Sunday, August 12, 2012

उपरदाङगढी संरक्षणमा सरकार उदासीन

 होमनाथ सापकोटा

रत्ननगर । संरक्षणमा सरकारी निकायको उदासीनताका कारण ऐतिहासिक महत्व बोकेको  उपरदाङगढी जीर्ण बनेको छ ।
चितवनका पर्यटन व्यवसायी र जिल्ला विकास समितिले संरक्षणको लागि उचित कदम चाल्न नसक्दा पर्यटकीय सम्भावना बोकेको चितवनको विकट पहाडी क्षेत्रमा पर्ने उपरदाङगढी जीर्ण बनेको हो । चितवन नेपालकै तेस्रो पर्यटकीय नगरी भएपनि प्रशस्त पर्यटकीय सम्भावना बोकेको उपरदाङगढीको वर्षौ बितिसक्दा पनि संरक्षण हुन सकेको छैन ।
उपरदाङगढीको संरक्षण गरी त्यस क्षेत्रमा पर्यटक लैजान सके चितवनमा थप पर्यटक भित्र्याउन सकिने थुप्रै सम्भावनाहरु रहेका छन् । पर्यटकलाई सौराहा क्षेत्रमा मात्र केन्द्रित गरेर मोटो रकम कमाउन मात्र तल्लीन हुने सौराहाका व्यवसायीहरु नयाँ पर्यटकीय सम्भावनाको विकास गर्न त्यति सकारात्मक छैनन् ।
पर्यटन विकासको लागि जिल्ला विकास समिति चितवनले वार्षिक रुपमा रकम विनियोजन गर्ने गरेको छ ।
विनियोजित रकम पर्यटकीय सम्भावनाका ठाउँहरुको अवलोकन भ्रमण गरेर मात्र सकिने गरेकाले जिविसले विनियोजन गर्ने रकम उपरदाङगढीको संरक्षणमा खर्च हुन सकेको छैन । उपरदाङगढीको संरक्षण गरेर त्यस क्षेत्रमा पर्यटक लैजान सकिने सम्भावना हँुदाहुँदै पनि जिल्लाको सरकारी निकायको उदासीनताले महत्वपूर्ण गढी ओझेलमा परेको वर्ड एजुकेसन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विडारीले बताउनुभयो ।
गढीमा रहेका यस्ता पुरातात्विक वस्तुहरु स्वदेशी तथा विदेशी पर्यटकका लाई देखाएर पर्यटक लोभ्याउन सकिन्थ्यो वर्ड एजुकेशन सोसाइटीका पूर्व अध्यक्ष विडारीले भन्नुभयो, ‘चितवनका सरकारी निकाय र यहाँका पर्यटन व्यवसायीहरुले गढीको महत्व बुझ्न सकेनन् ।’
‘गढीको संरक्षण गर्न सके त्यस क्षेत्रमा पर्यटक पु¥याएर पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ’ उहाँले भन्नुभयो । अङ्ग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाको लागि विक्रम सम्वत् १८५७ भन्दा अगाडि पृथ्वीनारायण शाहका नाति शत्रुभजन शाहले उपरदाङगढी निर्माण गरेका थिए ।
समुन्द्री सतहदेखि १२७५ मिटर उचाइ तथा ६३९ स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको सो गढी चितवन दाहाखानी गाविसमा अवस्थित रहेको छ  । लामो समयसम्म संरक्षण हुन नसकेकाले भग्न अवस्थामा मात्र देख्न सकिन्छ । यसको निर्माण ढुङगा, माटो तथा चुनबाट गरिएको हो । गढी भत्किएर भग्न अवशेस मात्र रहेको छ ।
गढीभित्रको अवस्था जीर्ण भएपनि महत्वपूर्ण संरचना मात्र पुरानो अवस्थामा रहेका छन् । गढीभित्र तोप, गोली, गठठ राख्ने गरिन्थ्यो भन्ने अड्कल त्यहाँ पुग्नेहरुले गर्ने गरेका छन् । गढी परिसरमा विभिन्न पुरातात्विक एवम् ऐतिहासिक चिनो अहिले पनि छन् ।
अङग्रेजसँग लड्दा प्रयोग भएका सामग्री र लड्नलाई केन्द्र बनाइएको गढी संरक्षणको लागि आजसम्म कसैले पनि चासो नदेखाएको उपरदाङगढीका विज्ञ सूर्यबहादुर मास्केले बताउनुभयो । ‘यो विश्वसामु लडेको ठाउँ मात्र होइन चितवनको पुरानो सदरमुकाम पनि हो’ मास्केले भन्नुभयो, ‘पुरानो सदरमुकामको हिसाबले पनि चितवनका सरकारी निकायले यसको संरक्षण गर्नुपर्छ ।’
‘नेपालको इतिहासमा छुुट्टै पहिचान बोकेको उपरदाङगढीको खस्किदो संरचना प्रति सबै गम्भीर हुन जरुरी रहेको छ’ मास्केले बताउनुभयो । संरक्षण गर्न सके चितवनको लागि मात्र नभई उपरदाङगढी सिंगो देशकै लागि महत्वपूर्ण स्थान ठहरिन सक्ने उहाँको भनाइ रहेको थियो ।
२०१८ सालसम्म महत्वपूर्ण अड्डा अदालतहरु सबै त्यस क्षेत्रमा रहेको भए पनि सुगम क्षेत्रको खोजीमा सदरमुकाम भरतपुरमा सारेपछि त्यस क्षेत्रमा सरकारी निकाय फर्केर नगएको विज्ञ मास्केले भन्नुभयो ।






No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी