Friday, September 14, 2012

सडक बालबालिकामध्ये २३ प्रतिशतले विद्यालय देखेनन्

नारायणगढ । चितवनमा रहेका सडक बालबालिकामध्ये २३ प्रतिशतले विद्यालय नदेखेको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय बालदिवसका अवसरमा शुक्रबार नारायणगढमा आयोजित कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक भएको हो । कार्यक्रममा ६२ प्रतिशतले कक्षा तीन नपढ्दै बिचैमा छाडेको तथ्याङ्क पनि सार्वजनिक भएको छ ।
९५ जना सडक बालबालिकामा गरिएको अध्ययनमा विद्यालयमा भर्ना नभएका २२ जना, एकदेखि तीन कक्षासम्म अध्ययन गरेका ५९ जना र तीनदेखि पाँच कक्षासम्म अध्ययन गरेका १४ जना रहेको तथ्याङ्कले देखाएको छ । सो तथ्य दियालो परिवारले अध्ययन गरेको हो ।
दियालो परिवार, इन्सेक, महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल कल्याण समितिद्वारा आयोजित बालदिवससम्बन्धी कार्यक्रममा दिइएको तथ्याङ्कअनुसार चितवनमा दुई हजार ८८६ सडक बालबालिका रहेका छन् । जसमध्ये बालक २ हजार ५४ र बालिका ८३२ रहेका छन् । उमेरका हकमा सडक बालबालिका १४ वर्षसम्मका ७१ प्रतिशत र १५ देखि १८ वर्ष सम्मका २९ प्रतिशत रहेका छन् ।
भरतपुर नगरपालिकाभित्रमात्रै सडक बालबालिकाको संख्या ११० रहेको दियालो परिवारको तथ्याङ्कमा उल्लेख छ । सडकमा रहेका बालबालिका मध्ये बुबा आमा दबै जिवित रहेकाको संख्या ४७ प्रतिशत छ भने आमामात्र जिवित भएकाको संख्या २६ प्रतिशत, बुबामात्र जिवित भएकाको संख्या २० प्रतिशत र आमा बुबा गुमाएकाको संख्या सात प्रतिशत रहेको छ ।
सडकमा आउने बालबालिका अनाथ र टुहुरा हुन्छन भन्ने कुरा यो तथ्याङ्कले गलत सावित गरिदिएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । मुख्यरुपमा पारिवारिक माया, सहरी जीवनको मोह र साथीभाइको संगतका कारण बालबालिकाहरु सडकमा आउने गरेको अध्ययनमा उल्लेख छ । दियालो परिवारका कार्यकारी निर्देशक केदार खनालले प्रतिवेदन सार्वजनिक गर्दै सडक बालबालिकाहरुलाई शिक्षाको मूलधारमा ल्याउन एकीकृत कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो ।
दियालो परिवारका अध्यक्ष राजेन्द्र पियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका उपसचिव रामराज सुवेदी, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत कृष्णजयन्ती पौडेल, सुशीला वाग्लेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस्तै राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बाल संगठन बालमन्दिरले शुक्रबार चित्रकला प्रतियोगिता गरेको छ ।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा प्रमुख अतिथि रहनु भएको सो प्रतियोगिताका छात्रछात्राहरुलाई जिल्ला शिक्षा अधिकारी शर्माले पुरस्कार वितरण गर्नु भएको थियो ।
बाल संगठनका सभापति भानुभक्त सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी नमुना उच्च माध्यमिक विद्यालयकी छात्रा राधा लामा, मुनलाइट स्कुल पिठुवाकी छात्रा एलिसा दवाडीलाई ३÷३ हजार रुपैयाँ तथा स्टेशनरी सामान वितरण गरिएको थियो । यस्तै कार्यक्रममा पन्त हाडवेयरका अनुज पन्तले बालमन्दिरमा अध्ययन गर्ने छात्रछात्रा दुई जनालाई छात्रवृति प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा संगठनका सल्लाहाकार, युथ क्लबका प्रतिनिधि, महिला विकासका प्रतिनिधिलगायतले मन्तव्य व्यक्त गर्नुु भएको थियो । कार्यक्रम संगठनका सचिव रामप्रसाद पोख्रेलले सञ्चालन गर्नु भएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी