Thursday, September 20, 2012

चितवनमा मान्छे हराउनेभन्दा भेटिने कम

गत आर्थिक वर्षमा मात्रै २८१ जना मान्छेहरु हराएको निवेदन प्रहरीमा दर्ता भएको छ । जसमा बालक तथा किशोर ९२ जना र बालिका तथा किशोरी ३० जना छन् ।

भरतपुर । चितवनमा मान्छेहरु हराउनेक्रम चिन्ताजनक रुपमा देखा परेको छ । अघिल्लो वर्ष २८१ जना हराएको उजुरी चितवन प्रहरीमा परेको थियो । तीजजस्तो रमझमको बेलामा पनि मान्छे हराउनेक्रम रोकिएन । यो बेला हप्ता दिन नबित्दै चार किशोरी र दुई किशोर हराएको निवेदन दर्ता भएको छ ।
भरतपुरको एक बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्दै गरेका एक किशोर भदौ २५ गतेदेखि घर आएका छैनन् । घरका मान्छेले खोज्दाखोज्दा फेला नपारेपछि प्रहरीमा उजुरी गरेका छन् । ती किशोरले घरमा कम्प्युटर किन्न बाबुसँग आग्रह गर्दै आएका थिए । बाबुले तत्काल कम्प्युटर किन्न सकिँदैन भनेपछि रुदै घरबाट निस्केका उनी अझै फर्केका छैनन् ।
भरतपुरकै सरकारी स्कुलमा कक्षा १० मा पढ्दै गरेकी किशोरी भदौ ३१ गतेदेखि घर फर्केकी छैनन् । स्कुलमा कार्यक्रम छ भनेर बुबासँग एक सय रुपैयाँ मागेर गएकी उनी घर नआउँदा परिवारले यो तीज रोएरै बितायो । उनकी आमाले बुधबार मध्यान्ह जिल्ला प्रहरी कार्यालयमा खोजतलासको निवेदन दर्ता गराएकी छन् ।
‘हप्ता दिन बित्न नपाउँदै चार जना किशोरी र दुई जना किशोर हराए भनेर खोज्नका लागि निवेदन दर्ता भएको छ । फेरि उनीहरुले घर छाड्न् पर्ने त्यति ठूलो कारण पनि केही देखिएको छैन’, चितवन जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेल प्रमुख प्रहरी सहायक निरीक्षक तुलसीमाया परियारले भन्नुभयो । प्रहरीका लागि यस्ता घटना नौला भने होइनन् ।
‘केही वर्षयता मान्छे हराउनेक्रम बढ्दै आएको छ’, परियारले सुनाउनुभयो । प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार गत आर्थिक वर्षमा मात्रै २८१ जना मान्छेहरु हराएको निवेदन प्रहरीमा दर्ता भएको छ । जसमा बालक तथा किशोर ९२ जना र बालिका तथा किशोरी ३० जना छन् । त्यस्तै उमेर पुगेका महिला ११८ जना र पुरूष ४१ जना हराए भन्ने निवेदन प्रहरीलाई प्राप्त भएको छ ।
हराउनेमध्ये उमेर पुगेका महिलाहरुको संख्या अत्यधिक रहेको छ । ‘कमाउनका लागि श्रीमान् विदेश गएका महिलाहरु अरु पुरूषसँग बिहे गरेर घर छाडे भने हरायो भन्दै खोज तलासका लागि यस कार्यालयमा निवेदन दिने गरेको पाइएको छ । त्यस्ता खालका निवेदन नै यहाँ धेरै छन्’, प्रहरी सहायक निरीक्षक परियारले भन्नुभयो ।
त्यस्तै किशोरहरु घरमा बाबुआमाले गाली गर्दा वा मागेको कुरा पूरा नगरिदिए घर छाडेर हिँड्ने गरेको उहाँले बताउनुभयो । किशोरीहरु भने सानै उमेरमा बिहे गरेर भाग्ने गरेको देखिएको छ । ‘समाज र परिवारले ख्याल राख्न थाल्ने हो भने हराउनेक्रम रोकिन्थ्यो कि’, परियारले भन्नुभयो । हराएकामध्ये भेटिने पनि कमै हुन्छन् ।
गत वर्ष हराएका २८१ जनामध्ये १७ जना बालक, ३० जना बालिका, २१ जना महिला र १२ जना पुरूष गरेर जम्मा ८० जनामात्रै फेला परे । ‘योभन्दा केही बढी पनि फेला परेको हुन सक्छ । तर हरायो खोजी पाउँ भनेर निवेदन दिन आउने चलन छ । परिवार आफँैले फेला पारे भने भेटियो भनेर हामीलाई जानकारी गराउनेहरु भने कमै छन्’, बालबालिका तथा महिला सेल प्रमुख परियारले भन्नुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी