Monday, September 10, 2012

फस्टायो गाउँमा बाख्रापालन

शक्रिखोर । पूर्वी चितवनको शक्तिखोरका किसानले सुरू गरेको बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । अहिले गाउँका युवासमेत विदेश जान रोकिएर व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेका छन् ।
वैदेशिक रोजगारीको लागि आएको भिसा त्यागेर बाख्रा पाल्न सुरु गरेका स्थानीय सोमबहादुर मगर अहिले यस व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । बाख्रापालनबाट राम्रै आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।
रत्ननगरबाट कृषि प्राविधिकको सेवा पाउने शक्तिखोर–८ देवीटारका कृषकले जिल्ला पशु सेवा कार्यालय चितवनको सहयोगमा २०६५ सालबाट व्यवसायिकरूपमा बाख्रापालन सुरू गरेका हुन् ।
सो गाउँका अधिकांश र कृषक व्यावसायिकरूपमा बाख्रा पाल्न थालेका छन् । अहिले नजिकिंदो दसैँलाई केन्द्रित गरेर सो गाउँमा दर्जनौँ खसी तयार भएको उहाँले बताउनुभयो । अहिले गाउँमा विदेश गएर आएका युवासमेत बाख्रा र गाईपालनमा सक्रिय भएका छन् ।
पशुसेवा कार्यालयको ग्रामीण युवा स्वरोजगार कार्यक्रमअन्र्तगत पाँचजना कृषकलाई जनही रु ३० हजार नगद तथा तालिम दिइएको थियो । अहिले उनीहरू आफैँ प्राविधिक र व्यवसायीसमेत बनेका छन् ।
अहिले वर्षमा झन्डै रु तीन लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । पाँच वर्षको अन्तरालमा बाख्रापालनबाटै रु १६ लाख कमाएको सोमबहादुरको भनाइ छ । उनको गोठमा अहिले पनि पाँचदर्जन बढी बाख्रा रहेका छन् ।
देवीटारकै अष्टलाल चेपाङले पनि एकैपटक रु ३६ हजारको बाख्रा बेचेको जानकारी दिनुभयो । उहाँले एक वर्षमा मात्र एक लाखभन्दा बढीको बाख्रा बेच्नुभएको थियो ।
गैरसरकारी संस्थाको सहयोगमा सो क्षेत्रमा बाख्रा सङ्कलन केन्द्र निर्माण गर्ने तयारी भइरहेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी