको आँगनीमा वरिपरिका सबै चेलीहरु जम्मा भएर तीजका गीतहरु गाउँदै नाचिरहेका होलान् नि, है !
मैले ती तीजका दिनहरुलाई सम्झनामा राखिरहेको छु । साँझपख पधेँरीमा भेट हुँदा तिमीले मलाई सधैँ आफ्नो घर निम्तो दिन्थ्यौ । ‘सिर्जन, साँझपख मेरो घर आऊ है । आज पनि गीत गाउने रे, मादल तिमीले नै बजाउनुपर्छ’, भन्दै निम्तो दिएको कुरा मैले सम्झिरहेको छु । जब साँझ पर्छ, म तिम्रा तिनै निम्ताका शब्दहरु सम्झिरहेको हुन्छु । आजभोलि त यो सहरमा एक महिनाअगाडिदेखि नै तीजका गीतमा नाच्ने चलन बढेको छ । हरेक दिनजसो दर खाने कार्यक्रम नै राखिन्छ । मलाई पनि हरेक दिन कुनै न कुनै ठाउँबाट निम्तो नआउने होइन तर पनि तिमीले दिएको निम्तोमा जस्तो मैले कहिल्यै पनि रमाइलो मानिनँ ।
तिमीलाई सुनाऊँ, यी कार्यक्रमहरुमा तिम्रो घरको आँगनीमा जस्तै हाम्रा चेलीहरु तीजको गीत गाउँदैनन् । सहरमा क्यासेटबाट घन्कने ठूला आवाजहरुका साथमा डिस्कोमा नाच्छन यहाँका चेलीहरु । न त यहाँ हाम्रा चेलीले झैँ आफ्ना पीर, वर्षभरिका वेदनाहरु नै पोख्ने गर्छन् ! यहाँ त बाजी ठोक्छन्, कसले जित्ने भनेर । रमाइलो मान्ने त आफ्नो ठाउँमा होलान् नै तर पनि हाम्रो संस्कृति कहाँ पुग्यो भन्ने कल्पनामा म हराइरहेको हुन्छु ।
सहरका गल्लीगल्लीहरुमा यहाँ हरदिन, हरपल ठूला आवाजहरुसँगै नाच्ने बहानामा झन्झन् तल झरिरहेका हुन्छन् आधुनिकताका नाममा लगाइएका साडीहरु । तीज आउँदै गर्दा मैले सम्झिरहेको छु, तिमी र म सँगै मिलेर मेला भर्न गएको । कति रमाइला थिए ती दिनहरु ! यो सालको तीजमा मैले ती दिनहरु गुमाउने छु र त म कल्पनामा तिनै दिनहरुलाई सम्झिएर बिताइरहने छु । हुन त, म पनि जानेछु सहरका बीचमा हुने तीजमा तर पनि मलाई लाग्दैन, यहाँको तीज हाम्रो गाउँको जस्तो रमाइलो हुनेछ भनेर । यहाँ त नारीहरुले पनि व्रत बस्दैनन् । मैले सोचेको छु, तिमी यो सालको तीजमा पनि मेरा लागि व्रत बस्छ्यौ होला नि, है !
फेरि पनि त तिमी साथीसँगीहरुसँग मेला जाने तयारी गरिरहेकी हौली । तिमीलाई यो पल मेरो अनुपस्थितिमा नरमाइलो त अवश्य पनि लागेको होला तर पनि म यो सहरमा रोकिनु पर्दाको बाध्यतालाई बुझेकी छौ तिमीले । बैनीले पनि मलाई भनेकी थिई– ‘दाइ, मलाई तीजमा एउटा राम्रो साडी ल्याइदिनु ल...!’ तिमीले मेरो तर्फबाट बहिनीलाई साडी किनेर दिनू ल । मेलामा भन्दै थिई– ‘दाइ, तपाईं नआए म कोसँग मेला जाने !’ बैनीलाई पनि मेला लिएर सँगै जानू ल ।
मैले तिम्रो अनुपस्थितिमा यहाँ खल्लो तीजलाई हेरिरहेको छु । मैले ठान्थेँ, तीज त तिमीले रातो साडी लगाएपछि मात्र आउँछ तर आज योभन्दा फरक भैरहेको छ । यसपालिको तीजमा तिमी मसँग छैनौ, यही बोधमा हराएर तिमीलाई यो पत्र लेख्दै गर्दा बाहिर यो साँझमा ठूलो आवाजसँगसँगै डिस्कोमा नै तीज घन्किएकै छन् । मेरा यी कानहरु भने तिम्रो सुरिलो भाकामा घन्किएका ती तीजका लोकभाकाहरु सुन्न आतुर छन् । सपनाका कन्दरामा कल्पेर बसिरहेको छु ।
जेजस्तो होस्, यसपालि पनि रमाइलोसँग तीजलाई मनाऊ है ! फेरि पनि सबै गाउँलेलाई शुभकामना सुनाइदिनू ल...! अनि पल्लोघरकी माइलीदिदी पनि आइन् होलिन् अब त, उनलाई पनि शुभकामना मेरो तर्फबाट छ है भनेर सुनाइदिनू ल । साइँलीदिदी र कान्छीदिदीलाई पनि शुभकामना अनि विशेषगरी तिमीलाई लाखलाख शुभकामनासहित आजलाई पत्रबाट बिदा...!
उही तिम्रो प्रिय सिर्जन, भरतपुर

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी