Saturday, September 15, 2012

गोलसिमल प्रेमविनोद नन्दन सम्मानित

सम्मानित स्रष्टा नन्दन (दायाँ)साथमा प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला ।
नारायणगढ । नेपाली गीति क्षेत्रका गोलसिमल प्रेमविनोद नन्दन शनिबार नारायणगढमा सम्मानित हुनुभएको छ । कविडाँडा साहित्य समाज चितवनले उहाँलाई सम्मान गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले दोसल्ला ओढाएर उहाँलाई सम्मान गर्नुभएको हो । समाजले स्थापना गरेको ‘देव–खिना स्मृति कविडाँडा साहित्य सम्मान’बाट उहाँ सम्मानित हुनुभएको हो । सम्मान कार्यक्रममा कुलपति काइँलाले साहित्यमा लागेर मानिसले दाम नकमाए पनि नाम र सम्मान कमाउने बताउनुभयो ।
नेपाली साहित्यमा गीत, गजल तथा कविताका क्षेत्रमा अमूल्य योगदान पु¥याएवापत उहाँलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली गीति क्षेत्रका ‘गोलसिमल’ भनेर उपनाम दिनुभएको थियो ।
१९९२ सालमा बन्दिपुरमा जन्मनुभएका नन्दनले चितवनमा रहेर नेपाली साहित्यमा अमूल्य योगदान पु¥याउनुभएको छ । सम्मान कार्यक्रममा कुलपति काइँलाले मृदुभाषी नन्दनले नेपाली साहित्यलाई पु¥याएको योगदानको कदर गर्दै चितवनले सम्मान गरेको बताउनुभयो ।
‘तपाइँहरुले नन्दनको सम्मान गरेर महत्वपूर्ण योगदान पु¥याउनुभएको छ, यसरी नै कला र साहित्यप्रति समर्पित सबै कलाकार तथा साहित्यकारहरुलाई सम्मान गर्नूस्’ उहाँले भन्नुभयो ।
कार्यक्रममा सम्मानित हुनुभएका स्रष्टा नन्दनले आफू सम्मानित हुन पाउँदा खुसी लागेको बताउँदै कला, साहित्य र संस्कृतिको संरक्षणमा अन्तिमसम्म लागिरहने बताउनुभयो । नन्दनका ‘झटारो’, ‘अञ्जली’, ‘सपनीबाट व्युझेर’, ‘विपनी पाइलाहरु’लगायतका कृतिहरु प्रकाशित भएका छन् ।
उहाँका ‘यो गाँउको ठिटो म कान्छा मेरो नाम’, ‘सयपत्री फूल मैले टिपेँ’, ‘स्वर्गको सुन्दर सपना देख्ने’, ‘चन्द्रमुखी फूल हा मलाई’लगायत दर्जनाँै गीतहरु चर्चित छन् । कार्यक्रममा चितवनका युवा साहित्यकार रमेश प्रभात, साम्भा ढकाल, अक्षर समूहकी सरिता तिवारी, गजल मञ्च चितवनका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’, नेपाली लेखक संघ नारायणीका अध्यक्ष केदारनाथ खनाल, साहित्यकार प्राध्यापक डा। नारायणप्रसाद खनाल, नेपाल लेखक संघका इन्द्र रेग्मी, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवनका अध्यक्ष पोषराज पौडेल, पूर्वमन्त्री केशवलाल श्रेष्ठ, सम्मानित नन्दनका छोरा अर्जून श्रेष्ठ, साहित्यकार गोविन्दराज विनोदीलगायतले बोल्नुभएको थियो ।
यसैबीच कविडाँडा साहित्य समाज चितवनले प्रकाशन गरेको ‘चरैवेति साहित्यक त्रैमासिक’को पाँचौ अंक ‘नन्दन विशेषाङ्क’को पनि कुलपति काइँलाले विमोचन गर्नुभयो । सम्मानित नन्दनको स्मृतिग्रन्थका रुपमा प्रकाशन गरिएको साहित्यिक त्रैमासिकका प्रधान सम्पादक एलबी क्षेत्री रहनुभएको छ ।
कार्यक्रम समाजका अध्यक्ष तथा चरैवेतिका प्रधान सम्पादक क्षेत्री र नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष विज्ञानलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यस्तै कार्यक्रममा चितवनका विभिन्न तीन स्रष्टाका तीन कृतिहरु पनि विमोचन गरिएको  छ । कृतिहरुको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति काइँलाले नै विमोचन गर्नुभएको हो ।
कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदीको नाँै साहित्यिक कृति ‘नानिका गीत’ बालगीति कवितासंग्रह, डा। मोतीप्रसाद ढकालको नेपाली भाषा र व्याकरणसम्बन्धी कृति ‘सन्धी र शव्द निमार्ण प्रक्रिया’ र कुसुमदेवी गौतमको ‘मेरा बगैँचाका फूलहरु’ कवितासंग्रहको एकसाथ कुलपति काँइलाले विमोचन गर्नुभएको छ ।       





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी