Saturday, January 19, 2013

के म सबै नारीलाई क्लियोपेट्राको संज्ञा दिऊँ ?


विष्णुमायाजी नमास्कार !
तपाईले माघ १ गतेको चितवन पोष्ट राष्ट्रिय दैनिकमा लेख्नुभएको
महिलाहरुलाई खेलौना बनाउने कामुक पुरूषलाई चिठ्ठी शीर्षकको पत्र पढेर खुसी लाग्यो । तपाईको महिला हिंसाविरूद्धको आवाजलाई म उच्च सम्मान प्रकट गर्न चाहन्छु । महिला हिंसाविरूद्धको तपाईंको अभिमतमा मेरो पनि पूर्ण ऐक्यबद्धता र समर्थन रहेको जानकारी गराउन चाहन्छु । 

तपाईंको त्यो पत्र पढ्दै गर्दा मलाई यसको जवाफ लेख्न मन लाग्यो । अझ भनौँ, म आफैँ बाध्य भएँ । तपाईंलाई पत्र कोर्नु ठीक हो या होइन, तर पनि सहर्ष स्वीकार्नु हुनेछ । हो, समाज पुरूषप्रधान छ । पुरूषहरुको हालीमुहाली अझै पनि समाजमा व्याप्त छ । अहिले महिला हिंसाका घटनामा वृद्धि भइरहँदा तपाईंमा यो भावना पलाउनु अन्यथा मान्दिनँ । तर पनि तपाईंको पत्रमा भनिएझैँ के सबै पुरूषहरु कामुक नै हुन्छन् त ? मेरो पत्र तपाईंलाई यही प्रश्न सोध्न आतुर छ । तपाईंले यससँगै किन सोच्न सक्नुभएन कि यहाँ महिला हिंसाविरूद्ध पुरूषले समेत आवाज उठाइरहेका छन् । आधा आकाश महिलाले ओगटेका छन्, फेरि त्यत्तिकै संख्यामा यहाँ पुरूषहरु पनि त छन्, होइन र ? के महिला र पुरूष एकअर्कोलाई छाडेर एक्लै अगाडि बढ्न सक्छन् ? तपाईंको पत्र पढिसकेपछि ‘म’ पुरूष भएकोले यसको उत्तर खोज्न चाहेँ । 

तपाईंले उठान गर्नुभएको कुरामा म समर्थन गर्न चाहन्छु । यहाँ तपाईंका संगिनीहरु दाइजो नल्याएकै निहुँमा मारिन्छन, कुटिन्छन् र जलाइन्छन् । तर मेरो यहीँनेर तपाईंलाई प्रश्न पनि छ । के ती तपाईंका मात्र संगिनीहरु हुन्, हाम्रा होइनन् ? उनीहरुको पीडामा हाम्रो मन रूँदैन ? उनीहरु पनि हाम्रा दिदीबहिनी हुन्, आमा हुन्, हजुरआमा हुन्, भाउजू हुन्, प्यारी पनि त हुन् । उनीहरुको माया तपाईंलाई जति छ, त्यति नै मलाई पनि छ र मसँगै अरु पुरूषहरुलाई पनि छ । हो, यहाँ केही नरपिचासहरु छन्, तर पनि सबैलाई एकै तराजुमा जोख्दा के अन्याय हुँदैन ? के तपाईंले पुरूषलाई कामुक भनेजस्तै मैले हरेक महिलालाई क्लियोपेट्राको संज्ञा दिऊँ ? विश्वलाई सुन्दरताको बहानामा थर्कमान पार्ने कुख्यात नारीहरु पनि त यहाँ थिए र अहिले पनि छन् । विश्वलाई स्वतन्त्रताको अमृत पिलाउन स्वतन्त्रता संग्राममा हिँडेका राजकुमार हरमासिसलाई उनले दिएको यातनालाई सम्झेर म हरेक महिलालाई उही तराजुमा राखेर जोखाँै ? एक पटक पढ्नुहोला, यो कृति पनि । के तपाईंले वेद र उपनिषद्हरु पढ्नुभएको छैन ? सुन्दरताले ऋषिमुनीको ध्यान भङ्ग गर्ने अप्सराहरुको कथा पनि ? के भन्नुहुन्छ, तपाईं तिनीहरुलाई ? यहाँ एकै ड्याङबाट निकालिएका आलु र मूलाहरुसमेत फरक हुन्छन्, तर तपाईंले त पुरानो उखानलाई चरितार्थ पार्ने अभीष्टले सबै पुरूषलाई एकै ड्याङका मूलाको संज्ञा दिनुभयो, दुःख लाग्यो । महिलाहरु हिंसामा परिरहँदा कारक के हो भनेर खोज्ने प्रयास तपाईंले गर्नुभएन । 

समाजमा महिला हिंसा आजभन्दा हिजो बढी भएको थियो, जुन बाहिर आएको थिएन । आज बाहिर आउँदा बढी भएजस्तो मात्र लागेको हो, तर यही कारणले कम हुँदै पनि गएको छ । तपाईंले यो सोच्नुभयो कि भएन, पक्कै पनि तपाईं घरमा आमाकी भन्दा बाबाकी प्यारी हुनुहुन्छ । भनिन्छ नि– बाबाकी छोरी प्यारी, आमाको छोरो प्यारो । यहाँ बुहारीमा पनि त्यही हुन्छ । सासूले भन्दा ससुराले बुहारीलाई माया गरेको पाइन्छ, हाम्रो समाजमा । बुहारीलाई ससुराले हातपात गरेको कमै सुनिन्छ, तर सासूले बुहारी कुटेका समाचारहरु बग्रेल्ती रुपमा बाहिर आएका हुन्छन् । बुहारीले दाइजो कम ल्याएको भन्दै सासूले छोरोलाई उक्साएका घटनाहरु बाहिर आएको सुनेको छु, तर ससुराले छोरो उक्साएर बुहारी कुटाएको कमै छ, अझ नहोला पनि । अनि यहाँ तपाईंले भने र सोचेजस्तो कहाँ भयो त ? 

महिलामाथि हुने हिंसा न्यूनीकरणमा हामी मिलेर लाग्नुपर्छ । महिलामाथि बलात्कार हुनुहुँदैन, यो अपराध हो । तर यहाँ पुरूषमाथि बलात्कार भएका घटनाहरु पनि त नआएका होइनन् । नेपालमा पनि यस्ता घटनाहरु बाहिर आउन थालेका छन् । सर्वाेच्च अदालतले पनि यो ठहर गर्दै कानुन ल्याउन सरकारलाई निर्देशन दिएको खबर केही समयअगाडि आएको थियो । एक पुरूष खराब भयो भने त्यसलाई खराब भन्नुपर्छ । एक नारी खराब छ भने तपाईंले पनि खराब भन्न सक्नुपर्छ । महिलाले नै महिलालाई बेचेका घटनाहरु बाहिर आएका छन् । अदालतले पनि चेली बेचेको आरोपमा महिलालाई नै सजाय दिएको उदाहरण तपाईंले पनि सुन्नुभएकै होला ! 

के यहाँ तपाईंले ठानेजस्ता महिलाहरु सबै गंगाजलले पखालिएर चोखिएका छन् त ? समाजले बहिष्कार गरेका महिलाहरुको कथा पढ्नुभएको छ ? यम र यमीको कथा तपाईंले पढ्नुभयो ? मेरो विवाहित साथी विदेशमा कमाउन गयो । आफ्नी प्राणप्यारी भन्दै कमाएको सम्पत्ति श्रीमतीको नाममा पठाउँदै गयो । पाँच वर्ष विदेशबाट फर्कंदा न त नेपालमा उसकी प्राणप्यारी नै थिई, न त उसले पाँच वर्षमा पठाएको सम्पत्ति नै थियो । यो घटनालाई के भन्नुहुन्छ ? लाग्ला, तपाईंलाई यो कथा हो तर यस्ता खबरहरु पनि समाचारका पानाहरुमा प्रकाशित हुन थालेका छन् । तपाईंले यसलाई पनि नजरअन्दाज गरेर अगाडि बढ्न मिल्दैन । विवेकशून्यका रुपमा तपाईंले पुरूषलाई परिभाषित गरिरहँदा म सोच्न बाध्य भएँ– के म विवेकशून्य नै छु त ? 

तपाईंले निराशाको कोणबाट गुज्रँदै त्यो पत्र कोर्नुभयो । यति निराश भएको पाएपछि विसंगतिवादी रुपमा शून्यवादी नहुन सुझाव दिन्छु । पुरूषसँगको संगतले तपाईं अघाउनुभयो भन्ने सुन्दा दुःख लाग्यो । के तपाईँ पुरूषविना अगाडि बढ्न सक्नुहुन्छ ? नारी र पुरूष एक रथका दुई पाङ्ग्रा हुन्, के तपाईको जीवनयात्रा एक पाङ्ग्राले कुद्न सक्ला ? यो तपाईंले सोच्नुभएको छ कि छैन ? तपाईंले पुरूषलाई गाली गरिरहँदा आफ्नै बाबुलाई समेत कामुक बनाएर के सिद्ध गर्न खोज्नुभएको हो, मैले बुझ्न सकिनँ । सृष्टि नै यस्तो बनेको छ कि न त पुरूष महिलाविना न त महिला पुरूषविना एक्लै यात्रामा कुद्न सक्छन् । 

त्यसैले विष्णुमायाजी, तपाईंसँग मेरो विनम्र अनुरोध छ– आउनुस्, महिला हिंसाको विरूद्ध तपाईं हामी साथ मिलेर अगाडि बढाँै । हामी अगाडि बढ्दा पुरूषमाथि हुने हिंसाविरूद्धको आवाजलाई पनि उठाऔँ । हामी समाजका क्लियोपेट्राहरुविरूद्ध आवाज बुलन्द गरौँ, अनि बल्ल तपाईंले, मैले र हामीले सोचेजस्तो समुन्नत समाज बन्न सक्छ ।
उही नारीलाई सम्मान गर्ने, तपाईंहरुकै अल्टर कान्छो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी