Wednesday, September 5, 2012

खानेपानी संस्थानको स्वामित्व बोर्डमा हस्तान्तरण,संस्थानका प्रमुख नै अनुपस्थित

नगरपालिकामा आयोजित हस्तान्तरण कार्यक्रममा संस्थानका प्रमुख नै उपस्थित नभएपछि खाली रहेका सोफा ।
 भरतपुर । लामो आन्दोलन र पर्खाइपछि खानेपानी संस्थान भरतपुरको स्वामित्व भरतपुर खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ । संस्थानको स्वामित्व हस्तान्तरण सम्बन्धी सम्झौतापत्रमा बुधबार भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक शालिकराम पौडेल र संस्थानका प्रमुख प्रजेन्द्रदास हाडाले हस्ताक्षर गर्नुभएको हो ।
संस्थान बोर्डमा हस्तान्तरणपछि संस्थानको करिब १९ करोड ३४ लाख ७७ हजार रुपैयाँ बराबरको पँुजी बोर्डले पाएको छ । सहमतिसँगै बोर्डले बुधबारबाट संस्थानले प्रयोग गर्दै आएका हरेक सम्पत्ति पाएको हो । संस्थानले सञ्चालन गर्दै आएको आठवटा डिप ट्यूवेल, दुईवटा पानी रिजर्भ टंकीसमेत पाएको छ । संस्थानसँग आठ हजार धारा रहेको थियो । योसँगै वोर्डसँग अव १५ वटा डिप ट्यूवेल भएका छन् ।
त्यस्तै सहमतिमा संस्थानले ग्राहकहरुसँगबाट लिएको करिब २२ लाख धरौटी पनि यही भाद्र मसान्तभित्र बोर्डलाई बुझाउने सहमति भएको छ । सहमति भएसँगै संस्थानमा कार्यरत १४ जना स्थायी कर्मचारीमध्ये चार र २८ जना करारमध्ये १८ जना बोर्डमा आउने भएका छन् । अन्य कर्मचारी भने संस्थानको अन्य कार्यालयमा सरुवा हुने छन् ।
बुधबार २ बजे हुने भनिएको सहमतिपत्र हस्तान्तरण कार्यक्रम सहमतिपत्रमा रहेको संस्थानको दायित्व सम्बन्धी विवादका कारण करिब अढाइ घण्टा ढिलो भएको हो । संस्थानको बुधबारभन्दा अगाडिको दायित्व संस्थानले व्यहोर्नुपर्ने भन्ने सहमतिको बुँदामा संस्थानका प्रमुख हाडाले असहमति जनाउनुभएको थियो ।
संस्थानको असहमतिपश्चात् उक्त बुँदालाई अन्त्यमा उक्त विवाद सहरी विकास  मन्त्रालयको निर्देशनअनुरुप गर्ने भन्ने बुँदा उल्लेख गरी सहमतिपत्रमा हस्ताक्षर भएको बोर्डका कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो ।
विसं २०६४ सालमा नेपाल सरकारले खानेपानीको व्यवस्था गर्न खानेपानी बोर्डको स्थापना गर्ने निर्णय गरेर २०६७ सालमा राजपत्रमा सूचना प्रकाशित गरेर खानेपानी बोर्डको गठन गरेको थियो । सरकारले खानेपानी बोर्डको स्थापना गरेपश्चात् संस्थान र बोर्डबीच खानेपानी वितरण र संस्थानको सम्पत्तिका विषयमा पटकपटक विवाद हुँदै आएको थियो ।
नेपाल सरकार सहरी विकास मन्त्रालयले २०६८ सालको पौषमा मन्त्रीस्तरीय निर्णय गरी संस्थानलाई नयाँ धारा जडान गर्न रोक लगाए पनि संस्थानले अटेर गरी नयाँ धारा जडान गरिरहेको थियो । त्यससँगै संस्थानको सबै पँुजी तथा जिम्मेवारी चैत मसान्तभित्र बोर्डलाई हस्तान्तरण गर्न मन्त्रालयले संस्थानलाई निर्देशन दिएको थियो ।
बोर्डले भने संस्थानले सरकारको आदेशको अपहेलना गरेको भन्दै २०६९ साल साउन ३० गते भरतपुर बोर्डको बैठक बसेर संघर्ष तथा समन्वय उपसमिति गठन गरेर आन्दोलन गर्दै आएको थियो । बोर्डले आन्दोलन स्वरुप यही भाद्र ७ गतेदेखि ११ गतेसम्म संस्थानमा तालाबन्दी गरेको थियो । ११ गते जिल्ला प्रशासन कार्यालयको पहलमा मन्त्रालयको उपस्थितिमा संस्थानलाई बोर्डमा हस्तान्त्रण गर्ने सहमति भएपश्चात् ताला खुलेको थियो ।
२५ हजार घरधुरी रहेको भरतपुर नगरपालिकामा १३ हजार घरधुरीलाई बोर्ड तथा संस्थानले खानेपानी वितरण गर्र्दै आएका थिए ।

संस्थानका प्रमुख नै अनुपस्थित  
भरतपुर । खानेपानी संस्थान भरतपुरलाई भरतपुर खानेपानी बोर्डमा हस्तान्तरण गर्ने कार्यक्रममा संस्थानका प्रमुख प्रजेन्द्रदास हाडा उपस्थित नहुँदा बुधबार सहरी विकास मन्त्रालयबाट आएका दुई जना उपसचिवस्तरका कर्मचारीहरु अढाइ घण्टा अलमलमा परेका छन् ।
दुबै संस्था मिलेर नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा संस्थानका प्रतिनिधिहरु उपस्थित नहुँदा मन्त्रालयबाट आएका सिनियर डिभिजन इञ्जिनियर उपेन्द्रप्रसाद बराल र मन्त्रालयअन्तर्गतको सहरी विकास तथा वातावरणीय संरक्षण आयोजनाका उपनिर्देशक पराग कायस्थसहित कार्यक्रममा उपस्थित पत्रकार तथा बोर्डका सदस्यहरु अलमलमा परेका हुन् ।
संस्थानका प्रमुख हाडाले अन्तिम समयमा आएर हस्तान्तरण कार्यक्रममा उपस्थित नहुने भन्दै मोबाइल स्वीच अफ गरेर बसेको बोर्डका सदस्य होमनाथ पौडेलले आरोप लगाउनुभयो । ‘उहाँले आफँैले तोकेको स्थानमा अन्तिम समयमा नआउने जानकारी दिनुभयो’, उहाँले थप्नुभयो, ‘सार्वजनिक कार्यक्रममा उपस्थित नहुने रे ।’
प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले पटकपटक कार्यक्रममा सहभागी हुन आग्रह गर्दासमेत हाडाले अटेर गरेर सहभागी नहुने अडान लिनुभएको हो । नगरपालिकामा हाडा नआएपछि मन्त्रालयका प्रतिनिधि र बोर्डका सदस्यहरु संस्थानकै कार्यालयमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी