Monday, September 3, 2012

अज्ञात ज्वरोका बिरामीले अस्पताल खचाखच ‘मेनिन्गो इन्सिफ्लाइटिस’का चार बिरामीकोे मृत्यु

भरतपुर । चितवनमा केही दिनयता पत्ता लाग्न नसकेको ज्वरोका बिरामीहरु बढेको जिल्लाका प्रमुख अस्पतालका फिजिसियन डाक्टरहरुले बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले सोमबार गरेको डेङ्गु तथा अन्य ज्वरो सम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेडिकल विभागका फिजिसियन डा. भोजराज अधिकारीले यस वर्ष डेङ्गुका बिरामीहरु कम आएको भन्दै अन्य ज्वरोका अन्य लक्ष्यणहरु देखिएको बताउनुभयो । ‘यस वर्ष ज्वरो आउँदा बिरामीहरुमा स्वासप्रस्वासमा समस्या देखिएको छ, मेरुदण्ड दुख्नेलगायतका लक्ष्यणहरु देखा पर्ने गरेको पाइएको छ’, उहाँले भन्नुभयो ।
भरतपुर अस्पतालको मेडिकल वार्डमा भर्ना भएका १७२ बिरामीमध्ये ९८ जना ज्वरोका बिरामी रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १४ जनामा डेङ्गु भेटिएको डा. घिमिरेले जनाउनुभयो ।
यसरी अस्पतालमा उपचारका लागि आएका बिरामीमा ‘मेनिन्गो इन्सिफ्लाइटिस’का बिरामी रहेको पनि उहाँले बताउनुभयो । जसमध्ये तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै भरतपुर मेडिकल कलेजमा गत महिना मेडिकल वार्डमा भर्ना भएका १८१ बिरामीमध्ये ९४ जना ज्वरोका बिरामी रहेको कलेजका मेडिकल विभागका फिजिसियन डा. शंकर लौडारीले जनाकारी दिनुभयो । जसमध्ये एक जनामा डेङ्गु भेटिएको उहाँले बताउनुभयो ।
त्यस्तै आईसीयूमा भर्ना भएका २२ जना बिरामीमध्ये १३ जना मेनिन्गो इन्सिफ्लाइटिसका रोगी रहेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
यता, चितवन मेडिकल कलेजमा समेत अन्य बिरामीको तुलनामा ज्वरोका बिरामीहरु बढेको अस्पतालले जनाएको छ । कलेजका फिजिसियन डा. अरुण सेढाईंका अनुसार गत एक महिनामा मेडिकल वार्डमा भर्ना भएका ३५० बिरामीहरुमध्ये १७० जना ज्वरोका बिरामी रहेका छन् । जसमध्ये १०० जना बिरामीमा देखिएको ज्वरोको नाम पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो ।
चितवनमा विगतका वर्षहरुमाझैँ यस वर्ष पनि मौषमी ज्वरोका बिरामीहरु बढेको भए पनि अघिल्लो वर्षको तुलनामा कम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यस आर्थिक वर्षमा समेत डेङ्गुका रोगीहरु कम भेटिएको कार्यालयका भेक्टर कन्ट्रोल प्रमुख राम केसीले बताउनुभयो ।
गत आर्थिक वर्ष २०६८÷०६९मा ६८ जना डेङ्गुका रोगी फेला परेकोमा यस आर्थिक वर्षमा १६ जनामात्र फेला परेको उहाँले जानकारी दिनुभयो ।
चितवनका अस्पतालहरुमा स्वास्थ्य सेवा लिनेहरुको संख्यामा वृद्धि भएकाले महामारीको रुप लिन नपाउने कार्यालयले जनाएको छ । ‘आम मानिसहरुमा स्वास्थ्य चेतना बढेको छ, रोगले छुन नपाउँदै अस्पतालमा आउनु सकारात्मक हो’ भरतपुर अस्पतालका मेडिकल विभागका फिजिसियन डा अधिकारीले भन्नुभयो ।
यता, भरतपुर अस्पतालमा पर्याप्तमात्रामा कर्मचारी नहुँदा तथ्याङ्क राख्न गाह्रो भएको मेडिकल सुपरिटेण्डेण्ट विजयप्रसाद पौडेलले जनाउनुभयो ।
यसैबीच जिल्लाको एकमात्र सरकारी अस्पताल भरतपुर अस्पतालमा विद्युत् लाइन नहँुदाको अवस्थाका लागि कुनै वैकल्पिक व्यवस्था छैन । दैनिक सैयौँ बिरामी उपचारका लागि आउने सो अस्पतालमा विद्युत् नहँुदा अत्यावश्यकीय सामग्री एक्स–रे, इसीजी, आईसीयूलगायतका मेसिनहरु बन्द रहने गरेका छन् ।
अस्पताल सञ्चालक समितिले जेनेरेटर किन्ने निर्णय भएपनि सो निर्णय कार्यान्वयन हुन सकेको छैन । अस्पतालजस्तो अति संवेदनशील क्षेत्रमा वैकल्पिक व्यवस्था हुन नसक्दा बिरामीहरु प्रभावित हँुदै आएका छन् ।


अभद्र व्यवहार गर्दै, माफी माग्दै मेकिल विभाग प्रमुख
भरतपुर । जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार गरेको एक अन्तत्र्रिmयामा प्रमुख वक्तका रुपमा निम्त्याइएका भरतपुर अस्पतालका मेडिकल विभागका प्रमुख डा.विजय पौडेलले पत्रकारहरुमाथि अभद्र व्यवहार गरेर पुनः माफी मागेका छन् ।
कार्यक्रमको विषयको बारेमा जानकार नै नभएजस्तो गरी उपस्थित भएका पौडेललाई आयोजकले मञ्चमा बोल्न बोलाउँदा मोबाइलमा कुरा गर्दै बाहिरिएका थिए । करिब १५ मिनेटपछि फेरि आएका पौडेललाई पुनः आयोजकले बोल्ने समय दिएको थियो ।
आयोजकलाई आफ्नो पद गलत भनेको भन्दै सुरूमै गाली गर्नसमेत भ्याएका डा. पौडेलले कार्यक्रमको विषयवस्तुभन्दा पनि आफ्नै गुणगान गाउन थालेका थिए । यसपछि पत्रकारहरुले विषयमा प्रवेश गर्न आग्रह गर्दा डा. पौडेलले ‘यहाँको ठूलो मान्छे म हुँ, सुन्न मन छ सुन्नुस्, होइन बाहिर निस्कनुस् यहाँ कसैको अधिनायक चल्दैन, मेरो चल्छ’, भने । उनले यतिमात्र के भनेका थिए पत्रकार बाहिर निस्किए ।
आयोजकले आग्रह गरेपछि डा. पौडेलले पत्रकारसामु माफी माग्दै कार्यक्रममा सहभागी हुन भनेका थिए । अन्तत्र्रिmयाको विषयमा कुनै तयारीविना आएका डा.ले पत्रकारहरुलाई राजनीतिक कुरा गरेर टार्ने काम गरे । पत्रकारहरुले तथ्याङ्क माग्दा तथ्याङ्क राख्ने कर्मचारीले नदिएको भन्दै पन्छन खोजे ।
‘हाम्रो तथ्याङ्क संकलन दुरुस्त छैन, मैले माग्दा कर्मचारीले दिएनन्’, उनले भने, ‘तपाईहरुलाई पछि दिउँला ।’




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी