Sunday, September 9, 2012

अध्यक्षमा खनाल, थपलिया र सुवेदी उठ्ने

                           चितवन एमालेको अधिवेशन       भरतपुर । गाउँ तथा नगर कमिटीहरुबाट जिल्ला प्रतिनिधि चयन भएसँगै नेकपा एमाले चितवनको निर्वाचन सरगर्मी बढेको छ । शनिबारमात्रै एमालेको गाउँ र नगर समितिबाट प्रतिनिधिहरु चयन भइसकेका छन् ।
प्रतिनिधि चयनसँगै  जिल्लामा नयाँ नेतृत्व कसले हत्याउँछ भन्नेमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला निर्वाचनमा आफूलाई उम्मेदवारी घोषणा गरेकाहरु भने आफूहरुको जीत सुनिश्चित भएको दावी गरिरहेका छन् ।
नेकपा एमाले चितवनको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कृष्णप्रसाद खनाल, नेता जगन्नाथ थपलिया र नेता विजय सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारहरुले आफ्नो जीत सुनिश्चित भएको दावी गरिरहेका छन् । सुवेदीले निर्विरोध गर्नुपर्ने अडान राख्नुभएको छ । 
‘नेकपा एमाले चितवनलाई एकताबद्ध बनाइ राख्नका लागि मेरो पहल निर्विरोध बनाउनेतर्फ केन्द्रित हुनेछ’, नेता सुवेदीले चितवन पोष्टसँग भन्नुभयो, ‘अब तेरो र मेरो पार्टी होइन । सबैको पार्टी बनाउन जरुरी छ ।’
अध्यक्षका प्रत्याशी खनाल निर्वाचनमा आफूले दुई सयभन्दा बढी मतले जित्ने दावी गर्नुहुन्छ । ‘सबै प्रतिनिधिहरुले मलाई विश्वास गर्नुहुन्छ । म अघिल्लो निर्वाचनभन्दा पनि धेरै मतले यसपटक निर्वाचित हुनेछु’, खनालले भन्नुभयो । अध्यक्षकै अर्का प्रत्याशी थपलिया पनि निर्वाचन जित्नेमा विश्वस्त हुनुहुन्छ । ‘म धेरै महत्वाकाक्षी बन्दिनँ, तर सबै क्षेत्रबाट मलाई माया गर्ने प्रतिनिधिहरु आउनुभएको छ । मैले डेढ सयदेखि एक सय साठी मतको अन्तरले निर्वाचन जित्ने छु’, थपलियाले भन्नुभयो ।
अहिले तीन जनाको उम्मेदवारी चर्चामा रहे पनि निर्वाचनमा जाने हकमा दुई जनामात्रै उम्मेद्वार हुने एमाले निकट स्रोतहरुले बताएका छन् । वर्तमान कार्यसमितिको नेतृत्व गरिरहेका खनाल र बाहिरबाट थपलिया वा सुवेदीमध्येमा कुनै एक उम्मेदवारी रहने स्रोत बताउँछ । निर्विरोध निर्माण गर्न एमाले केन्द्रीय सदस्य काशिनाथ अधिकारीको संयोजकत्वमा बनेको पहल समितिले निर्विरोध बनाउन नसकेका खण्डमामात्रै चुनावमा जान सकिने बताइएको छ ।
निर्वाचन हुने हकमा खनालको पक्षबाट उपाध्यक्षमा हालकै उपाध्यक्ष कृष्णभक्त पोख्रेल र सचिवमा अरुणपीडित भण्डारीको उम्मेद्वारी रहने पक्का भइसकेको छ ।
यता थपलिया वा सुवेदीमध्येका एकका तर्फको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद भुर्तेल र सचिवमा इमानसिँह लामा वा केशव रेग्मीमध्ये एक जनाको उम्मेदवारी रहने स्रोतहरुले बताएका छन् । यस्तै उपाध्यक्षमै मुक्ति अधिकारीको नाम पनि अहिले चर्चामा आएको छ । सहसचिवका हकमा भने अहिले महादेवी खतिवडा र पार्वती रावलको नाम चर्चामा छ । निर्वाचनको समीकरणमा यी दुबै जना थपलिया र सुवेदी पक्षधरका मानिन्छन् ।
एमालेको नयाँ नेतृत्वको निर्वाचनमा जिल्लास्तरीय नेताहरु पनि कता लाग्ने भन्नेमा अहिले तछाडमछाड छन् । क्षेत्रस्तरको राजनीतिको प्रभावले पनि आफ्नो उम्मेदवार तय गर्ने गरेको स्रोतले बताएको छ ।
नेता सुरेन्द्र पाण्डेको समर्थन खनाल पक्षधरलाई रहने पक्का भएपछि  अर्का नेता जागृतप्रसाद भेटवाल त्यसको फरक मोर्चामा उभिने सम्भावना छ । यस्तै अहिले निर्विरोधको पक्षमा देखिएका काशिनाथ अधिकारी, देवि ज्ञवालीलगायतका नेताहरुले केन्द्रीय समीकरणलाई आधार मान्दा थपलिया पक्षधरलाई समर्थन गर्न सक्ने सम्भावना बढेको छ ।  यता खनाल पक्षधरलाई  विष्णु घिमिरे, हरि सापकोटा, शैलेन्द्र श्रेष्ठलगायतका नेताहरुको समर्थन रहने स्रोतको दावी छ ।  
भदौ २९ र ३० गते भरतपुरमा हुने आठौं जिल्ला अधिवेशनका लागि शनिबार चितवनका ६५ वटा शाखामा प्रतिनिधि छनौट कार्य सम्पन्न भएपछि अहिले नेतृत्व कसले हत्याउने भन्नेमा जिल्लाभर नै चर्चा चलेको छ ।
जिल्लाका ३६ गाविस, रनपाका १३ र भनपाका १४ वडा तथा रामपुर र क्यान्सर शाखाका गरी एमालेका ६५ वटा शाखा कमिटीहरुबाट करिब ६३५ जना प्रतिनिधि छनौट भइसकेका छन् । एमाले चितवनले प्रतिनिधि छनौटका लागि महिलातर्फ १२ बराबर एक, जनजातिमा १५ बराबर एक, दलित र मजदुरतर्फ आठ बराबर एक, अन्यतर्फ २० जना बराबर एक तथा मधेशी र मुस्लिमतर्फ १० जना बराबर एकको अनुपातमा प्रतिनिधि छनौट विधि तयार गरेर प्रतिनिधि छनौट गरेको हो ।






No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी