Wednesday, September 19, 2012

देवघाट–नारायणगढ सडकखण्ड जीर्ण

देवघाट । चितवन  र तनहूँको संगमस्थल देवघाट जानेबाटो मर्मत सम्हारको अभावमा जीर्ण बन्दै गएको छ । सडक जीर्ण बन्दै जाँदासमेत सम्बन्धित सरोकारवालाले चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन् ।
बर्सेनि लाखाँै तीर्थयात्री आउने यस स्थानमा तीर्थयात्रीहरुलाई उचित बसोवासको त व्यवस्था छैन नै यहाँसम्म पुग्ने मोटरबाटो नै जीर्ण बन्दै जाँदा झन् समस्या परेको हो । भरतपुरको आँपटारीदेखि देवघाट जोड्न् साढे चार किलोमिटर सडकखण्डमा कैयाँै ठाउँमा कालोपत्रे भत्किएर ठूल्ठूला खाडल पर्दा यातायात आवगमनमा समेत समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् ।
‘दिनहुँ यही बाटोमा गाडी कुदाउनु पर्छ, सडक बिग्रिएर यो हालत भएको छ’, नारायणगढ–देवघाट सडकमा बस चलाउने एक चालक अरुण विकले गुनासो पोख्दै भन्नुभयो, ‘हामीले भनेर के हुन्छ र बनाउनेतर्फ कसैको ध्यान गएको छैन ।’ सडकमा खाडल परेकाले राम्रोसँग बस चलाउनसमेत अफ्ठ्यारो हुने गरेको उहाँको भनाइ थियो ।
यो सडकखण्ड मर्मतका लागि पहल नै नभएको स्थानीयको आरोप छ । देवघाट क्षेत्र विकास समितिले समेत यसतर्फ पहल नगरेको उनीहरु गुनासो गर्छन् । ‘हामीले भनेको कसले नै सुन्छ र विकास समितिले नै पहल गर्नुपर्ने हो’, स्थानीयवासी रमेश सिवाकोटीले भन्नुभयो, ‘खोई पहल गरेको छ कि नाई, गरेको भए त बन्नुपर्ने हो ।’
यतिमात्र होइन, पानी परेका बेला पानी सडकबाट नै वारपार हुँदा जीर्ण सडक झन् भत्किँदै गएको छ । शुक्रबारदेखि अविरल परेको वर्षाका कारण सडकमाथिबाटै ठाउँठाउँमा पानी बग्दा झन् सडक नै कुलोमा परिणत भएको छ । सडक किनारमा नाली नहुँदा यस्तो भएकोले पनि नाली बनाउन आवश्यक भएको सिवाकोटीले बताउनुभयो ।
‘गहिरो ठाउँमा त कल्भर्ट बनाउनु पर्ने हो तर छैन’, उहाँले भन्नुभयो, ‘अझ पानी परेका बेला त झन् सडकमाथिबाट नै पानी बग्छ ।’


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी