Thursday, November 1, 2012

जीवनको नयाँ अध्याय सुरू गर्छाैं ः पूर्वलडाकू


दोस्रो किस्तावापतको रकम बुझेपछि एक पूर्वलडाकू महिला प्रतिक्रिया दिँदै ।
भरतपुर । ‘जीवनको एक अध्यायको समाप्त भएको अनुभूति भइरहेको छ, अब नयाँ अध्यायको सुरूवात गर्ने साेंचमा छु’, आफूले पाउने अन्तिम किस्तावापतको रकमको चेक बुझेर फर्किदै गरेका अधिकांश माओवादी जनसेनाका पूर्वलडाकुहरुले भने । ‘हामीले आफ्नो जीवनलाई जेमा समर्पित गर्न चाहेका थियौँ त्यो भएन’, अधिकांशको एउटै दुःखेसो थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा चेक वितरणका लागि स्थापना गरिएको अस्थायी शिविरबाट चेक बुझेर फर्कदँै छन् तेस्रो डिभिजन शक्तिखोर तथा मातहतका सहायक शिविरबाट स्वैच्छिक अवकाश रोजेका पूर्वलडाकूहरु । तेस्रो डिभिजनमा दुई हजार ७२२ जनाले अवकाश रोजेका थिए । शिविर कात्तिक २५ गतेसम्म चल्ने बताइएको छ ।

पहिलो किस्तावापतको रकमले काठमाडौँमा कपडा पसल खोलेको बताउने सिन्दुपाल्चोककी २४ वर्षीया नवीना तामाङले भनिन्, ‘यो किस्ताबाट आएको पैसा पनि पसलमा नै लगानी गर्छु ।’ २०६१ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ताको रुपमा जनमुक्ति सेनामा प्रवेश गरेकी उनलाई बिदाइको अन्तिममा आएर बीच बाटोमा अलमलिएको भान भएको छ ।
हामीलाई अलपत्र पारियो

‘हामीलाई अलपत्र पार्ने काम भयो, यो सानो रकमले हामीले के नै पो गर्न सक्छौँ र ?’, उनले भनिन्, ‘पछि अवकाश रोज्ने साथीहरुलाई जस्तै हामीलाई पनि एकमुष्ट दिएको भए केही हुन्थ्यो ।’ जुन आशाका साथ युद्धमा लागिएको थियो त्यो पूरा हुन नसक्दा कताकता मन खिन्न भएको उनले बताइन् ।

‘ठीकै छ, एउटा अध्यायको समाप्त भएको छ, अब नयाँ अध्यायको थालनी गर्दैछु’, तामाङले थपिन् । उनीमात्र होइन, सँगै बसेका साथीहरुसँगको विछोड र देखाइएका सपनाहरु पूरा नहुँदै फर्कनुपर्दा अन्य लडाकूको मन पनि कँुडिएको छ ।

‘जीवन संघर्ष हो, फेरि पनि गरौँला तर पनि कताकता पीडा त हुन्छ नि’, बाँके कोहलपुरका योगेन्द्र सुवेदीले भने । राजनीति र क्रान्तिका कुरा सुन्न नचाहने उनले बाँकी जीवन कृषिमा बिताउने सोंच बनाएका छन् ।

‘छाडाँै यी कुरा फेरि संघर्ष गर्नुछ, जीवनको नयाँ अध्यायका लागि’, तर्कने मनसायका साथ कुरा टुङ्ग्याउन खोज्दै उनले भने । ‘नेपालमा कृषिमा केही गर्न सकिन्छ कि भन्ने लाग्दैछ, अब खेती किसानी गर्नुपर्ला’, सुवेदीले थपे ।
चितवनमा ६४१ देशैभर चार हजार २५०ले बुझे चेक

चितवनमा स्थापना भएको शिविरबाट बिहीबार सम्म ६४१ ले दोस्रो किस्तावापतको चेक बुझेको सेना समायोजन विशेष समितिअन्तर्गतका सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । त्यस्तै देशभरबाट चार हजार २५० पूर्वलडाकूले चेक वुझेको उहाँले बताउनुभयो ।
विभिन्न सातवटा मुख्य शिविर रहेका जिल्लाहरुबाट चेक वितरण भइरहेको छ ।




 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी