Sunday, September 2, 2012

नारायणगढमा बजार अनुगमन सुरु ,म्याद नागेका अखाद्य वस्तु नष्ट

भरतपुर । अस्वभाविक मूल्यवृद्धि, कालोबजारी, अखाद्य पदार्थ मिसावट, म्याद गुर्जेका बस्तु विक्री वितरणमा नियन्त्रण गर्ने उद्देश्यले चितवनमा पनि  बजार अनुगमन सुरू गरिएको छ ।
नारायणगढ बजारका केही किराना, खाद्यान्नका पसल तथा पाउरोटी उद्योगहरुमा टोलीले आइतबार अनुगमनको काम सुरू गरेको हो । अनुगमन क्रममा नारायणगढका पसलहरुमा म्याद नाघेका, अखाद्यवस्तु मिसावट भएका, उत्पादन मिति नराखेका वस्तुहरु विक्री वितरण भइरहेको पाइएको छ ।
अनुगमनको नेतृत्व गरिरहेका चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल बजारमा सुधार गर्नुपर्ने धेरै भेटिएको बताउनुभयो । ‘बजारमा धेरै सुधार गर्नुपर्ने देखियो । पहिलो पटकको अनुगमन भएकाले हामीले अहिले व्यवसायीहरुलाई सुधार गर्नु भनेर सुझाव दिएका छौ’, सहायक प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो, ‘यस्ता वस्तुहरुले सर्वसाधरण उपभोक्ताको स्वास्थ्यमा नकरात्मक प्रभाव पर्ने भएकाले पनि अनुगमनलाई अगाडि बढाएका हाँै ।’
सहायक प्रजिअकै नेतृत्वमा बजार अनुगमन सुरू भएको हो । टोलीमा सरोकारवाला निकायहरुको सहभागिता रहेको छ । सरकारले एक हप्तादेखि देशैभर बजार अनुगमन गरेपनि चितवनमा भने आइतबारबाट अनुगमन सुरू भएको छ । शुक्रबारमात्रै जिल्लाका सरोकार निकायहरुको बैठकले जिल्लामा बजार अनुगमन गर्न सहायक प्रजिअ गेलालको संयोजकत्वमा बजार अनुगमन समिति गठन गरेको थियो ।
आइतबार दिउँसो ३ बजेबाट सुरू भएको बजार अनुगमनको पहिलो दिन  नारायणगढका आठ वटा व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । अनुगमनक्रममा टोलीले कमल पाउरोटी र राजु पाउरोटी उद्योगलाई सरसफाइ नभएको भन्दै सरसफाइमा ध्यान दिन सचेत गराएको छ ।
‘पाउरोटी उत्पादन गर्ने उद्योगहरुमा धेरै फोहर रहेछ । अब सरसफाइ गर्नुपर्ने देखेर नै सरसफाइ गर्न निर्देशन दियौँ’, अनुगमनमा संलग्न एक अधिकृतले भने । राजु पाउरोटी उद्योगको नवीकरण नभएको हँुदा नविकरण गर्न पनि टोलीले आग्रह गरेको छ ।
यस्तै टोलीले नौलो पसल लीलाचोक, अन्नपूर्ण किराना स्टोर्स, लायन्सचोकको दन्तकाली पशुपति किराना स्टोर्स, सुरेश किराना पसल, प्रेम भण्डार र लक्की किराना पसलमा पनि अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अन्नपूर्णमा हरि राइस मिल नवलपरासीद्वारा उत्पादित च्युराको उत्पादक मिति नभएको, वीरगञ्जमा उत्पादित सफारी पामोलिन तेलमा उपभोग गर्ने मिति सकिएको र पसल वाणिज्य विभागमा दर्ता नभएको भेटिएको अनुगमनका एक अधिकृतले बताए ।
मिति नाघेका तेल र उत्पादन मिति नभएको च्युरा विक्री वितरण नगर्न टोलीले सुझाव दिएको छ । यस्तै टोलीले दर्ता गरेर पसल सञ्चालन गर्न पनि सुझाव दिएको छ ।
यस्तै प्रेम भण्डारमा भेटिएको एक कार्टुन अखाद्य रङ्ग, म्याद गुर्जेका १० किलो बेसार, कुरकुरेलगायतका अखाद्य पदार्थलाई तत्काल टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । सुरेश किरानामा भेटिएका म्याद सकिएका कुरकुरेलगायतका वस्तुहरुलाई पनि टोलीले बरामद गरी नष्ट गरेको छ ।
सुरेश किराना र प्रेम भण्डारलाई अनुगमन टोलीले लिखितपत्र काटेर नै आइन्दा यस्ता वस्तु विक्री वितरण नगर्न सचेत गराएको छ । लक्की किरानामा अनुगमन गरिए पनि खासै त्यस्ता हानिकारक वस्तु नभेटिएको पनि बताइएको छ ।
अनुगमन टोलीमा चितवनका सरोकारवाला संस्था तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । दुई दिन अघि जिल्ला प्रशासन कार्यालयमा बसेको एक बैठकले चितवनको बजार अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको संयोजकत्वमा बजार अनुगमन समिति गठन गरेको थियो ।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी