Wednesday, September 19, 2012

पूर्वलडाकुको परीक्षाको नतिजा सार्वजनिक

शक्तिखोर । चितवनको शक्तिखोरस्थित माओवादी तेस्रो डिभिजनमा समायोजन रोजेर लिखित परीक्षा दिएका पूर्वलडाकूहरूको परीक्षाको नतिजा बुधबार प्रकाशित भएको छ ।
परीक्षामा सामेल भएका यहाँका २१६ लडाकूमध्ये २१५ जना लिखित परीक्षामा उत्तीर्ण भएको तेस्रो डिभिजन शक्तिखोरले जनाएको छ । परीक्षामा सामेल भएकामध्ये एक जनामात्र अनुत्तीर्ण भएको शक्तिखोर शिविरमा रहेका पूर्वब्रिगेड कमान्डर गोविन्दबहादुर बटालाले जानकारी दिनुभयो ।
सैनिक प्रवक्ता रमीन्द्र क्षेत्रीका अनुसार सातवटै डिभिजनका कुल एक हजार ४४५ जना पास र १५ जना भने फेल भएका छन् । यही असोज १ गते उनीहरूको विषयगत परीक्षा लिइएको थियो । उनीहरूलाई कक्षा सातसम्मका विषयहरू प्रश्नपत्रमा समावेश गरिएको परीक्षाका लागि शक्तिखोरमा रहेको सैनिक स्रोतले जनाएको छ ।
अधिकृतस्तरभन्दा तलका लागि कम्तीमा पाँच कक्षा उत्तीर्ण भएको हुनुपर्ने मापदण्ड छ । सेना समायोजन विशेष समितिअन्तर्गत सचिवालयका निमित्त सचिव मधुविलास पण्डितका अनुसार देशका अधिकांश शिविरमा परीक्षाफल प्रकाशित भइसकेको र नतिजा सचिवालयमा आउने क्रम जारी रहेको जानकारी दिनुभयो ।
नतिजा प्रकाशित भएपछि लडाकुहरूलाई आजैबाट मेडिकल परीक्षणसमेत सुरु भएको छ । छनौट चरण सकिएलगत्तै अन्तिम नतिजा यही असोज १३ गते प्रकाशित गरेपछि उनीहरूलाई बिदा दिइने सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो ।
यता, सैनिक महाविद्यालय चैनपुर चितवनमा सैनिक अधिकृतहरूका लागि छनौट चरणअन्तर्गतका विभिन्न परीक्षा जारी रहेको शर्माले बताउनुभयो ।  सबै शिविरबाट एक हजार ५११ पूर्वलडाकूले स्वैच्छिक अवकाश रोजेर चेक बुझेको र अधिकृतका लागि साढे १५ सय पूर्वलडाकूले समायोजन रोजेका थिए ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी