Wednesday, January 23, 2013

रवानाको आदेशसँगै ट्राफिकमा जनशक्ति कम

ट्राफिक व्यवस्थापन कठिन ः ट्राफिक प्रमुख भट्ट
विधुर ढकाल
भरतपुर । चितवनमा जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ देखिएको छ । कम जनशक्ति रहेको कार्यालयमा प्रहरीमा रवानाको खैलाबैलासँगै जनशक्ति झन् घटेको छ । योसँगै सडकमा खटिने ट्राफिक प्रहरीको संख्यामा पनि कमी आएको छ ।

यसअघि कुल ३१ दरबन्दी रहेको जिल्ला ट्राफिक कार्यालयमा काजमा रहेका ट्राफिक प्रहरीसँगै कुल ५४ जना प्रहरी रहेकोमा अहिले घटेर ३६ जना ट्राफिकमा सीमित भएको छ । यसले यातायात व्यवस्थापनमा समस्या आएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णदत्त भट्टले जानकारी दिनुभयो ।


चितवनमा बढेको यातायातका साधनको चापसँगै ट्राफिकको संख्या घट्दा रहेका ट्राफिकलाई कामको चाप बढेको उहाँले बताउनुभयो । ‘कम जनशक्ति हुँदा कार्यसमय बढेको छ’, ट्राफिक प्रमुख भट्टले भन्नुभयो, ‘पहिले दुईदेखि तीन जनाको संख्यामा ट्राफिक बस्ने स्थानमा अहिले एक जनालाई काममा खटाएका छौँ ।’

कार्यालयबाट काजमा रहेका बाहिरी क्षेत्रबाट काजमा रहेका ट्राफिकहरु रवाना भइसकेको उहाँले जानकारी दिनुभयो । ‘बाहिरी क्षेत्र, जनपथ तथा दंगा प्रहरीबाट काजमा आएका प्रहरी दरबन्दी भइसकेको स्थानमा पुगी सक्नुभएको छ’, ट्राफिक प्रमुख भट्टले भन्नुभयो, ‘मध्यक्षेत्र अन्तर्गतका जिल्लाका अझै आठ जना ट्राफिक प्रहरी अझै काजमा यहाँ रहेका छन् ।’ उनीहरु गएपछि झन् समस्या थपिने उहाँले बताउनुभयो ।

चितवनको सवारी चापलाई हेर्ने हो भने न्यूनतम १२५ ट्राफिकको आवश्यक रहेको प्रमुख भट्टको भनाइ छ । सोअनुरुप मध्यक्षेत्र ट्राफिक कार्यालयमा पत्राचार गरिसकेको समेत उहाँले बताउनुभयो ।

जनशक्ति कम हुँदा ट्राफिकलाई आवश्यक स्थानमा समेत खटाउन नसकिएको उहाँको भनाइ छ । ‘पूर्वी चितवन तथा पश्चिम चितवनका सहरोन्मुख क्षेत्रमा ट्राफिक खटाउनु पर्ने आश्यकता देखिन्छ । तर जनशक्ति अभाव छ’, भट्टले भन्नुभयो, ‘पश्चिम क्षेत्रको चनौली, मंगलपुर तथा माडी क्षेत्रमा ट्राफिकको अत्यन्त आवश्यकता छ ।’

पूर्वी चितवनमा समेत जनशक्ति कम भइरहेको उहाँले जानकारी दिनुभयो । यता, चितवनको मुग्लिनमा समेत ट्राफिकको संख्या न्यून छ । चितवनमा कुनै ठूला कार्यक्रमको आयोजना भयो भने कार्यालयले बाहिरबाट ट्राफिक मगाएर काम चलाइरहेको छ ।

केही समयअगाडि सम्पन्न चितवन महोत्सव तथा मकर मेलामासमेत बाहिरी जिल्लाबाट ट्राफिक काजमा ल्याइएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो ।

यसैबीच न्युन जनशक्ति भए पनि बाहिरी जिल्लामा ठूला कार्यक्रम भए यहाँका जनशक्तिलाई त्यता पठाउनुपर्ने उहाँको भनाइ छ । ‘हामीले बाहिरदेखि बोलाएर काम चलाएका छौं, त्यस्तै परे बाहिर पनि पठाउनु पर्छ’, उहाँले भन्नुभयो ।

यही माघ २० देखि मकवानपुरको हेटाँैडामा हुन गइरहेको एकीकृत नेकपा माओवादीको सातौँ केन्द्रीय महाधिवेशनका लागि चितवनबाट तीन जना ट्राफिक प्रहरी काजमा खटाइने भट्टले जानकारी दिनुभयो । ‘कम जनशक्ति भएका कारण पनि सोचेजस्तो कार्य देखाउन सकिएको छैन’, उहाँले भन्नुभयो, ‘काममा पनि सुस्तता आउँदो रैछ ।’

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी