Saturday, September 15, 2012

चितवनमा कर छली गर्ने प्रवृत्ति कायमै

नारायणगढ । सरकारी स्पष्ट नीति र अनुगमन राम्रो नहुँदा व्यवसायीहरूले मिलेसम्म कर छली गर्ने गरेको पाइएको छ ।
आन्तरिक राजस्व विभाग र कार्यालयहरूले अनुगमन गर्दा शंका लागेमा विस्तृत कर परीक्षण गर्ने गर्दछन् । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आवमा १३८ वटा व्यावसायिक फर्मको विस्तृत कर परीक्षण गर्दा अधिकांशले यथार्थ विवरण नबुझाएको पाइएको छ ।
विस्तृत कर परीक्षणपछि सो कार्यालयले कर निर्धारण गर्दा थप नौ करोड ४६ लाख १० हजार उठेको कर अधिकृत पदमराज आचार्यले बताउनुभयो । जसअन्तर्गत आयकरतर्फ पाँच करोड १३ लाख ६० हजार, मूल्य अभिवृद्धि करतर्फ तीन करोड १८ लाख २३ हजार र अन्तःशुल्कतर्फ एक करोड १४ लाख २७ हजार उठेको छ ।
यसअघि गएको आवमा आन्तरिक राजस्व कार्यालय भरतपुरले चार अर्ब ६४ करोड ४८ लाख ९९ हजार राजस्व उठाउने लक्ष्य लिएकामा पाँच अरब १६ करोड ३२ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो । सो कार्यालयअन्तर्गत झन्डै २२ हजार करदाता रहेका छन् ।
विस्तृत कर परीक्षण गर्दा दुरुस्त नभएमा बढेको रकममा १३ प्रतिशत जरिवाना, १५ प्रतिशत ब्याज र वार्षिक १० प्रतिशत थप दस्तुर जोडेर करदाताले बुझाउनुपर्ने हुन्छ ।
कर प्रणालीसम्बन्धी ज्ञानका अभावमा पनि करदाताले यकिन तथ्याङ्क बुझाउन नसकेको व्यवसायीहरू बताउँछन् । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख प्रेम उपाध्याय केही अज्ञानताले भएपनि धेरैजसोले नियतवस पनि कर कम देखाउने गरेको जानकारी दिनुभयो ।
गतवर्ष ११५ जना करदाताको बिस्तृत कर परीक्षण गर्ने लक्ष्य लिए पनि १३८ जनाको विस्तृत कर परीक्षण गरिएको उहाँले बताउनुभयो । यसवर्ष १५५ जनाको विस्तृत कर परीक्षण गरिने लक्ष्य रहेको उपाध्यायको भनाइ छ । छनोटमा परेका करदाताहरूलाई चिठी दिने, कागजात माग्ने, फिल्ड निरीक्षण गर्ने र दुरुस्त नपाइएमा विस्तृत कर परीक्षण गर्ने गरिन्छ ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी