Saturday, September 1, 2012

ग्रामीण विद्यालयमा ‘डिजिटल’ पुस्तकालय

पिप्ले । कोरियाली विकास अभियानको कार्यक्रमअन्तर्गत चितवनको पिप्लेमा पहिलो पटक डिजिटल पुस्तकालय सुरू गरिएको छ । विद्यार्थीहरुलाई अध्ययनमा रुचि बढाउन नेपाल कोरिया विजडम विद्यालयमा नयाँ सोचका साथ पुस्तकालय स्थापना गरिएको हो ।
बेलायतको उत्तम लण्डन फाउण्डेसनको सहयोगमा नेपाल स्यामुअल उन्दुङले पुस्तकालय सञ्चालन गरेको हो । पुस्तकालयका लागि फाउण्डेसनले एक लाख ३९ हजार रुपैयाँ सहयोग गरेको छ । पुस्तकालयको विद्यालयका प्राचार्य ब्रिजकुमार चौधरीले उद्घाटन गरेका थिए ।
उत्तम लण्डन फाउण्डेसनले पहिलो पटक नेपालमा पुस्तकालयलाई सहयोग गरेको हो । डिजिटल प्रविधिको पुस्तकालय सञ्चालनका लागि प्राविधिक उपकरणहरु भने महावीर पुनको ओएलई भन्ने संस्थाले सहयोग गरेको छ ।
पुस्तकालयमा सत्रवटा कम्प्युटर राखी त्यसैबाट विद्यार्थीलाई पढ्न मिल्ने व्यवस्था मिलाइएको छ । पुस्तकालयमा उपयोगी किसिमका चार हजार डिजिटल पुस्तक राखिएको छ ।
‘चितवन सुगम भएर पनि सोचेअनुसार भएन’, नेपाल स्यामुअल उन्दुङ केन्द्रका अध्यक्ष नवराज पन्तले भने, ‘विद्यार्थीको शैक्षिक विकासका लागि पुस्तकालय स्थापना गरिएको हो ।’ पुस्तकालयमा नेपाली र अंग्रेजी भाषामा अध्ययन गर्न मिल्नेछ ।
विद्यालयको पाठ्यपुस्तक तथा अन्य रचनात्मक पुस्तकलाई कम्प्युटरमा समावेश गरिएको छ । विद्यालयको पठनपाठनमा सहयोग पुग्ने गरी डिजिटल पुस्तकालय स्थापना गरिएको पन्तले बताए ।
नेपालमा भने १२ स्थानमा यस्तो प्रविधिको पुस्तकालय स्थापना भइसकेको छ । कोरियाली सहयोगमा नेपाल कोरिया विजडम विद्यालयमा कम्प्युटर विज्ञानलाई अनिवार्य शिक्षा बनाई पढाउने तयारी गरिएको छ । 
विद्यालयले सात जना चेपाङ विद्यार्थीलाई आवासीय सेवा दिएर निःशुल्क रुपमा पढाउँदै आएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी