Wednesday, September 26, 2012

‘श्रीमानसँगै श्रीमतीलाई पनि लालपुर्जा चाहियो’

ठिमुरा । जग्गाको लालपुर्जा श्रीमान् श्रीमती दुबैको नाममा निकाल्न राष्ट्रिय भूमिअधिकार मञ्च नेपालले देशव्यापी अभियान चलाउने भएको छ । चितवनको रामनगर ठिमुरामा बुधबारबाट सुरू भएको मञ्चको तेस्रो राष्ट्रिय परिषद्मा यसबारेमा विस्तृत छलफल गरेर कार्यक्रमहरु तय गर्ने मञ्चका केन्द्रीय अध्यक्ष सोमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
गत वर्षको बजेट भाषणमा सरकारले श्रीमान् श्रीमती दुबैको नाममा लालपुर्जा निकाल्न प्रोत्साहन गर्ने नीति ल्याएको थियो । ‘नेपालमा ९० प्रतिशत महिलाहरु कृषि पेसामा संलग्न भएका छन् । तर उनीहरुको नाममा जग्गा छैन । हामीले श्रीमान् श्रीमती दुबैको नाममा लालपुर्जा निस्कनु पर्छ भनेका थियौं, जुन गत वर्ष सुनुवाइ भएको छ’, अध्यक्ष भण्डारीले भन्नुभयो ।
संयुक्त लालपुर्जा निकाल्दा एक सय रुपैयाँ राजस्व तिर्नु पर्छ । सरकारले नीतिमा समेटे पनि यो कुरालाई जनस्तरसम्म पु¥याउन नसकेको अध्यक्ष भण्डारीले बताउनुभयो । मञ्चको देशका ५२ जिल्लामा समितिहरु निर्माण भएको छ । ती समितिमार्फत संकलित विवरणका अनुसार जम्मा २९१ जनाले संयुक्त लालपुर्जा निकालेको उहाँले जानकारी दिनुभयो ।
मञ्चले भूमिसुधारको योजना तयार गर्न गाउँस्तरमै कार्यक्रम गर्ने तयारी गर्दै छ । ‘हामी ५२ जिल्लाका एक÷एकवटा गाविस छनौट गर्ने छौं । त्यहाँको वस्तुस्थिति अध्ययन गर्ने छौं । त्यसैको आधारमा भूमिसुधार नीति तयार गरेर सरकारलाई बुझाउने छौं’, अध्यक्ष भण्डारीले भन्नुभयो । समस्या नभोगेकाले भन्दा समस्या भोगेकाले नै राम्रो भूमिसुधार योजना बनाउने उहाँले बताउनुभयो ।
सरकारलाई बारम्बार आग्रह गर्दा पनि अझैसम्म भूमिसुधारको गतिलो योजना नल्याएको हुँदा आफूहरुले प्रयास गरेको उहाँले बताउनुभयो । ‘हामीले प्रधानमन्त्रीलाई भेटेर कुरा राख्यांै । सबै दलको कार्यालयमा गएर ज्ञापनपत्र बुझाएका थियौं, तर किन हो कसैले हाम्रो कुरा नसुनेपछि हामी नै भूमिसुधार योजना बनाउन लागेका हौं’, मञ्चकी उपाध्यक्ष गुलावदेवी रामले भन्नुभयो ।
‘सुरक्षित घरबास सबैलाई, खेतीयोग्य जमिन किसानलाई’ भन्ने नाराका साथ मञ्चले देशव्यापी अभियान चलाउन लागेको हो । अरु व्यक्तिको जमिनमा खेती गर्ने धेरै किसानको अवस्था नाजुक रहेको मञ्चकी सदस्य सञ्चमाया तमाङले बताउनुभयो । यसरी खेती गर्नेले पुस्तांै बिताए पनि मोही कायम पर्ने प्रमाण नरहेको उहाँले सुनाउनुभयो ।
मञ्चका केन्द्रीय सदस्य तथा लोपोन्मुख आदिवासी समुदायका भुन्टे राजीले सरकारले लोपोन्मुखहरुलाई भूमि दिनुपर्ने बताउनुभयो । ‘राजीजस्तो लोपोन्मुख जातिले प्रतिव्यक्ति एक हजार रुपैयाँ मासिक भत्ता पाएको छ । तर यो भत्ताभन्दा जग्गा जमिन दिएर खेती गर्ने सीप पनि सिकाए हाम्रो उन्नत्ति हुने थियो’ राजीले भन्नुभयो ।
मञ्चका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल हुनुहुन्थ्यो । जिविसका सूचना अधिकृत बलराम लुईंटेल, मञ्चका संरक्षक बलदेव राम, सप्तरीकी अध्यक्ष रिकमा विकलगायतले बोलेका थिए ।
vie: echitwanpost.net


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी