Sunday, September 30, 2012

डब्लुएचओका प्रतिनिधि सहितको टोली माडीमा ,ज्वरो फैलनुअगावै सतकर्ता अपनाउन आग्रह

माडी । गत हप्ता २४ घण्टा बित्दा नबित्दै ज्वरोका कारण माडी गर्दी गाविस वडा नंं. ८ का दुई र वडा नं. ७ का एक जनाको निधन भयो । एकै क्षेत्रमा ज्वरोका कारण तीनजनाको ज्यान गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिनिधिसहतिको टोली अहिले माडी पुगेको छ ।
इपिडोमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका जनस्वास्थ्य निरीक्षक कुमार दाहालको नेतृत्वमा आएको छ सदस्यीय टोलीमा डब्लुएचओका प्रतिनिधि डा.चन्दन ठाकुर पनि रहेका छन् । शनिबार चितवन आएको टोली आइतबार माडी पुगेको छ ।  ज्वरो आएर गत सोमबार उपचारका लागि भरततपुर अस्पतालमा भर्ना भएकी गर्दी गाविस वडा नंं. ८ की लेखा रेग्मीको ज्यान गएको थियो । लेखासँगै उनकी दिदी मेनुकालाई पनि भर्ना गरिएकोमा लेखाको निधनपछि मेनुकालाई तत्कालै काठमाडौं लगिएको थियो । उपचारको क्रममा सोही दिन मेनुकाको काठमाडौंमै ज्यान गएको थियो ।
भरतपुरको चितवन मेडिकल कलेज शिक्षण अस्पतालका ज्वरोको उपचारका लागि भर्ना भएका गर्दी गाविस वडा नंं ७ का एक युवकको गत सोमबार नै ज्यान गएको थियो । २४ घण्टा बित्दा नबित्दै ज्वरोका कारण एकै क्षेत्रका तीनजनाको  यसरी निधन भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले पनि त्यस क्षेत्रमा असोज १० गते नै टोली पठाएको थियो । जुन टोली अझै पनि त्यही क्षेत्रमा नै क्रियाशील नै छ ।
साउनयता मात्रै भरतपुरका मुख्य तीनवटा ठूला अस्पतालमा ज्वरोको उपचारका लागि आएकामध्ये १२ जनाभन्दा बढी बिरामीको मृत्यु भइसकेको छ । ‘त्यसैले समस्या के हो पहिचान गर्न र जनचेतना र सावधानी अपनाउनु पर्ने कुराहरु बुझाउन हामी चितवन आएका हौं’ टोलीका संयोजक कुमार दाहालले भने ।
टोलीमा रहेका चिकित्सकहरुले मृतकहरुको परिवारसँग घटनाका बारेमा बुझ्ने काम गरेका छन् । यसका साथै गर्दी उपस्वास्थ्य चौकीमा उपचार गराउन आउनेमध्ये ज्वरोका शंकास्पद बिरामीको रगतको नमुना पनि संकलन गरेको छ ।
सो स्वास्थ्य चौकीमा दैनिक एक सयको हाराहारीमा बिरामीहरु आउने गरेका छन् । जसमध्ये २५ प्रतिशत ज्वरोका बिरामी छन् । ‘ज्वरो आएकामध्ये शंकास्पद अवस्थाका १७ जनाको रगतको नमुना संकलन गरेका छौं । भरतपुरका अस्पतालबाट पनि यस्ता नमुना संकलन गरेर काठमाडौंमा परीक्षण गर्ने योजना छ’ दाहालले जानकारी दिए । टोलीले सोमबार भरतपुरका अस्पतालको अनुगन गर्दैछ । ज्वरोका बिरामीसँग कुराकानी र नमुना संकलन गर्ने योजना रहेको दाहालले बताए ।
‘मुख्य कुरा ज्वरोको प्रकोप फैलन नदिनु नै हो । यसका लागि मास्क कसरी लगाउने, हाछ्यु कसरी गर्ने, हात धुनु पर्नेसम्मका कुराकानी शिक्षक र स्वास्थ्यकर्मीलाई सिकाएको छौं’ दाहालले जानकारी दिए । ज्वरो आएका बिरामीको अन्य लक्षणहरुसमेत केकस्ता छन् सबै सोधेर रेकर्ड राख्न भनिएको उनले बताए । 
चितवनमा फैलिएको ज्वरोको बारेमा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले पनि रगतका नमुना संकलन गरेर परीक्षण गरेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीअनुसार परीक्षण भएका ३५ वटा नमुनामध्ये आठवटामा इन्फ्लुन्जा ‘ए’ एचवान एनवान भेटिएको छ । छवटामा इन्फ्लुन्जा ‘बी’, सातवटामा ल्याप्टो स्पाइरोसिस र एउटा नमुनामा डेंगु फेला परेको थियो ।





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी