Saturday, November 3, 2012

‘देशमा भद्रगोल भयो, कसैले टेर्दैनन्’

हेल्लो ः गैँडाकोटमा शनिबार भएको एक कार्यक्रममा उपस्थित एक वृद्धा मोवाइल फोनमार्फत आफन्तसँग कुरा गर्दै ।
गैँडाकोट । ‘देश बिग्रियो कसैले कसैलाई टेर्दैनन्, सब आफ्नो सुरमा हिँडेका छन्’, गैँडाकोट–२ का १०२ वर्षीय चन्द्रकुमार प्रधानले भन्नुभयो । शान्ति देश नेपाल अशान्त बन्दै गएको भन्दै उहाँजस्ता वृद्धवृद्धाहरु चिन्तित छन् ।

वृद्धवृद्धा कल्याणकारिणी प्रतिष्ठान नेपालले गरेको प्रतिष्ठान उद्घाटन तथा वृद्धवृद्धा सम्मान कार्यक्रममा सम्मानित अधिकांश वृद्धवृद्धाहरुले यस्तै चिन्ता व्यक्त गरे । ‘पहिले सबैले सबैको आदार गर्थे, भनेको मान्थे तर अहिले कसैले मान्दैनन्’, वृद्ध प्रधानले भन्नुभयो ।

राजनीतिप्रति कुनै चासो नराखे पनि उहाँले नेताहरुले देशलाई बिगारेको आरोप लगाउनुभयो । संविधानको बारेमा चितवन पोष्टले सोधेको प्रश्नमा उहाँले संविधान बनाउँछाँै भनेर गएका थिए बनाएनन् भन्नुभयो । झगडाले गर्दा देश बिग्रिएको उहाँको आरोप थियो ।

भरतपुर नगरपालिका क्षेत्रपुरकी  १०९ वर्षीया डल्लीमाया बसेलले देशमा शान्ति छाएको हेर्ने चाहना व्यक्त गर्नुभयो । ‘शान्ति देश सधँै शान्ति रहोस्’, उहाँले भन्नुभयो ।
बूढेसकालमा सबैको भलो होस् भन्ने कामना गर्नुहुने वृद्धाले अस्पष्ट रुपमा बोल्दै कसैले पनि दुःख देख्न नपरोस् भन्ने कामना व्यक्त गर्नुभयो । ‘पहिला हामीलाई साह्रै दुःख थियो, सबै काम आफँैले गर्नुपथ्र्यो तर अहिले त्यस्तो छैन्’, सम्मानित बसेलले भन्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानले चितवन र नवलपरासीका २२ जना वृद्धवृद्धालाई सम्मानित गरेको थियो । भरतपुर नगरपालिकाका छ, गैँडाकोट गाविसका ११ र मुकुन्दपुर गाविसका पाँच जना वृद्धवृद्धालाई दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीले सम्मानपत्र एवम् मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा उहाँले वृद्धवृद्धा ऐन–२०६३ कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

‘बनेका ऐन र नियमावली कार्यान्वयन भएमात्र पनि वृद्धवृद्धाहरुलाई राहत हुन्छ’, उहाँले भन्नुभयो । आफूलाई जन्म दिने आमाबाबुप्रतिको दायित्वबोध सबैले गर्नुपर्ने उहाँको भनाइ थियो ।
समाजमा वृद्धवृद्धाहरुको लागि पनि दिवा सेवा केन्द्रको स्थापना गर्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै वृद्धवृद्धाहरुका लागि सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गर्न सके वृद्धावृद्धाहरु स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता टर्ने उहाँको भनाइ थियो ।

उहाँले वर्षमा एक दिन भए पनि वृद्धवृद्धाहरुको सम्मानको लागि कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको आंैल्याउनुभयो । कार्यक्रममा एकीकृत माओवादीका पोलिटव्यूरो सदस्य चन्द्रप्रकाश खनाल ‘बलदेव’ले वृद्धावृद्धालाई अपमान गर्नेलाई समाजिक बहिष्कार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्रि पाण्डे, तमलोपाका सहमहामन्त्री जीतेन्द्र सोनल, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हिमाल शर्मालगायतले बोल्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी