Wednesday, December 19, 2012

स्थानीयले मानेनन् जिल्लाको सहमति ,दलका प्रमुख र स्यानीयको वार्ता आज


माडीमा गठित संघर्ष समितिका माग अंकित व्यानर ।
माडीमा हात्ती आतंक प्रकरण
कसरा । जिल्ला प्रशासन कार्यालयमा चितवनका राजनैतिक दलहरुले प्रमुख जिल्ला अधिकारी र चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग गरेको सहमति माडीमा प्रदर्शन गर्दै आएको संघर्ष समितिले अस्वीकार गरेको छ । संघर्ष समितिले जिल्लामा आज बिहीबार वार्ता गर्ने भएको छ ।

स्थानीय संघर्ष समिति सहमत नभएपछि जंगली हात्तीको आक्रमणमा परेर शनिबार मध्यरातमा ज्यान गुमाएका माडी गर्दी गाविस वडा नं. ९ द्रोपतीनगरका वृद्ध दम्पतीको बुधबार पनि दाहसंस्कार भएन । उनीहरुलाई मार्ने जंगली हात्ती नमार्दासम्म दाहसंस्कार नगर्ने संघर्ष समितिको अडान छ ।

जिल्लाका दलहरुले हात्ती मार्ने काममा प्रशासन सक्रिय नभएको आरोप लगाउँदै दबाब स्वरुप बुधबार चार घण्टा जिल्ला बन्द गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीसहित दलहरुबीच बसेको बैठकले मृतकका परिवारलाई तत्काल राहत स्वरुप तीन÷तीन लाख रुपैयाँ दिने सहमति गर्दै दाहासंस्कार गर्न अपिल गरेको थियो ।

तीन लाख अहिले दिने र थप सात÷सात लाख रुपैयाँ दिन मन्त्रालयमा माग गर्ने सहमति पनि सो बैठकमा भएको थियो । त्यस्तै मृतकका परिवारका एक जना सदस्यलाई निकुञ्जमा रोजगार दिने सहमति पनि भएको छ । हात्ती मारेरै छाड्ने सहमति गरेर जिल्लाका दलहरु निस्के पनि माडीमा संघर्ष गरेका स्थानीयले त्यसलाई अस्वीकार गरेका थिए ।

‘यो त पुरानै कुरा हो, नयाँ केही भएन । त्यसैले हामीले दाहसंस्कार गरेनौं’, माडीमा संर्घषरत बोटे समाजका अध्यक्ष जेना बोटेले भने । स्थानीय संघर्ष समितिले मृतकका परिवारलाई तत्काल दस÷दस लाख रुपैयाँ राहत रकम दिनु पर्ने माग गरेका छन् ।


त्यस्तै संघर्ष समितिको मागमा माडी जाने निकुञ्जभित्रको बाटो २५ मिटर चौडा बनाउनु पर्नेसमेत उल्लेख छ । माडीका संघर्ष समितिका पदाधिकारीले बिहीबार बिहान जिल्ला प्रशासनमा फेरि वार्ता गर्ने निर्णय गरेका छन् । माडी क्षेत्रको गर्दी गाविसमा कात्तिक १७ गतेयता शनिबारसम्म हात्तीको आक्रमणमा परेर चार जनाको ज्यान गएको छ ।

सो हात्तीले चितवनलगायत बारा र पर्सामा पनि मान्छे मारेको सम्भावना निकुञ्जका अधिकारीहरुको छ । पटकपटक मान्छे मार्न थालेपछि सो हात्तीलाई नै मार्ने निश्कर्षमा चितवनका दलहरु र प्रशासनका अधिकारीहरु पुगेका हुन् ।

शनिबार मध्यरातमा बुद्धिराम बोटे र उनकी श्रीमती जरियालाई हात्तीले मारेपछि सो हात्तीलाई तत्काल मार्नु पर्ने मागसहित स्थानीयले संघर्ष नै सुरू गरेका छन् । बुधबार जिल्लामा दलहरुसँग सहमति हुँदा स्थानीय संघर्ष समितिका कोही प्रतिनिधि सामेल थिएनन् ।

हात्ती मार्न निकुञ्जका प्राविधिक, कर्मचारी र नेपाली सेना सोमबारदेखि नै परिचालित छ । तर बुधबार अबेलासम्म पनि गोली हान्न नसकिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले बताए । जंगलमा झाडी र ठूला रुख भएकाले हात्ती देखिन मुश्किल हुने गरेको टोलीमा संलग्न रेञ्जर विष्णु थपलियाले बताए ।

आन्दोलनप्रति ऐक्यबद्धता

यसैबीच मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति कसराले हात्ती आतंकको विरुद्धमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

समितिले बुधबार विज्ञप्ति जारी गरी संघर्ष समितिले राखेका मागहरु पूरा गर्न आग्रह गरेको छ । बन्दको क्रममा गरिएका आगजनी तथा तोडफोडको भने विरोध गरिएको छ । विज्ञप्तिमा अराजक गतिविधि गर्नेमाथि कानुनी कारबाही गर्न पनि माग गरिएको छ ।
ध्रुवेसँग सम्वन्धित अन्य समाचार पढ्न तल क्लिक गर्नुहोस । अन्ततः मारिने भयो ध्रुबे !
हात्ति मार्न १० बजे सम्मको अल्टिमेटम, संयमित रहनु निकुञ्जको अनुरोध गएराति फेरी दुई घरमा क्षति
टीयूटरमा ध्रवेको चर्चा, मलाई बचाउ:ध्रुवे 
माडीमा हात्ती आतङ्क, आन्दोलन आक्रामक, अश्रुग्यास प्रहार

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी