Monday, September 10, 2012

छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

रतपुर । चितवन धादिङ र मकवानपुरमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्युभएको छ । ती दुर्घटनमा चार जना घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट बजारमा आइतबार राति साढे १ बजे एउटा ट्रकले, रोकिराखेको दुईवटा ट्रकलाई ठक्कर दिँदा आफ्नै गाडी बनाउँदै गरेका अर्को ट्रकका चालकको च्यापिएर मृत्यु भएको छ ।
चितवनबाट काठमाडांैतर्फ जाँदै गरेको ना ३ ख ७३ नम्बरको ट्रकले सडक किनारामा रोकिराखेको ना २ ख ८२८१ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । सो ट्रकभन्दा अघिल्तिर रोकेर ब्याकलाइट बनाउँदै गरेको अर्काे ना ४ ख १२२७ नम्बरको ट्रकलाई समेत ठक्कर दिन पुग्दा चालक बर्दियाका ४३ वर्षीय प्रदेशी थारुको उपचारका लागि लैजानेक्रममा मृत्यु भएको बताइएको छ । ठक्कर दिने ट्रकका चालक भने फरार छन् ।
त्यस्तै पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा सोमबार मिनीबस पल्टिँदा तीन जना घाइते भएका छन् । लोथर जाँदैं गरेको बा २ ख ३७६८ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा चालक २७ वर्षीय बसन्त पन्त, यात्रु २९ वर्षीय लक्ष्मी ठोकर र १२ वर्षका शिवकुमार पाण्डे घाइते भएका हुन् । उनीहरुको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
त्यस्तै मकवानपुरमा भएका पछिल्ला दुई घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पदमपोखरी–६ सिमपानीमा रहेको फेमकल इंग्लिश बोर्डिङ स्कुलको ना ३ ख ४९४९ नम्बरको बसको पछाडि चक्काले किच्दा सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीय अमित लामाको मृत्यु भएको छ ।
चट्याङले मृत्यु
त्यसैगरी, मकवानपुर आमभञ्ज्याङ–१ खैरनीमा घरमै बसिरहेको अवस्थामा चट्याङ लागी ३८ वर्षीया सन्तमाया ब्लोनको मृत्यु भएको छ । उनको हेटाँैडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर २८ वर्षीया अनिता खड्का घाइते भएकी छन्, उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एक मृत फेला
यता, पूर्वी चितवन भण्डारा गाविसको धमौरास्थित शाखा सडकखण्डमा सोमबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । स्थानीय चौकीडाँडाका ६० वर्षीय पूर्णबहादुर परियार मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी